0
 अडेको भविष्य


featuredimg/4419machha sindhu.jpg
पाल्चोकका पूर्वअध्यक्ष रामबहादुर खड्का अमेरिकाको सोच त्यागेर चनौटे फाँटमा ट्राउट माछापालन व्यवसायमा व्यस्त छन् । बेलायती जागिर छाडेर हैवुङको घट्टेखोलामा ट्राउट माछा फर्म खोलेका खोटाङका तुला राई मासिक डेढ लाख बचाउँछन् । भन्छन्, “परदेशको जागिरभन्दा यो व्यवसायले दिएको सन्तुष्टिको छुट्टै आनन्द छ । यस वर्ष २५ लाखको माछा बेच्दैछु ।”हेलम्बुनजिकै तिम्बु बगरमा ट्राउट माछा पाल्दै आएका ज्ञानेन्द्र कक्षपतिले भने, “अर्को साल ५० हजार भुरा पालेर ६० लाखको माछा बेच्ने योजना छ ।”महांकालका युवा दीपक लामिछानेले अनुभव सुनाए, “गाउँका पढेलेखेका युवा मिलेर माछा पाल्न सुरु गरियो । अब भविष्य यसैमा देख्न थालेका छौं ।” 

उल्लिखित कथन उदाहरणमात्रै हुन् । हिमाल, पहाड र तराई तीनैखाले हावापानी र वातावरण रहेको सिन्धुपाल्चोक ‘ट्राउट हब’ बन्दै गएको छ । अर्थात् चिरो र ठण्डा वातावरण प्रशस्त रहेको जिल्लाले ट्राउट माछा व्यवसायको प्रचुर सम्भावना बोकेको छ ।

चीनको सीमा तातोपानीदेखि हिमाली पर्यटकीय गाउँ हेलम्बुसम्मका खोल्साहरूमा सुरु भएको ट्राउट माछापालन सिन्धुपाल्चोकमा भरपर्दो व्यवसायको रूपमा फस्टाउँदै गएको छ । माछापालनबाट हुने आम्दानीका कारण बिदेसिने युवासमेत यतैतिर आकर्षित हुन थालेका छन् । माछापालनमा लागेका कुनै पनि व्यवसायी असन्तुष्ट छैनन् । भुरा र मासु उत्पादनमा जोखिम बढी भए पनि बजारको सुलभता र नाफाको दायरा बढी भएकाले उनीहरू उत्साहित छन् ।

मानसरोवर हिमालयन रेन्वो ट्रउट तातोपानीका सञ्चालक महेन्द्र घोरासैनी भन्छन्, “विदेश जाने सोच बदलेर माछापालन सुरु गरेको राम्रै भएछ ।” अहिले जिल्लाको पाँच स्थानबाट बर्सेनि २५ टन माछा र ६ लाख भुरा उत्पादन हुन्छ । यसको आम्दानी करिब ३ करोड छ । ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कामदारका लागि मात्र माछापालकहरूले बर्सेनि झन्डै ६० लाख रुपैयाँ खर्च गर्छन् ।

यसरी सुरु भयो माछापालन

द्वन्द्वको मारमा गाउँ छोड्न विवश पाल्चोकका पूर्वअध्यक्ष रामबहादुर खड्का अमेरिका जाने तयारीमा राजधानी पसे । राजधानी बस्दाबस्दै उनको सोचमा परिवर्तन आयो । दूतावासले भिसाका लागि अन्तर्वार्ता दिन बोलायो, उनी गएनन् । सरकारले बजेट भाषणमार्फत ‘एक गाउँ एक उत्पादन’को अवधारणा ल्याएपछि उनी त्यतातिर आकर्षित भए ।

सरकाले सिन्धुपाल्चोक र नुवाकोटलाई ट्राउट माछाको पकेट क्षेत्र घोषणा गरेपछि उनी झन् उत्साहित भए । विदेशमा दोस्रो दर्जाको नागरिक बन्नुभन्दा स्वदेश ठीक भन्ने लाग्यो । भन्छन्, “केही माछा विशेषज्ञसँगको सल्लाहमा व्यवसाय सुरु गरियो ।” शान्ति प्रक्रिया सुरु भएपछि उनले ०६४ सालमा आफ्नै गाउँ पाल्चोकको चनौटेमा माछापालन सुरु गरे । उनी नै जिल्लामा ट्राउट माछापालन व्यवसाय सुरु गर्ने पहिलो व्यक्ति बने ।

अहिले उनले सुरु गरेको फर्म तीन भाइको अंश लगाइएको छ । सातवटा माछा पौडने पोखरी (रेस–वे) मा सुरु गरिएको माछा फर्म जिल्लाकै अहिले नमुनाको रूपमा स्थापित छ । २५ वटा रेस–वेबाट यो वर्ष कम्तीमा ६ हजार किलो माछा उत्पादन हुने अनुमान उनीहरूको छ । “सुरुमा धेरै घाटा भयो,” रामबहादुरका भाइ राजु उत्साहित हुँदै भन्छन्, “यो सिजनमा सबै भाइले झन्डै ६० लाखको माछा बेच्ने योजना छ ।”

अंश बण्डापछि जयबागेश्वरी रेन्बो ट्राउटको नामबाट माछापालन गर्दै आएका राजुमात्र यो साल ३० लाखको माछा बेच्ने योजनामा छन् । “यहीँको आम्दानीले दुई छोराछोरीलाई काठमाडौंको राखेर राम्रो स्कुलमा पढाएको छु,” उनी भन्छन्, “जाँगर हुनेलाई आफ्नै माटोमा पैसा फल्दो रहेछ ।” जाँगरिला स्वभावका राजुलाई बर्सेनि १०–१२ लाख रुपैयाँ कमाउन खासै समस्या छैन ।

हिमालबाट बहने चिसो पानीका कारण मेलम्ची खोलाको हेलम्बु करिडोर ट्राउट माछाका लागि उपयुक्त भएपछि यो व्यवसायमा युवा आकिर्षित हुँदै गएका छन् । “गाउँमा नमुना काम गर्ने सोचले व्यवसाय सुरु ग¥र्यौं,” मेलम्ची रेन्बो ट्राउट माछा उत्पादन केन्द्रका संयोजक दीपकको अनुभव छ, “जाँगर हुनेलाई आफ्नै आँगनमा पैसा रहेछ ।” गत सालबाट ६ जना युवा मिलेर सुरु गरिएको माछापालनले यो वर्षदेखि आम्दानी दिन थालेको छ । “हामीले सानो स्केलमा काम गर्दा पनि यो सिजनमा ८ लाखको रुपैयाँ माछा बिक्री हुन्छ,” उनले भने । अर्को साल पोखरीमा ३० हजार भुरा हाल्ने योजना उनको छ ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रवेश मार्गको १० किमीभित्र तीनवटा माछा फर्म छन् । ०६७ सालमा तिम्बुमा स्थापना गरिएको हेलम्बु रेन्बो ट्राउट माछा उत्पादन तथा अनुसन्धान केन्द्रले यो साल २२ लाख रुपैयाँको माछा बेच्दैछ । केन्द्रका सञ्चालक ज्ञानेन्द्र कक्षपतिले अनुभव सुनाए, “पहिले त के काममा हात हालिएछ जस्तो लाग्यो । अहिले छोड्न मन छैन ।” उनीसहित तीनजनाको संयुक्त लगानी रहेको फर्म विस्तार गर्ने तयारीमा छन् ।

विशेषतः आन्तरिक पर्यटक आकर्षित गर्न माछा खाने रिसोर्ट खोल्ने तयारीमा लागेका कक्षपति मेलम्ची करिडोर ट्राउट माछा उत्पादनको केन्द्र बन्ने दाबी गर्छन् । ०६५ सालमा स्थापित तातोपानीको मानसरोवर मुलुककै दोस्रो ठूलो माछा उत्पादन केन्द्र हो । यहाँ ४३ वटा रेस–वेमा माछा पालिएको छ । रोग लागेर माछका भुरा ७० प्रतिशत म¥यो । त्यति हुँदा पनि यो साल ३० लाखको माछा बिक्री हुने अनुमान व्यवसायीको छ ।

बेलायतबाट फर्केर माछापालन

बेलायती आकर्षक जागिर छाडेर स्वदेश फर्केका लफ्याङ–१, खोटाङका तुलाकुमार राई माछापालनमा मस्त छन् । “पैसा कमाउन बिदेसिनु नपर्ने रहेछ,” सिन्धुपाल्चोक हैबुङको घट्टेखोलमा माछा पालेर बसेका राई भन्छन्, “बेलायतमा कमाएको पैसा त आयकर तिर्दा–तिर्दै त्यतै सकिने रहेछ ।” माछा फर्म स्थापना गरेको पाँच वर्षमा उनले डेढ करोड साँवा उठाइसकेका छन् ।

राजधानीबाट ३० किमी टाढा हैवुङ र भोटेचौरको सीमामा उनले ६ वर्षअघि १० रोपनी जमिन किनेर व्यवसाय सुरु गरेका थिए । उनी माछाको भुरा र मासु उत्पादन गर्छन् । उनलाई अहिले मासिक १ लाख कमाउन कठिन छैन । “जाँगर बढाए मासिक ३–४ लाख कमाउन सकिन्छ,” उनी भन्छन्, “स्थानीय र सरकारको सहयोग चाहिन्छ ।”

बेलायतमा कर तिरेर मासिक ५० हजार बचाउन कठिन थियो । चार भाइमध्ये तीनजना अमेरिका र युरोपमा छन् । “विदेश बसेर के गर्ने आफ्नो मुलुक बिर्संदो रहेछ,” भन्छन्, “दाजुभाइको सल्लाहअनुसार नै नेपाल फर्केर व्यवसाय सुरु गरेको हुँ । उनले उत्साहित हुँदै थपे, “पानीको गुणस्तर राम्रो भए अर्को ठाउँमा पनि माछापालन सुरु गर्ने योजनामा छु ।” उनले माछा फर्मनजिकै रिसोर्ट खोल्ने तयारी गरिरहेका छन् ।

राजधानीनजिकै भएकाले उनी अहिले माछाको स्वाद चाख्न आन्तरिक पर्यटक भिœयाउने तयारीमा छन् । “विदेशी माटोमा दुःख गर्नुभन्दा आफ्नै मुलुकमा गरेको यो व्यवसायबाट सन्तुष्ट छु,” उनले भने । राइले बर्सेनि ३ लाख भुरा र ४ हजार किलो माछा उत्पादन गरिरहेका छन् । 

Post a Comment

 
Top