त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज हेण्डलिङमा लापरबाही
- विमानस्थलमा लगेज हराउने घटनाले विदेशबाट दसैं मनाउन घर आएका नेपालीमात्र होइन, नेपाल घुम्न आएका पर्यटकसमेत हैरान छन्। त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेपछि अन्य देशमा जस्तै यात्रुले सहजरुपमा लगेजको अपेक्षा गर्छन्। तर त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा त्यो सम्भव हुँदैन। त्रिभुवन विमानस्थलमा यति धेरै बेथिति छ कि यात्रुले आफ्नो लगेज प्राप्त गर्न ठूलै युद्ध जितेको अनुभूति गर्नुपर्छ।
बहराइनबाट दसैं मनाउन आएका धरानका प्रकाश प्रधान मंगलबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे। साढे ३ बजे गौशालाबाट रात्रिबस चढेर धरान हनिने उनको योजना थियो। तर ४ बजेसम्म आफूले ल्याएको झोला नभेटेपछि तनावमा परेका अधिकारीले भने, 'आजै घर जाने रात्रिबसको टिकट थियो, झोला खोज्दाखोज्दै बस छुट्यो, बस्ने ठेगान छैन, समय तालिका भताभुङ्गमात्र भएन मेरो दशैं त दसाजस्तो भयो।' भारतको दिल्ली हुँदै आबुधावीबाट बिहान १० बजे त्रिभुवन विमास्थलमा उत्रिएका रमेश चौधरी दिउँसो ३ बजेसम्म लगेज खोजी गर्दै थिए।
आबुधावीमा बुझाएको चौधरीको लगेज साँझसम्म अत्तोपत्तो छैन। दिल्लीमै हरायो कि काठमाडौंमा छ कसैले जवाफ दिन सक्दैन। बिहानदेखि साँझसम्म भोकभोकै रहेका चौधरीलाई कुनै कर्मचारीले चित्तबुझ्दो जवाफ दिएन। विमानस्थलमा लगेज ब्यवस्थापनमा चरम लापरबाही हुने गरेको एक कर्मचारीले स्वीकार गरे। यहाँ जहिले पनि यस्तै हो, जसले जे गरे पनि हुन्छ, आफ्नो ब्यागेजको खोजी आफैं गर्नुपर्ने उनले बताए।
विमान अवतरण गरेपछि यात्रुहरु हतार-हतार ब्यागेज एरियामा आइपुग्छन् तर समान भने आइपुगेको हुँदैन्। घण्टौंसम्म समानको प्रतिक्षा गर्नुपरेको गुनासो एक यात्रुले गरे। यात्रुहरुको जानकारीका लागि टिभीको मोनिटर र कर्मचारी खटाइएको छ। तर टिभी मोनिटरको दिएको जनाकारी र कर्मचारीले दिने जनाकारी मेल खाँदैन। मंगलबार दिउँसो जेट एरवेजको मुम्बई र दिल्लीबाट आएको एयर इन्डियाका यात्रुहरुले यस्तै नियति व्यहोर्नु परेको थियो।
विदेशी पर्यटक छेउ लागेर गालामा हात राखेर आफ्नो ब्यागेज पर्खेर बसेका थिए। विमानस्थलमा दक्ष्य जनशक्ति अभावमा यात्रुले त्यस्तो समस्या व्यहोर्नुपरेको बताइन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन र राजस्वका अनुभवी र दक्ष्य कर्मचारीलाई धरपकड गरेपछि विमानस्थलमा त्यस्तो समस्या आएको बताइएको छ। यात्रुले सहज रुपमा लगेज प्राप्त गर्ने वातावरण कहिले बन्छ भन्नेबारे जिज्ञासामा अधिकारीहरु ठोस जवाफ दिन सकेनन्।
Post a Comment