0

एमाओवादीद्धारा एमाले कार्यकर्तामाथि आक्रमण

  • १५ घाईते, मंगलबार रातिदेखि नै झडप श्रृंखला

खाना खाएर सुत्न लागेको अवस्थामा एमाओवादीका कार्यकर्ताहरुले आक्रमण गर्दा १५ जना भन्दा बढी एमाले कार्यकर्ता घाईते भएका हुन् । दुईको अवस्था गम्भीर छ । चुनावीसभा सकेर होटलमा बास बस्न लाग्दा आक्रमण भएको नेकपा एमाले क्षेत्र नं. ३ का अध्यक्ष नारायणध्वज खड्काले जानकारी दिए । घटना स्थल गोरखा क्षेत्र नं. ३ मा पर्दछ ।
गम्भीर घाईतेमध्ये ताकुकोट गाउँ पार्टी अध्यक्ष ४८ बर्षीय भीमबहादुर थापा र उपाध्यक्ष ५० बर्षीय धनप्रसाद गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । उनीहरु दुवैको टाउको र अनुहारमा चोट लागेको छ । घाईते अधिकांशको टाउकोमा चोट लागेको गोरखा अस्पतालले जनाएको छ । अन्य घाईतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाईतेहरुमा स्वाँरा-५ का यमबहादुर गुरुङ, ताकुकोट-३ का टेकबहादुर सरु, आरुआर्वाङ-९ का शंकर नेपाली, स्वाँरा-४ का सन्तोष थापा, स्थानीय शिक्षक रामबहादुर चौधरी, स्वाँरा-४ कै अनु तामाङ, मंगोल गुरुङ, भक्तबहादुर बराम, रमेश नेपाली, भरत नेपाली, सुमन गुरुङ र स्वाँरा-५ का विकास गुरुङ रहेको खड्काले जानकारी दिए ।
घाईते धनबहादुरले भने, 'राती खाना खाएर सुत्ने तरखर गर्दै थियौँ, एक्कासी आएर आक्रमण गरे ।' अनुहारमा छोपेर आएका ७/८ जनाको समूहले आक्रमण गरेको उनले बताए । राति ९:३० बजे आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्रहरी टोलीले घाईतेहरुलाई सदरमुकाममा ल्याएको थियो । एमाओवादी कार्यकर्ता राजु रोका र राजन विक लगायत आक्रमणमा संलग्न रहेको घाईतेहरुले जानकारी दिएका छन् ।
चुनाव प्रचारकै क्रममा मंगलबार राति धावा गाविस-२ मा एमाओवादी र एमाले कार्यकर्ताबीच झडप भएको थियो । झडपमा एमाओवादीका अमृत, राजकुमार, अनिल सुर्खेती र कृष्ण बयालकोटी गरी चार र एमाले तर्फ धावा गाउँ पार्टी अध्यक्ष धुव्र ढकाल र कृष्ण विक गरी दुई जना घाईते भएका थिए । राति ११ बजे झडप भएको प्रहरीले जनाएको छ । सोही घटनापछि झडप र आक्रमणको श्रृंखला सुरु भएको हो । एमाओवादी केन्द्रीय सदस्य शुशिला सिंम्खडाले धावा गाविसमा झडप गर्ने एमाले कार्यकर्ता साग स्वाँरा गाविसका एमाओवादी कार्यकर्ताबीच झडप भएको दाबी गरिन् । उनले भनिन्, 'आक्रमण होइन, झडप भएको हो ।' प्रहरी नायब उपरीक्षक बसन्त कुँबरले आक्रमणमा संलग्नहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

Post a Comment

 
Top