प्रधानसेनापतिको भनाइमा टाइम्स अफ इण्डिया 'अडिग'
, आश्विन २१
- प्रधानसेनापति गौरव शमशेर राणाले भारत भ्रमणका क्रममा चण्डीगढ पुगेर बोलेको भन्दै टाइम्स अफ इण्डियाको गत शुक्रबारको संस्करणमा प्रकाशित भनाइको सत्यतामा पत्रिकाले जिम्मेवारी दर्शाउँदै आफ्नो समाचारमा अडान लिएको छ ।
चण्डीगढस्थित टाइम्स अफ इन्डियाका सम्पादक राजा बोसले आफ्नो पत्रिकामा आएको प्रधानसेनापति राणाको भनाइप्रति आफू अडिग रहेको बताएका छन् । 'सेनापति राणाले स्थानीय लरेन्स स्कुलको बिहिबार रातीको कार्यक्रममा स्थानीय मिडियासँग चीनियाँ पक्षबाट हुने 'कुनै प्रकारको आक्रमणलाई भारतले प्रतिकार गर्न सक्ने भनी राखेको धारणामा म अडिग छु,'सम्पादक बोसले कान्तिपुरसँग फोनमा भने-'तपाईका प्रधानसेनापतिले त्यसरी बालेको भनाइलाई स्थानीय टेलिभिजन केबलले पनि रेकर्डमा राखेका छन् ।' प्रधानसेनापतिले बोलेको कुरा बाहिर आएको विवादबारे आफू जानकार नरहेको बताउँदै सम्पादक बोसले राणाको भनाइमा पत्रिकामा समाचार प्रकाशन गर्ने क्रममा कुनै 'तलमाथि नभएको' समेत दावी गरे ।
प्रधानसेनापति राणाले गैर-कुटनीतिक ढङ्गमा अरु देशको सिमा सुरक्षाबारे बोलेर विवाद चर्केपछि सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार अपरान्ह एक बिज्ञप्ती निकाल्दै पत्रपत्रिकामा आएका समाचारको खण्डन गरेको थियो । 'सप्ताहव्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वाता नदिएको हुँदा उक्त टिकाटिप्पणी आफैंमा अप्रासङ्गकि तवरले संप्रेषण गरेको देखिन्छ',निर्देशनालयको बिज्ञप्तीमा उल्लेख छ । तर प्रधानसेनापति राणाले बोलेको भनाइ चण्डीगढका स्थानीय टेलिभिजनहरुमा 'रेकर्ड' मा रहेको दावीसहितको प्रतिक्रिया आएको छ ।
दिल्ली फिरेर विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गर्दै शनिबार अपरान्ह काठमाडौं फिरेका प्रधानसेनापतिले दिल्लीस्थित नेपाली मिडियालाई भने भेट्न चाहेनन् । होटल ओवरोयमा बसेका प्रधासेनापतिसँग भेट गर्न दिल्लीस्थित नेपाली दुतावासका सैन्य सहचारीमार्फत पहल गरेपनि राणा सम्पर्कमा आउन चाहेनन् ।
भारतको ६४० किलोमिटर भित्रको लद्धाख भूमी चिनियाँ सेनाले कब्जा गरेको भन्ने रिपोर्टका आधारमा संवाददाताले राखेको जिज्ञासामा प्रधानसेनापति राणाले चिनियाँ सेनाको यस्तो उपस्थिती असम्भव रहेको बताएका थिए । 'हामी असंलग्न आन्दोलनका पक्षधर हौं, कुनै देशमा युद्धको स्थिती उब्जिएमा पनि हामी साथ दिन सक्दैनौं,'सेनापतिको भनाइ थियो । चिनियाँ पक्षबाट हुने कुनै पनि आक्रमणलाई प्रतिकार गर्न भारत सक्षम रहेको टिप्पणी राणाले दोहोर्याउँदै बताएका थिए । 'आफैंमा तिव्वती मुद्धादेखि जियाङजिङको पृथकताबादी समस्यामा जुधिरहेको छिमेकी चीनले भारत वा नेपालका अन्य मामलामा हात हाल्न नसक्ने' राणाको भनाइ टाइम्स अफ इण्डियाको शुक्रबारको चण्डीगढ संस्करण तथा अनलाइनमा प्रकाशित थियो ।
प्रधानसेनापति राणाको भनाइप्रति प्रतिक्रिया दिंदै भारतीय सेनाका पुर्व जनरल एवं नेपाल मामला जानकार अशोक मेहताले 'चीनसँग प्रतिवाद गर्न भारतको राजनीतिक इच्छा-शक्ति नरहेको भनी आएको भनाइ पूर्णत गैर-कुटनीतिक रहेको' भन्दै प्रतिक्रिया दिएका छन् । 'लद्धाख र अरुणान्चलमा चिनियाँ सेनाको प्रवेश सधैं भैरहने गरेझैं प्रधानसेनापतिले दिएको बिरोधाभाषपूर्ण प्रतिक्रिया गम्भीर प्रकृतिको छ,'मेहताले भने ।
Post a Comment