प्रचण्डलाई हेरियो, यो पटक कसलाई हेर्ने ?
– पहिलो संविधानसभामा एकीकृत नेकपा माओवादीले आकर्षक नारा तय गरेको थियो, ‘सबैलाई हेर्यौं पटकपटक, माओवादी र प्रचण्डलाई हेरौं यसपटक ।’
चुनावी घोषणापत्रमा पनि यही नारालाई बढी जोड दिइएको थियो । यस्तै ‘गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति क. प्रचण्ड’ भनेर माओवादीले भित्ता रंग्याएको थियो ।
चुनावी नारामा भनिएजस्तै एकीकृत नेकपा माओवादी पहिलो पार्टी भएर उदायो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दुई ठाउँबाट चुनाव जित्नुभयो । राष्ट्रपति नबनेपनि गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभयो ।
उबेला प्रचण्डलाई अघि देखाएर चुनावी नारा र घोषणापत्र तयार पारेको एकीकृत नेकपा माओवादीले यसपटक चुनावी नारा कस्तो बनाउँछ भन्ने यकिन भैसकेको छैन ।
यसपटकको चुनावमा पनि पुरानै घोषणापत्रमा थपघट गर्ने अरु दलजस्तै एकीकृत नेकपा माओवादीको पनि तयारी छ । त्यसैले नयाँ घोषणापत्र हेर्नुअघि पुरानै घोषणापत्रमा भएका विषय हेर्दा माओवादीका चुनावी एजेन्डा र नारा बुझ्न सकिन्छ ।
यसो भनेको थियो २०६४ सालमा माओवादीले ?
अघिल्लो पटकको संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीले जातीय तथा क्षेत्रीय आत्मनिर्णयको अधिकार र स्वायत्त शासनको आधारमा नेपालको ठोस विशिष्ठताहरुमाथि समेत ध्यान दिंदै राज्यको वर्तमान एकात्मक स्वरुपको अन्त्य गरी संघात्मक ढाँचामा राज्यको पुनर्संरचना गर्ने भनेको थियो ।
देशको सार्वभौमिकतना, स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई नयाँ आधारमा थप मजबुत पार्ने गरी संघीय राज्यप्रणालीमा जाने उसको दावी थियो । यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित राष्ट्रपति र व्यवस्थापिका सदस्यहरुबाट निर्वाचित प्रधानमन्त्री हुने गरी गणतन्त्रात्मक शासनव्यवस्थामा जाने घोषणापत्रमा उल्लेख थियो ।
‘नयाँ नेपाल निम्ति नयाँ विचार र नयाँ नेतृत्व’ भन्दै तयार पारिएको प्रतिवद्धता पत्र मार्फत एकीकृत माओवादीले धेरै लोकप्रीय काम गर्ने बताएको थियो ।
उसको थप प्रतिबद्धता यस्ता थिए:
- नेपाल–भारत असमान सन्धी–सम्झौताहरुको पुरावलोकन गरेर आवश्यकताअनुसार संशोधन वा परिमार्जन वा खारेज गरिनेछ । सुस्ता, कालामानीलगायत ठाउँठाउँमा देखिएका सीमा अतिक्रमण र विवादबारे यथासक्य छिटो सत्यतथ्यका आधारमा र आपसी हितमा टुंगो लगाइनेछ ।
- नेपाली युवायुवतीहरुलाई रोजगारीको निम्ति विदेश पलायन हुनुपर्ने वाध्यात्मक स्थितिको अन्त्य गरिनेछ ।
- भारतलगायत विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुको हकहितको रक्षाको निम्ति नेपाली दूतावासहरुमार्फत विशेष प्रयत्न गरिनेछ । गैर–आवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरेर उनीहरुको सीप र पुंजी नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
- ११ वटा स्वायत्त गणतन्त्र राज्य र तीभित्र थप उप–स्वायत्त राज्य वा इकाइमा विभाजन गर्न सकिनेछ ।
- सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलव्ध गराइनेछ ।
- पुरै देशलाई छुवाछुत मुक्त इलाका घोषणा गरिनेछ ।
- १६ वर्ष पुगेका युवाहरुलाई मताधिकारको व्यवस्था गरिनेछ ।
- युवाहरुको बौद्धिक तथा शारीरिक विकासका लागि राज्यद्वार विशेष व्यवस्था गरिनेछ ।
माओवादी र प्रचण्ड नै किन भन्ने शीर्षकमा घोषणापत्रमा यस्तो उल्लेख थियो:
- संविधानसभा, गणतन्त्र, राज्यको संघात्मक ढाँचामा रुपान्तरण र राष्ट्रिय औद्योगिक अर्थतन्त्रको विकास जस्ता माओवादीले उठाएका एजेन्डा माओवादीले मात्र कार्यान्वयन गर्न सक्छ ।
- माओवादी देशको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न र देशको निम्ति कुनै पनि बलिदान गर्न तत्पर छ ।
- माओवादी बृहद् आर्थिक–सामाजिक रुपान्तरण र विकसित राष्ट्रिय औद्योगिक अर्थतन्त्र सहितको नयाँ नेपाल निर्माण गर्न प्रतिबद्ध छ ।
- माओवादी नेपाली जनताका आशाका केन्द्र अध्यक्ष क. प्रचण्डमार्फत नयाँ नेपालले खोजेको नयाँ नेतृत्व दिन तयार छ ।
Post a Comment