थप पाँचवटा हिमाललाई विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा अन्तराष्ट्रिय रुपमा सूचीकरण गर्ने नेपालको प्रयास तत्कालका लागि विफल भएको छ । भारत र पाकिस्तानको अनिर्णयका कारण नेपालको यो प्रयास विफल भएको हो ।
गएको हप्ता स्विट्जरल्याण्डमा भएको अन्तराष्ट्रिय पर्वतारोहण महासंघको वाषिर्क बैठकका बेला थप ५ वटा नेपालका हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिलाउने योजना नेपालले बनाएको थियो । तर, यो प्रयासलाई चीन सकारात्मक भए पनि भारत र पाकिस्तानले खुलेर समर्थन नगर्दा पाँचवटा नेपाली हिमाल सूचीकरणमा परेनन् ।
नेपालले ८ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा सुचीकरण गराउने योजना बनाएका थप ५ वटा हिमाल मध्ये ३ वटा कंचनजंघा हिमाल श्रृंखलामै अवस्थित छन् । यीमध्ये दुईवटा नेपाल-भारत सीमामा पर्छन् भने अर्को एउटा नेपालकै भूभागमा पर्छ । थप दुई हिमाल नेपाल-चीन सीमाक्षेत्रस्थित ल्होत्से हिमाल क्षेत्रमा पर्छन् ।
नेपालले सूचीकरण गर्न प्रयास गरेकामध्ये सबैभन्दा अग्लो हिमाल यार्लुङ खाङ हो । कन्चनजंघा पश्चिम भनेर चिनिने यो हिमालको उचाइ ८ हजार ५ सय ५ मिटर रहेको छ । नेपालका ८ वटा हिमाल यसअघि नै विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा सूचीकृत भैसकेका छन् ।
चीनको सहयोग, भारत र पाकिस्तान मौन
नेपाली अधिकारीहरुले नयाँ पाँच हिमाललाई सुचीकृत गर्ने विषयमा आफुहरुले चीनको समर्थन हासिल गरिसकेको दाबी गरेको छ । विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार भारत र पाकिस्तान पनि यो विषयमा केही सकारात्मक छन् । तर, उनीहरुले यसलाई आफ्नो देशको पर्वतारोहण संघबाट अनुमोदन गराउन समय लाग्ने बताएकाले यो पटकको विश्व पर्वतारोहण महासंघको बैठकमा नेपालका थप हिमाल सूचीकृत हुन सकेनन् ।
विश्व पर्वतारोहण महासंघले अघिल्लो वर्ष विश्वमा ८ हजार मिटरभन्दा अग्ला थप हिमाल भएमा त्यसलाई खोजी गरी अन्तराष्ट्रिय मान्यता दिने परियोजना सुरु गरेको थियो । त्यस अन्तरगत नै नेपालले पाँचवटा र पाकिस्तानले एउटा हिमालको नाम अघि सारेका हुन् ।
विश्व पर्वतारोहण महासंघका अध्यक्ष पाइरे हम्बलेटका अनुसार चीन, भारत, नेपाल र पाकिस्तान जस्ता सम्बद्ध देशको राय र सुझाव नपाएकाले थप हिमाललाई सुचिकृत गर्न सम्भव नभएको हो । यो विषयमा नेपाल र चीनबाट निकै सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । भारत र पाकिस्तानका पर्वतारोहण संघले भने आफ्ना सरकारी अधिकारीसँग छलफल चलिरहेको भन्दै केही समय माग गरेका उनले जानकारी दिए ।
तर, भारत नेपाली हिमाललाई सुचीकृत गर्ने प्रक्रियामा सकारात्मक नबन्नुको स्वार्थ भने अर्कै रहेको बताइन्छ । खासगरी कञ्ंचनजंघाको भारततर्फ पर्ने भाग सिक्किमका नागरिकको लागि धार्मिक महत्वको भएकाले त्यसलाई नेपाली हिमालको रुपमा सुचीकरण गर्ने प्रक्रियामा भारतले अरुची देखाएको हो । सीमा क्षेत्रका हिमाललाई नेपाली हिमालको रुप्मा सुचिकरण गर्दा ती क्षेत्रमा पर्वतारोहणमा नेपाली नियन्त्रण हुने भएकाले भारतीय पक्षले यस विषय सकारात्मक नबनेको बताइन्छ ।
उता बैठकमा सहभागी पाकिस्तानी पर्वतारोहण संघ अलपाइन क्लबका पदाधिकारीले भने आफुहरुलाई यस विषयमा निर्णय गर्ने अधिकार नभएको बताए । पर्यटन मन्त्रालय प्रान्तिय सरकारमा निक्षेपण भएकाले अहिले संघीय सरकारलाई यस विषयमा निर्णयको अधिकार नभएको उनीहरुले बताए । अर्को बैठकसम्ममा आफुहरुले यस विषयमा निर्णय दिनसक्ने उनीहरुको भनाइ थियो ।
कञ्चनजंघा क्षेत्रका दुई हिमाललाई सुचीकरणको विषय अनिर्णित बनेमा अन्य ३ हिमाललाई अन्तराष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाइने पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाले बताए । ती ३ वटा हिमालमा ल्होत्से मिडिल, ल्होत्से शार र कञ्चनजंघा पश्चिम रहेका छन् । (बीबीसीमा नवीनसिंह खड्काको रिपोर्टमा आधारित)
Post a Comment