0

जापानमा चक्रवातका कारण तेह्र व्यक्तिको मृत्यु

Cyclone– जापानको प्रशान्त क्षेत्रीय तटीय क्षेत्रलाई शक्तिशाली चक्रवातले प्रभावित बनाउँदा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । उनीहरूले मर्नेको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् ।
विफा नाम गरेको यो प्रशान्त क्षेत्रीय चक्रवात यस दशकमा सबैभन्दा प्रभावशाली मानिएको छ । यसले टोकियोको दक्षिणमा रहेको तटीय क्षेत्रका घरहरूलाई प्रभावित बनाएको बताइएको छ ।
ओसिमाको एक प्रहरी अधिकारीले १३ व्यक्तिको मृत्यु भएको पुष्टि भएको बताए । उनले मर्नेको सङ्ख्या बढ्नसक्ने उल्लेख गरे ।
प्रसारक संस्था एनएचकेले ५० व्यक्तिको अवस्था अझै थाहा हुननसकेको उल्लेख गरेको छ । उनीहरूको घर ओसिमामा आएको पहिरोले बगाइदिएको छ ।
मर्ने व्यक्तिको शव उनीहरूको घरमै फेला परेको थियो । आपत्कालीन उद्धारकर्मीहरूले दुई व्यक्तिलाई बिहान उनीहरूको घरबाट उद्धार गरेको पनि एनएचकेले उल्लेख गरेको छ । उद्धारकर्मीहरूलाई पनि चक्रवात प्रभावित केही क्षेत्रमा पुग्न कठिनाइ भइरहेको उल्लेख गरिएको छ ।
स्थानीय बासिन्दा धेरैले उद्धार केन्द्रमा आश्रय खोजेको बताइएको छ । यसैबीच टोकियोमा करिब ४०० उडान अवरुद्ध भएको छ । केही अन्तर्राष्ट्रिय उडान पनि रद्द भएको अल निप्पोन एयरवेज तथा जापान एयरवेजले जानकारी दिएका छन् ।
यस चक्रवातका कारण करिब ६१ हजार ६०० यात्रु प्रभावित भएको बताइएको छ । यो चक्रवात टोकियोमा नपुगे पनि यसका कारण त्यहाँ बलियो हावा चलेको र वर्षा भएको बताइएको छ ।

Post a Comment

 
Top