0
सवाल सुरक्षाको– बबिता बस्नेत
यसपटकको चुनावको सबैभन्दा ठूलो चुनौती भनेको मनोवैज्ञानिक त्रास हो। चुनावमा सबै पक्षलाई समेटेर भयरहित वातावरण बनाउन पाएको भए एउटा छुट्टै माहौल बन्न सक्थ्यो तर त्यसो हुन सकेन। मुलुकलाई सधैँ यस्तै अवस्थामा राख्न हुँदैन भनेर जनता भोट हाल्न इच्छुक त छन् तर के हुने हो कसो हुने हो भन्ने डर पनि त्यत्तिकै छ। यसप्रकारको भय यसअघिको संविधानसभा निर्वाचनमा पनि थियो तर त्यतिबेलाभन्दा अहिले फरक खालको परिस्थिति रहेको छ। त्यतिबेला जसरी पनि माओवादीलाई भोट हाल्नैपर्ने मनोवैज्ञानिक भयबाट सर्वसाधारण निर्देशित थिए, अहिले भोट हाल्न नहुने भयबाट त्रसित हुने परिस्थिति बन्न सक्छ। त्यतिबेला तिम्रा छोराछोरी कहाँ छन् हामीलाई थाहा छ भोलि ती फर्किन नसक्ने अवस्था आउला भन्ने धम्की दिँदै माओवादीले गाउँमा भोट मागेका थिए। कतिपय ठाउँमा त ‘तपाईंहरूले कसलाई भोट हाल्नु भो भनेर हामी कम्प्युटरमा हेर्छौं’सम्म भनिएको थियो। अहिले एमाओवादीले त्यस्तै भन्न सक्ने अवस्था त छैन, तर माओवादीले योभन्दा पनि बढी भन्न र गर्न सक्ने स्थिति भने छ। मतदाताको सुरक्षा मात्र नभएर मतदान प्रक्रियामा खटिने कर्मचारी, निर्वाचनको पर्यवेक्षण गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकको सुरक्षा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। लाखौँको सङ्ख्यामा खटिने पर्यवेक्षकमा पनि यसपटक मनोवैज्ञानिक त्रास निकै देखिन्छ। केही दिनअघि एक अन्तर्राष्ट्रिय पर्यवेक्षकले इमेलमा सुरक्षा अवस्था सोध्दै चुनावका बेला हुन सक्ने सम्भावनाको विश्लेषण गर्नका लागि यस पङ्क्तिकारलाई भनेका थिए। यसको अर्थ उनीहरू यहाँको सुरक्षा अवस्थाप्रति सशङ्कित छन् भन्ने नै हो। चुनावका बेला केसम्म हुन सक्छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको भन्नु नै अहिले यस्ता प्रश्नहरूका लागि उपयुक्त जवाफ हो जस्तो लाग्छ। दोस्रोपटक नै भए पनि नेपालको संविधानसभाको निर्वाचनको पर्यवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले ठूलो चासो देखाएका छन्। राष्ट्रिय, जिल्ला, क्षेत्र तथा स्थानीय पर्यवेक्षकहरूमा पनि सुरक्षालाई लिएर त्यत्तिकै चिन्ता देखिन्छ।
तराईपछि सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र पूर्व बनेको छ। जातीय सङ्घीयताका पक्षधर धेरै समूहले पूर्वमा चुनाव बहिष्कार गरेका छन। उम्मेदवारको मनोनयन दर्तासँगै पूर्वमा विरोधको लहर चर्को बन्दै गएको छ। विगतको अनुभवका कारण संविधानसभा भनेको खासै काम लाग्ने कुरा होइन यसका नाममा जे गरे पनि हुन्छ भन्ने छाप पनि धेरैलाई परेको छ। यदि संविधानसभाको ठाउँमा संसदीय या स्थानीय निर्वाचन भएको भए जनताले यसप्रकारका विरोधको प्रतिकार गर्ने अवस्था रहन्थ्यो तर संविधानसभा भनेपछि जेसुकै होस् हुने केही होइन भन्ने कुराले जनमानसमा ठाउँ लिएको छ। बारामा जस्तै अन्य स्थानमा पनि घटनाहरू बढ्दै गए भने संविधानसभाका नाममा आफ्नो ज्यानै फाल्न मानिसहरू अगाडि बढ्ने अवस्था छैन। यो निर्वाचनलाई लिएर अहिले पूर्वमा जसरी विरोधका स्वरहरू सुनिएका छन् यसबाट अरू त अरू सुरक्षाकर्मी स्वयम्लाई पनि असुरक्षा हुन सक्ने देखिन्छ। निर्वाचनका लागि गर्नुपर्ने मतपत्र छपाइदेखि अन्य प्राविधिक तयारीहरूका चुनौतीहरू धेरै होलान् तर यी सबका बाबजुद सुरक्षाको सवाल नै अहिलेको प्रमुख चुनौती हो। जसको सामना गर्नका लागि सरकारले बन्दुक बोकेका सिपाहीलाई ठाउँ–ठाउँमा राखेर या केही मतदान केन्द्रहरूमा कुकुर डुलाएर मात्र हुँदैन, ‘ढुक्क भएर मतदान गर्न तिमी सुरक्षित छौ है’ भनेर सबैलाई सुरक्षाको अनुभूति दिलाउन सक्नुपर्छ। सबै पक्षको भावना समेट्ने प्रकारको संविधान लेख्नका लागि निर्माण गरिने संविधानसभाको निर्वाचनमा माओवादीलगायत विभिन्न पक्षको असंलग्नता आफैँमा संविधानसभाको मर्मविपरीत भई नै सकेको छ। त्यसमा पनि सबै पक्षले मतदान गर्न नसक्ने या चुनाव कसरी भयो भनेर पर्यवेक्षकले पर्यवेक्षण नै गर्न नसक्ने प्रकारले चुनावलाई सम्पन्न गर्न खोजियो भने त्यसप्रकारको संविधानसभाको फेरि पनि कुनै अर्थ रहने छैन। त्यसैले सरकारको मुख्य ध्यान अब सुरक्षा व्यवस्थापनतर्फ लाग्नु आवश्यक छ, बन्दुक तेर्स्याएर या गोली चलाएर दिने सुरक्षा होइन जनतालाई सुरक्षित छु भनी महसुस गर्न सक्ने सुरक्षाको अनुभूति दिलाउन जरुरी छ। 

Post a Comment

 
Top