देउवाले बेचे अढाई करोडमा टिकट
दिलमान बुढा
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले टिकट बितरणमा काँग्रेस नेताहरुले व्यापक मनपरी गरेपछि आक्रोसित हुँदै भनेकी थिईन, ‘नेताहरुले पैसा खाएर टिकट बेचे ।’ आफनो निर्वाचन क्षेत्रको हकमा मात्र सुजाताले त्यसो भनेकी हैनन् । पार्टीका वरिष्ठ नेता स्वयं शेरबहादुर नै टिकट खरिद बिक्रीको खेलमा लागेकोतर्फ उनको संकेत थियो ।
जाजरकोटका एक असन्तुष्ट नेताका अनुसार जाजरकोटे राजाका पनाती राजिव विक्रमलाई टिकट दिलाउन देउवा पत्नी आरजु राणाको विशेष भूमिका रह्यो । उनले ‘बरु मलाई टिकट नदिए हुन्छ, तर राजिवलाई यसपाली टिकट नदिइ हुन्न’ भनेर शेरबहादुर देउवालाई बारम्बार दबाब दिईन । जाजरकोटमा काँग्रेसका अन्य दावेदार हुँदा हुँदै राजिवलाई टिकट दिलाउन आरजुले मरिहत्ते गर्नुको खास कारण स्वयं राजिवले आफु निकटका मानिससँग खोले । ‘अहिले जाजरकोटमा राजिवले अढाई करोड रुपैयाँमा टिकट किनेको चर्चा व्यापक भएकाले उनको पक्षमा चुनावी अभियानमा होमिन हामीलाई कठिनाई भइरहेको छ’, जाजारकोटका एक काँग्रेस कार्यकर्ता भन्छन् ।
राजिव विक्रम वर्षको अधिकांश समय राधानीको डिस्को थेक र महंगा रेस्टुरेन्टहरुमा रस रमाइलोमै बिताउने गर्छन् । यस्ता व्यक्तिलाई शेरबहादुर देउवाले आर्थिक मोहमा परेर खडा गराएको देख्दा काँग्रेसजन असन्तुष्ट भएका छन् । देउवाले करोडौं नजराना लिएर राजिव विक्रम शाहलाई खडा गरेको क्षेत्र नम्बर दुईमा एमाओवादीका भक्तबहादुर शाह र एमालेका कृष्णबहादुर बुढा खडा भएका छन् । यसअघि यो क्षेत्रमा एमाओवादीका भक्तबहादुर शाहले जितेका थिए ।
क्षेत्रनम्बर २ मा मात्र हैन, जाजरकोटको क्षेत्र नम्बर एकमा पनि टिकट बितरण गर्दा देउवा पक्षले एकलौंटी गरेको भन्दै जाजरकोट खलंगाका रामजंगथ शाहले बागी उम्मेदवारी दर्ता गराएका छन् । कार्यसमिति सदस्य शाहले जाजरकोट क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका हुन । यो क्षेत्रमा देउवा पक्षकै दिपकजंग शाह उम्मेदवार छन् । असन्तुष्टीकै कारण नेपाली काँग्रेस जाजरकोटका पुर्व सभापति यज्ञबहादुर खत्री काँग्रेस परित्याग गरीसकेका छन् ।
जाजरकोटमा २०१५ सालको निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र हुँदा नेपाली काँग्रेसका स्वयप्रकाश विक्रम शाहले जितेका थिए । २०४८ सालमा नेपाली काँग्रेसका द्वारीका प्रसाद प्रधान र एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । २०५१ को मध्यावधी निर्वाचनमा एमालेका रत्नप्रसाद न्यौपाने राप्रपाका गोविन्दविक्रम शाहले जितेका थिए । २०६४ सालको संविधानसभामा भने दुवै क्षेत्र एमाओवादीका कालीबहादुर मल्ल र भक्तबहादुर शाहले जिते । यसपाली देउवाले पैसाको बलमा सीट हत्याउन खोजे पनि त्यो उल्टै प्रत्युत्पादक हुने भएको छ ।
Post a Comment