चन्दा दिन शिक्षकहरुलाई किरात जनवादी वर्कर्स पार्टीको उर्दी
असोज ३० –
किरात जनबादी वर्कर्स पार्टीले खोटाङको दक्षिणी क्षेत्रका बिद्यालयका शिक्षकहरुसँग चन्दा माग्दै उर्दी गरेको छ ।
किरात स्वयत्त राज्यको माग गर्दै पुर्वी नेपालको पहाडी जिल्लामा भूमीगतरुपमा सशस्त्र संघर्ष गर्दै आएको किरात जनबादी वर्कर्स पार्टीले जिल्लाको बोपुङ, डम्बर्खुशिवालय, काहुले, देबिस्थान, चिसापानी, मौवाबोटे, पौवासेरा, दिप्लुङ लगायतका बिद्यालयका शिक्षकहरुसँग चन्दा मागेको हो ।
शिक्षकहरुका अनुसार वर्कर्सका कार्यकर्ता बताउने परिवर्तन किरातीले प्रतिशिक्षक ६ हजारदेखि २० हजारका दरले चन्दा दिन विद्यालयमा पत्राचार गरेका छन् । ‘जनसहयोग’ भन्दै चन्दा माग्न थालिएपछि शिक्षकहरू आतंकित बनेका छन् ।
यद्यपी, त्रासका कारण शिक्षकहरुले भूमीगत समूहको नाममा चन्दा माग गरिएको बिषयमा खुलेर भन्न सकेका छैनन् । शिक्षकहरुबाट चन्दा मागिएको बिषयमा आफूहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रमेश देबले बताउनुभयो ।
पूर्वी नेपालको खोटाङ, भोजपुर, ओखलढुंगा, सुनसरी लगायतका जिल्लामा भूमिगत संघर्ष गर्दै आएको वर्कर्सले केही वर्षअघिदेखि जिल्लामा चन्दा आतंक मच्याउँदै आएको छ । प्रायः पहाडी जिल्लालाई आधार क्षेत्र बनाएर संघर्ष गर्दै आएको वर्कर्स र सरकारबीच पटक पटक पाँच चरणको वार्ता भइसकेको छ ।
-
Post a Comment