0
Helicopter
संविधानसभा निर्वाचनमा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलममाथि परवानीपुरमा शुक्रबार बिहान गोली प्रहार भएपछि उपचारार्थ सेनाको हेलिकप्टरबाट राजधानीको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएपछि ।
 आश्विन १९ -
 नेपाल प्रहरीले आफ्नो ५८ औं वाषिर्कोत्सव मनाइरहँदा संविधानसभा निर्वाचनमा बारा-४ मा एमालेतर्फको प्रत्यक्ष उम्मेदवार बनेका महमुद आलममाथि गोली प्रहार भयो । तर संविधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने मुख्य दायित्व भएको सरकार र मातहतको सुरक्षा निकाय यो घटनामा निकै संवेदनहीन देखिएको छ ।
घटनाबारे सरकारी प्रतिक्रिया लिन गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख शंकर कोइरालासँग पटक-पटक मोबाइल सम्पर्क गर्न खोज्दा उनले काटिदिए । 'प्रवक्ताको जिम्मेवारी सम्हाल्ने तपाईं अचेल किन सञ्चारकर्मीको फोन उठाउनु हुन्न ?' भन्ने प्रश्नसहित एसएमएस गरेपछि मात्र उनी सम्पर्कमा आए । निकै आग्रह गरेपछि मात्रै गृहले साँझपख विज्ञप्ति फ्याक्स गरिदियो ।
'आलममाथि भएको गोली प्रहारको घटना सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । साथै उक्त घटनाका सम्बन्धमा तदारुकतासाथ अनुसन्धान कार्य अघि बढाइएको छ । अनुसन्धानबाट दोषी देखिएका उपर कानुनी कारबाही गर्न गृह मन्त्रालय दृढ छ,' उनै प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'संविधानसभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारहरूसँग आवश्यक समन्वय गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको छ । तसर्थ निर्भयका साथ निर्वाचनसँग सम्बन्धित आ-आफ्ना कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।'
घटना सम्बन्धमा सरकारका तर्फबाट शुक्रबार अबेरसम्म व्यक्त धारणा यत्ति हो । गृहले 'अनुसन्धान अघि बढाइएको' भन्नेबाहेक थप पहल गरेको छैन । अनुसन्धान कार्य त सामान्य चोरीका घटनामा पनि अघि बढाइन्छ ।  
आलम एमाले केन्द्रीय सदस्य र एमालेकै भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्षसमेत हुन् । यस्ता 'हाइप्रोफाइल' घटना हुँदा विगतमा सरकार, गृह, प्रहरीले तत्कालै सक्रियता देखाउँथे र बेग्लाबेग्लै आयोग, समिति बनाएरसमेत अनुसन्धान अघि बढाउँथे । तर यसपटक न मन्त्रिपरिषद् बैठक बस्यो न गृहमन्त्री संयोजकत्वको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक न प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले आपत्कालीन बैठक राखे ।
बरु प्रहरी दिवसका नाममा पुलिस क्लबमा शुक्रबार साँझदेखि अबेरसम्म भव्य मदिरा पार्टी चल्यो । पार्टीमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे, मन्त्रीहरू, गृहसचिव, सचिवहरू, प्रवक्ता कोइरालासहित गृहका उच्चपदस्थ अधिकारी, विभिन्न दलका नेता, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका वरिष्ठ जर्नेलहरू र जिल्लाबाट समेत धाएर आएका सुरक्षा अधिकृतहरू उपस्थित थिए । चुनावी सुरक्षामा खटिएको नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर जबरा भने आफू पढेको स्कुलको वाषिर्कोत्सवमा सहभागी हुन भन्दै भारत दौडाहामा छन् ।
किन सरकारले यस पटक घटनाबारे छानबिनका लागि आयोग, समिति बनाउने तदारुकता नदेखाएको ? गृहप्रवक्ता कोइरालाले भने, 'आवश्यक परे त्यो पनि बनाउँला ।' अर्थात् सरकार, गृहले यो घटनालाई नजरअन्दाज गरिरहेको छ र गम्भीर छानबिनको आवश्यकता देखेको छैन । बारा जिल्ला सुरक्षास्रोतका अनुसार त गृहले लामो समयदेखि आलमको सुरक्षा खतरालाई बेवास्ता गरिरहेको थियो ।
'आलमलाई अन्डरवल्र्ड डन दाउद इब्राहिम, पाकिस्तानी बा््य गुप्चर संस्था आईएसआईसँग जोडेर आरोपित गरिन्थ्यो र अर्का अन्डरवल्र्ड डन छोटा राजनको निसाना तथा भारतीय सुरक्षा निकायको चासो उनीमाथि थियो,' जिल्ला सुरक्षास्रोतले भन्यो, 'चुनावको मुखमा मात्र होइन उनीमाथि उच्च सुरक्षा खतरा छ र पूर्वसांसद मिर्जा दिलसाद बेग हत्यादेखिको कडी जोडिन सक्छ भनेर हामीले आठ महिनाअघि नै मुख्यालयलाई लेखेका थियौं ।' तर केन्द्रले चासो नदिएको जिल्ला सुरक्षास्रोतको गुनासो छ ।
करिब एक साताअघि पनि आलममाथि ज्यानकै खतरा रहेको सूचना पाएको थियो, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित गुप्तचर इकाईले । किन सुरक्षा सजगता अपनाइएन त ? जिल्ला सुरक्षास्रोत भन्छ, 'हामीसँग स्रोत, साधन सीमित छ । एउटै व्यक्तिका पछाडि मात्र लाग्न गाह्रो छ । त्यसैले केन्द्र र क्षेत्रीय कार्यालयलाई उनीजस्ता सुरक्षा खतरा रहेकालाई विशेष सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरेका थियौं, जुन हुन सकेन ।' 

Post a Comment

 
Top