0

छुटको नाममा ग्राहक ठग्दै व्यापारी

खुद्रा व्यापारीले कसरी गर्छन् नाफा ?

३० असोज, 
 सिनामंगलमा फेन्सी पसल गर्ने दिनेश बराल आफ्नो पसलमा रहेको टिसर्टको साइज नमिलेपछि एउटा टिसर्ट किन्न सुनधाराको काठमाडौं मलमा पुग्नुभयो । एउटा पसलमा गएर सोझै आफूले चाहेको टिसर्टको मूल्य सोध्नुभयो । सेल्सम्यानले २८ सय रुपैयाँ भन्यो ।
आफू पनि व्यापारी नै भएको र सो टिसर्टको थोक मूल्य ७ सय रुपैयाँ भएकाले १ हजार रुपैयाँमा बेच्न बरालले आग्रह गर्नुभयो । तर सेल्सम्यानले २० प्रतिशत छुट अर्थात २२ सय ४० रुपैयाँबाट मूल्य नघट्ने बतायो । न्यूरोड पुगेर टिसर्ट किन्ने सोचले बाहिरिनु भएका बरालले मलबाहिरको पसलमा त्यही टिसर्ट देख्नुभयो र ११ सय रुपैयाँमा किन्नुभयो ।
कैलालीका सुरज कुँवर घुम्ने मात्र उदेश्यले त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर जानु भएको थियो । एउटा पसलमा उहाँले जुत्ताको मूल्य सोध्नुभयो । सेल्सम्यानले २८ सय रुपैयाँ भन्यो । कुँवर उसको उत्तर सुन्दै बाटो लाग्नुभयो तर सेल्सम्यानले कतिमा लैजाने भन्दै रोक्ने प्रयास गरेपछि उहाँले नकिन्ने नियतले भन्नुभयो, ‘११ सयमा दिने हो ?’
अचम्मको कुरा सेल्सम्यानले ‘ल आउनुस्, बोहनी गर्नुस्’ भन्यो । बाध्यतावस उहाँले जुत्ता किनेर आउनुभयो । सुरज भन्नुहुन्छ, ‘म जुत्ता किन्ने नै नियतले गएको भए २२/२३ सय हाल्थेँ होला किनकि २८ सय भनेको सामान ११ सय रुपैयाँ दे भन्न मैले सक्दैन थिएँ होला ।’ तर हङकङ बजारकै प्रवृत्ति मलभित्रको पसलमा देखेर उहाँ अचम्म भने पर्नुभयो ।
offer
लत्ता कपडादेखि कस्मेटिक सामान खरिदमा उपभोक्ता ठगिने अत्यधिक सम्भावना रहेको पाइन्छ । एउटै सामान तीन वटा पसलमा बेच्ने मूल्य तीन थरी हुन सक्छ । सपिङ मल वा महँगो भाडा तिरेर पसल राखेको ठाउँमा सामानको मूल्य महँगो पर्ने र फुटपाथमा सस्तो पर्ने विश्वास धेरै उपभोक्तामा छ, जुन सही नहुन सक्छ ।
सामान सस्तो वा महँगो मुख्यतः बिक्रेताको व्यापार रणनीति र ग्राहकको बाठोपनमा भर पर्छ । महँगो भाडा तिरेको पसलले खरिद मूल्यमा ५० प्रतिशत तथा फुटपाथे व्यापारीले ३ सय प्रतिशतसम्म थपेर बेच्ने रणनीति पनि लिएको हुन सक्छ । आखिर ग्राहकको घुँइचो लाग्ने हो भने २५ प्रतिशत मात्र मूल्य थपेर बिक्री गरे पनि प्रशस्तै फाइदा लिन सकिन्छ ।
खुद्रा व्यापारीले प्रायः हरेक लटमा फरकपन भएको सामान राख्न रुचाउँछन् । थोक बिक्रेताले पनि त्यसलाई ख्याल गर्दै अघिल्लो पटक ल्याएको सामानमा केही हेरफेर भएको सामान आयात गर्छन् । खुद्रा व्यापारीले सकेसम्म उपभोक्ताले अरुसँग तुलना गर्न नमिल्ने सामान बेच्न खोज्नुको कारण हो, ‘अत्यधिक मुनाफा लिएको रहस्य खुल्नबाट रोक्नु ।’
दसैंको बेला एक्कासी ५० प्रतिशत छुटको सूचना टाँसिन्छ तर त्यसअघि ती सामानको मूल्य नै सार्वजनिक नभएको हुनाले साँच्चै छुटमा बेचिएको हो या मूल्य बढाएर छुट दिएको हो भनेर उपभोक्ताले थाहा पाउन सक्ने अवस्था छैन । अर्कोतर्फ दसैंको समयमा बेचिने सामान अरु बेला बेच्न नराखिएको पनि हुन सक्छ ।
पुराना मोडलको सामान सामान्य मूल्यको आधा मूल्य राखेर केही दिनमै स्टक रित्ताउने र नयाँ मोडलको सामानले सो रुम भर्ने प्रचलन विश्वभरि छ । साथै उपभोक्ताबाट मागमा अत्यधिक वृद्धि भएको बेला आफ्नो सामान सकेसम्म धेरै बिक्री गराउन व्यापारीले छुट दिने प्रचलन पनि विश्वव्यापी नै हो । तर नेपालमा मूल्य अपारदर्शी भएको हुनाले ग्राहक ठगिने सम्भावना जहिले पनि प्रबल नै रहन्छ ।
खुद्रा व्यापारीले कसरी गर्छन् नाफा ?
नेपाल भ्रमणमा आएका कतार उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले केही महिनाअघि नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा नेपाली व्यापारीको समूहमा एउटा प्रश्न राखे । ‘म बौद्धदेखि चावहिलसम्म पसलहरु हेर्दै आए, त्रिपुरेश्वरको सपिङ मलमा पनि पसेँ’, उपस्थितलाई कौतुहल बनाउँदै उनले सोधे, ‘ग्राहक त कहीँ पनि देखिनँ, नेपालमा व्यापारीले मुनाफा कसरी गर्छन् ?’
उनलाई तत्काल चित्त बुझाउने उत्तर कसैले दिएनन् । तर सोधीखोजी नै गरेपछि कतारी व्यापारीले नेपाली व्यापारीको मुनाफाको अचम्मको रहस्य थाहा पाएरै छोडे अनौपचारिक रुपमै भए पनि । ‘नेपालमा कतारमा जस्तो धेरै सामान बेचेर प्रतिइकाई थोरै मार्जिनबाट व्यापारीले फाइदा गर्दैन, यहाँ त दिनभरमा एउटा ग्राहक आयो भने व्यापारीले दुई दिनको पसल भाडा र अन्य खर्च टर्ने गरी पैसा असुल्छ ।’
नेपालमा मागको अध्ययन नगरी अनावश्यक रुपमा खोलिएका अव्यस्थित खुद्रा बजारको कारण स्वच्छ व्यापार हुन पाएको छैन । व्यापारीहरु चित्त बुझाउन भन्ने गर्छन्, ‘नेपालमा ग्राहकभन्दा व्यापारी बढी भइसके, सामान कसले किन्छ ?’ ग्राहक नै नआउने भएपछि जेनतेन आउने एकाध सोझा ग्राहकलाई व्यापारीले दुहुनो गाई बनाउने गर्छन् ।
अरु बेला सोचेजस्तो मुनाफा गर्न नसकेका व्यापारी पनि दसैंमा जे गरेरै भए पनि केही महिना पुग्ने गरी नाफा जोड्ने धाउन्नेमा छन् । काभ्रे कुशादेवीका प्रमोद भट्टराई भृकुटीमण्डपको हङकङ बजारमा सोचेजस्तो सामान नबिकेपछि त्यहाँ श्रीमतीलाई जिम्मा लगाएर केही सामान कुम्लो पारेर सुनधारा सडक पेटीमा बेलुकी कराएर बेच्ने गरिरहेका छन् ।
उनले इमान्दारपूर्वक भनेको दाबी गर्दै खोले, ‘यहाँ सुनधारामा किनेको दोब्बर मूल्यमा लुगा बेच्ने गरेको छु, हङकङ बजारमा तीन गुणाभन्दा कममा बेच्दिनँ । यहाँ धेरै बिक्री हुने भएकाले त्यहाँभन्दा धेरै नै नाफा हुन्छ ।’ अन्य व्यापारीहरुले पनि आफूले जस्तै दसैंको बेला परिवारका सबै सदस्य खटिएर पसल र फुटपाथ दुवै ठाउँमा सामान बेच्ने गरेको रमाइलो तथ्य उहाँले खुलाउनुभयो ।
ठूला सपिङ मलमा पसल खोलेर बसेका मध्यम पुँजीपति भने नाफा कमाउन अझ ठूलो समस्या छ । त्यस्ता व्यापारीले दसैंमा मुनाफा कमाउन लिने रणनीतिमा एकरुपता पाइँदैन । एउटै सपिङ मलमा मूल्य ट्याग राखेको कुनै पसलमा लेखेकै मूल्यमा नघटाई सामान बिक्री हुन्छ भने कुनैमा लेखेको मूल्यमा बार्गिनिङपछि डेढ सय प्रतिशतसम्म मूल्य घटेको पाइन्छ । त्यही मलमा धेरै पसलमा त निश्चित मूल्य नै टाँसिएको हुँदैन ।
कसैले सामानको मूल्य बढाएर ५० प्रतिशतसम्म छुटको ट्याग राख्छन् भने कुनैले मूल्य नबढाई २० प्रतिशतसम्मको छुट राख्छन् । ‘यी सबै चालबाजी ग्राहकको फ्लो कम भएरै गरिएको हो’, हालै खुलेको सिभिल ट्रेडका एक व्यापारीले नाम उल्लेख नगरी बताए ।
‘दसैंको बेला सस्तोमा सामान दिंदा धेरै ग्राहक आउलान् भन्ने अपेक्षामा जेनुइन डिस्काउन्टमा सामान बेचौंला’, ती व्यापारीले आफ्नो मनभित्रको भय व्यक्त गरे, ‘आखिर आउने ग्राहकको संख्या उत्ति नै भयो भने पहिलेकै रेटमा बेचेको भए बरु अलि धेरै आम्दानी हुने रहेछ भनेर पछि पछुताउनुपर्छ ।’
मलभित्र अनेक जुक्ति लगाउँदा पनि पुराना समान नकट्ने निश्चित भएपछि व्यापारीहरुले थोरै मार्जिनमै फुटपाथेलाई जिम्मा लगाइदिन्छन् । आखिर फुटपाथ र मलमा बेचिने सामानको गुणस्तर एउटै हुने गरेको छ । ब्राण्डेट सामान मात्रै बिक्री गर्ने भनेकार कमलपोखरीमा खुलेको सिटी सेन्टरमा पनि अहिले ५० प्रतिशतभन्दा बढी नन नक्कली चिनियाँ सामान नै राखिएका छन् ।

Post a Comment

 
Top