डेनीका आफन्त आमा खोज्दै संखुवासभामा
हिन्दी कथानक चलचित्रकर्मी डेनी डेन्जोङपाका आफन्तले नेपालको संखुवासभा जिल्लामा यसरी दसैं मनाएका हुन् । डेनीका भतिजा टासी वाङदेल, भतिजी डौकिपा भोटिया र डौकिपाका श्रीमान् पूर्ण क्षेत्रीले यसपटकको दसंै अनौठो तरिकाले मनाएका हुन् । डेनीका भतिजी-ज्वाइँ पूर्ण आफ्नी आमा खोज्दै श्रीमती र साला-सालीलाई लिएर सिक्किमबाट संखुवासभा आएका हुन् ।
सिक्किमबाट आफ्नै गाडीमा आएका डेन्जोङपाका भतिजा-भतिजी र ज्वाइँ पूर्ण क्षेत्री सबैले क्षेत्रीकी आमा चन्द्रमाया र सानाबा भैरव गुरुङका हातबाट मंगलबार टीका, जमरा र आर्शीवाद लिए । २२ वर्षदेखि सिक्किममा वस्दै आएका पूर्ण क्षेत्री आफ्ना परिवार र सालासालीका साथ ३ सय ७२ किमी यात्रा तय गर्दै आमाको हातको टीका थाप्न मुढे बजार आइपुगेका हुन् ।
क्षेत्रीका साथमा आफ्नी श्रीमती डौकिपा भोटिया, साला टासी वाङदेलसमेत थिए । राति २ बजे सिक्किमबाट हिँडेर बेलुकी ९ बजे मुढे शनिश्चरे वजारमा आमा चन्द्रमाया गुरुङको घरमा आइपुगेको क्षेत्रीले बताउनुभयो । बाटो टाढा भए पनि नेपालीहरुको महान चाड भएकोले आफुले जन्म दिने आमाको हातवाट टीका थाप्न पाइएकोमा उहाँले धेरै खुशी लागेको बताउनुभयो । संखुवासभा पहिलोपटक आएको र बाटो नराम्ररी बिग्रेकाले बसन्तपुर नजिक देउरालीसम्म आफ्नो भाइ लोकबहादुर गुरुङ लगायत ८/१० जना साथीभाइ कोदालो फरुवा लिएर गाडी लिन गएको क्षेत्रीले बताउनुभयो ।
चाडवाडमा जन्म दिने आमाको हातबाट आशीर्वाद लिन पाउँदा र रमणीय ठाँउको भ्रमण गर्दा अत्यन्तै खुशी लागेको डेनीका ज्वाइँ पूर्णले भन्नुभयो ।
‘राजनीति’का निर्माता पनि संखुवासभामा
नेपाली फिल्म ‘राजनिति’ का निर्माता एवं नायक दीपक भट्टराई पनि आमाको हातको टीका थाप्न संखुवासभा आउनुभएको छ । भट्टराईले आमा देवीमायाको हातबाट टीका र आशीर्वाद थाप्नुभएको छ । आमा तथा परिवारको प्रेरणावाट फिल्मी दुनियाँमा छिरेको वताउनुहँुदै चाडै नयाँ फिल्म वजारमा ल्याउने भट्टराईले बताउनुभयो ।
दशैंका वेला युरोपका विभिन्न हलहरुमा ‘राजनीति’ सफलताका साथ चलिरहेको र नेपालमा पनि राम्रै व्यापार भएकाले हौसला मिलेको भट्टराईको भनाइ छ । वसन्त निरौलाद्वारा निर्देशित राजनीतिमा दीपक सुवेदी, हरी पन्त, दीपक भट्टराई निर्माता रहेका छन् भने नायक राजेश हमाल, नायिका सुस्मा कार्की र कोमल ओलीलेसमेत खेलेका छन् ।
Post a Comment