तेस्रोलिंगी : उम्मेदवार चार, मतदाता १५५ |
नारायण काफ्ले
संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ एकजना र समानुपातिकतर्फ तीनजना तेस्रोलिंगीले उम्मेदवारी दिएका छन् । मतदाता नामावलीको अन्तिम विवरणअनुसार तेस्रोलिंगीको पहिचानबाट नाम लेखाउने एक सय ५५ जना छन् ।
‘संविधानसभा निर्वाचनमा भाग लिने मतदाताको संख्या यकिन भइसकेको छ,’ निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले भने, ‘एक करोड २१ लाख मतदातामा एक सय ५५ तेस्रोलिंगीसमेत छन् ।’
नवलपरासी क्षेत्र नम्बर ६ मा नेपाल युवा किसान पार्टीबाट गीता सैथवार प्रत्यक्षतर्फको उम्मेदवार बनेकी छिन् । त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले यमबहादुर राना आनिक, नेपाल सद्भावना गजेन्द्रवादीले रज्जक अलि हलवाई र नेपाल राष्ट्रिय सेवा दलले विनिता सिंहलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । देशभरि करिब चार लाखको संख्यामा तेस्रोलिंगी रहेको यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको दाबी छ । तर, मतदाता नामावलीमा आफ्नै पहिचानको नागरिकता प्रमाणपत्रसहित नाम लेखाउनेको संख्या भने न्यून देखिएको छ । काठमाडौंबाट १४ जनाले तेस्रोलिंगीको पहिचानबाट मतदाता नामावलीमा नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट एक, ४ मा एक, ५ मा तीन, ६ मा चार, ९ मा दुई र १० मा तीनजनाले तेस्रोलिंगीको पहिचानबाट मतदाता नामावलीमा नाम लेखाएका छन् । आयोगका अनुसार आगामी संविधानसभा निर्वाचनमा एक करोड २१ लाख ४७ हजार आठ सय ६५ मतदाता हुने निश्चित भएको छ । प्रारम्भिक रूपमा एक करोड २४ लाख ७७ हजार दुई सय ८८ नामावली सार्वजनिक भएको थियो । जसमा दोहोरिएका नाम र १८ वर्षभन्दा कम उमेरका मतदाताको नाम हटाएर अन्तिम नामावली प्रकाशन गरिएको हो । करिब ६० हजार दोहोरिएका नाम रहेको आयोगले जनाएको छ । पहिलोपटक लेखाएका नामलाई आधिकारिक मानेर दोस्रोपटक लेखाएको नाम बदर गरिएको छ । त्यस्तै, राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई समेत लक्षित गरी आयोगले १६ वर्ष पुगेका नागरिककको समेत विवरण संकलन गरेको थियो । सो विवरणअनुसार असार मसान्तसम्म १८ वर्ष नपुगेकालाई मतदाताको सूचीबाट हटाइएको छ । मतदातामध्ये पुरुष ५९ लाख ८० हजार आठ सय ८१ छन् भने महिला ६१ लाख ६६ हजार आठ सय २९ छन् । कुल मतदाताको ५१ प्रतिशत महिला र ४९ प्रतिशत पुरुष छन् । आयोगले पूर्वनिर्धारित मदतानस्थलमा समेत केही हेरफेर गरेको छ । १० हजार १७ मतदानस्थल तोकिएकोमा संशोधन गरी १० हजार १३ कायम गरिएको छ । मतदानकेन्द्र भने यथावत् छन् । १८ हजार चार सय ५७ मतदान केन्द्र तय भएका छन् । |
Post a Comment