कार्तिक १७ -
'कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो मानिसको काँधमा चढी कुन देवपुरीमा जाने हो' ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' शीर्षकको यो कविता निकै चर्चित छ । यो कविता उनले मकवानपुरको चित्लाङ- २ स्थित गुर्जुधारा छेउ बसेर लेखेका थिए । यही थलोमा अब उनको अर्धकदको सालिक बन्ने भएको छ । 'तयारी भइरहेको छ,' स्थ्ाानीय बुद्धरत्न मानन्धरले भने, 'काठमाडांैका साथीहरू सालिक निर्माणका लागि जुटिरहेका छन् ।' उनले ०७१ को महाकवि जन्मजयन्तीसम्म सालिक निर्माण भइसक्ने दाबी गरे ।
यात्री कविता देवकोटाले गुर्जुधारामा पानी पिएर थचक्क बसेको अवस्थामा बोकिएर पशुपति दर्शनका लागि गइरहेको दृश्य देखेपछि लेखेका थिए । चन्द्रागिरि भन्ज्याङको काखमा रहेको चित्लाङ गाविसको त्यो गुर्जुधारा अहिले पनि छ । यो वरिपरिका अधिकांश घरहरू भने भत्किइसकेका छन । केही यहाँबाट पलायन भइसकेका छन् । गुर्जुधारामा भने अहिले पनि पानी बगिरहेको छ ।
'धारामा पानी पिएर थकाइ मेटेको ढुंगा अहिले पनि यही नै छ,' ७८ वषर्ीय स्थ्ाानीयबासी बाबुकाजी मानन्धरले भने, 'देवकोटाले सयांै मानिस बोकिएर चन्द्रागिरि हुँदै पशुपति दर्शनका लागि काठमाडौंको गइरहेको देखेर यात्री कविता लेखेका हुन् ।' त्रिभुवन राजपथ बन्नुअघि उपत्यका प्रवेश गर्ने मूलद्वार नै चित्लाङ चन्द्रागिरि थियो । हिँड्ने अभ्यास नभएका र मोटो शरीरकाहरू तानदान, पिठ्यँु र डोकामा बोकिएर चन्द्रागिरिको उकालो चढ्थे ।
विसं १९९८ को जेठमा यो कविता लेखिएको मानिन्छ । अघिल्लो वर्षको माघमा तराईबाट राजधानी र्फकने क्रममा चित्लाङको गुर्जुधारामा थकाइ मेट्ने क्रममा उनले कविता लेखका हुन् । स्थानीयबासी मानन्धरलाई उनका बाबुले बारम्बार गुर्जुधारा नजिकको ढुंगा देखाउँदै लक्ष्मीप्रसाद देवकोटाले यही ढुंगामा बसेर यात्री कविता लेखेको बताएका थिए ।
Post a Comment