तस्बिरले बदलेको जिन्दगी
सात वर्षअघि छापिएको एउटा तस्बिरले निरोजको जीवन बदलिदियो । पर्खालबाहिरबाट उनलाई कक्षासम्म पुर्यायो ।
पहिलो पृष्ठमा एउटा तस्बिर छापियो । फोटो थियो, नोबेल एकेडेमी नयाँ बानेश्वरको । विद्यालयको कम्पाउन्डभित्र विद्यार्थीहरूले बिहानीको शारीरिक अभ्यास गरिरहेका थिए । त्यसै बेला विद्यालयपछाडिको थोरै भत्केको पर्खालबाहिरैबाट ५ वर्षे एक बालक त्यो अभ्यासको सिको गर्दै थिए ।
साढे सात वर्षअघि । कान्तिपुरका फोटो पत्रकार शालिग्राम तिवारीले खिचेको सो तस्बिर छापिएलगत्तै एकेडेमी बोर्डको बैठक बस्यो । बैठकले बालकलाई सोही स्कुलमा छात्रवृत्तिमा पढाउने निर्णय गर्यो । ती बालक को हुन् ? कसरी त्यहाँ आए ? त्यति बेलासम्म कसैलाई यसको पत्तो भने थिएन । पत्रकार तिवारी र स्कुल आफैंले पनि बालकको खोजी गर्न थाले ।
'लौ भुन्टुको फोटो निकालेचौं नि,' घरबेटीले यसो भन्दै आएपछि निर्मल चौलागाई र उनकी श्रीमती सीता दंग परे । उनीहरू नोबेल एकेडेमीकै पछाडिपट्टि रहेको एक घरको सानो कोठामा डेरा गरी बस्थे । तस्बिरमा अनुहार नदेखिए पनि उनीहरूले कान्छो छोरो निरोजलाई पछाडिबाट नचिन्ने कुरै भएन । यसरी एकाएक पत्रिकामा छोरोको तस्बिर छापिएपछि अब के होला भन्ने कौतूहल उनीहरूमा त्यो दिन धेरै बेरसम्म रहिरह्यो ।
काभ्रेपलाञ्चोक पोखरीचौरी-८ स्थायी घर भएका निर्मल त्यतिबेला काठमाडौंमै चियापत्तीको व्यापार गर्थे । न्युरोडबाट खुला चियापत्ती ल्याउँथे र पसल-पसलमा बेच्थे । उनकी श्रीमती सीता बानेश्वरमै फलफूलको व्यापार गर्थिन् । कामको खोजीमा राजधानी पसेका उनीहरूले ९ वर्षे जेठो छोरो निरनलाई नजिकैको न्यू साइरन एकेडेमीमा भर्ना गरेका थिए । दाइ निरन स्कुल जाने बेलामा ५ वर्षे भाइ निरोज पनि हत्तारिन्थे रे । 'भात देउ, भात देउ स्कुल सुरु हुन लाओ,' निरोजले त्यतिबेला यसै भन्ने गरेको आमा सीता सम्झिन्छिन् । खानापछि दाइ आफ्नै स्कुल जान्थे । निरोज भने डेराकै पारिपट्टि देखिने नोबेलको शारीरिक अभ्यास हेर्दै उफ्रन्थ्यो ।
'सायद उसको मनले आफ्नै स्कुल ठान्दो हो,' आमा भन्छिन्, 'भित्र साथीहरू लाइनमा खेलेको हेरेर रमाउँथ्यो ।' हुन त निरोजको स्कुल जाने इच्छा त्यति बेला बाबुआमाले नबुझेका भने होइनन् । 'काठमाडौंको महँगीमा छाक टार्न र छोराछोरी पढाउन निकै गाह्रो,' बाबा निर्मल सम्झन्छन्, 'पाँच वर्ष पुगिसक्दा पनि कान्छोलाई मैले स्कुल राखिसक्या थिइनँ ।'
एकातिर चियापत्तीको व्यापारले उनलाई खासै राम्रो आम्दानी दिन सकेको थिएन । अर्कातिर चर्को माओवादी द्वन्द्व र राजनीतिक अस्थिरताले महँगी दिनहुँ बढ्दो थियो । 'दिक्क लाग्थ्यो,' निर्मल भन्छन्, 'काठमाडौंमा बसेर सकिन्नझैं भाथ्यो ।'
तस्बिर छापिएको दिन भने उनको मन निकै बरालियो । 'खै के हो हो' भन्दै छक्क परेका उनी बजार चहार्न यसो बाहिर निस्केका थिए । यता बालक खोज्दै फोटो पत्रकार तिवारी उनकै घरमा पुगे । 'कान्छो निरोजलाई स्कुलले सित्तैमा पढाइदिने भो रे भन्ने खबर वाँबाटै पायौं,' ३५ वर्षे आमा सीताले भनिन्, 'मनै हरर भो ।'
यता निरोजको तस्बिरले नाम कमाएपछि धेरै टाढाटाढाबाट उनीहरूलाई चिनेजानेका मान्छेहरूले फोन गरे । 'कान्तिपुर टीभीले पनि देखाएछ । सबैले बधाई देका थे,' निर्मलले भने, 'छोरोले खुसी ल्याएपछि त्यतिबेला केही गर्न सकिन्छ कि भन्ने आस लायो ।'
तस्बिरको प्रभाव । निरोज साँच्चै नै आफूले देखेको विद्यालय जान पाउने भए, नर्सरी कक्षामा । पर्खाल बाहिरबाट हेरेर सिको गरेको शारीरिक अभ्यास अब विद्यालयको पर्खालभित्रै गएर गर्न थाले । निरोजको दैनिकीजस्तै बिस्तारै परिवारको दैनिकी पनि बदलिन सुरु भयो ।
व्यापार खासै उकालो नलागेपछि बाबा निर्मल कामको खोजीमा २०६४ सालमा विदेश लागे, साउदी अरब । आमा सीताले घरव्यवहार सम्हाल्न थालिन् । फलफूल व्यापारलाई पनि निरन्तरता दिइन् । गाउँबाट हजुरबा हजुरआमा पनि साथै बस्न आएपछि भने उनीहरू डेरा सरेर बानेश्वरकै फुल्चोकी मार्गमा बस्न थाले । विदेशमा निर्मलले पनि राम्रै कम्पनीमा काम पाए, प्लम्बरिङको । 'बेलाबेलाँ फोन हुन्थ्यो,' निर्मलले भने, 'विदेशाँ त्यसैयाँ चित्त बुझाउनुपथ्र्यो ।' दिन यसैगरी बित्दै गयो ।
साढे सात वर्षपछि । नर्सरीबाट निरन्तर पास भएका निरोज अहिले नोबेल एकेडेमीमै पाँच कक्षामा पढ्दै छन् । उनलाई सानो छँदाको पूरै सम्झना भने छैन । अहिले केही साथीहरूले कान्तिपुर भनेर बोलाउँदा उनी खिस्स हाँस्छन् । 'मेरो त एडमिट कार्डमा पनि कान्तिपुर लेखेको छ,' उनले झोलाबाट कार्ड झिकेर देखाए, 'चिन्नको लागि नामको पछाडि थपेको रे ।'
तस्बिर प्रकाशित भएपछि विद्यालयले निरोजलाई छात्रवृत्तिमा चाहेजति पढाइदिने प्रतिबद्धता व्यक्त गरेको फागुन ६ कै कान्तिपुरमा प्रकाशित भएको थियो । पहिलाको सहमतिअनुरूप नै विद्यालयले छात्रवृत्तिमा पढाइराखेको र अब पनि निरन्तरता दिने नोबेलका विद्यालय संयोजक केपी पन्त बताउँछन् । शिक्षिका लक्ष्मी पौडेलका अनुसार निरोजको पढाइ राम्रो छ । उनी भन्छिन्, 'तीन चार कक्षामा भन्दा पाँचमा आएर अझै प्रगति गरेको छ ।' गएको परीक्षामा उनले ७० प्रतिशतको हाराहारी अंक ल्याएका छन् । कक्षामा अब्बल हुन निरोजले अझै मेहनत गर्नुपर्ने उनकी अर्की शिक्षिका सोफिया श्रेष्ठ बताउँछिन् । उनका अनुसार साथीहरूसँग चाँडै घुलमिल हुने निरोजको राम्रो बानी हो । पढाइमा गणित र सामाजिक शिक्षा, खेलकुदमा टेबलटेनिस निरोजलाई धेरै मन पर्छ । 'फुटबल पनि रमाइलो लाग्छ,' निरोजले झोलाको चेन लगाउँदै भने, 'पछि भने इन्जिनियर बन्ने हो ।'
'इन्जिनियर नै किन नि ?' प्रश्न सुनेपछि उनले एकैछिन सोचेझैं गरे ।
'यसलाई राम्रो मान्छे बनाम्चु,' बाबा निर्मलले बीचैमा कुरा काटे, 'म विदेश हुँदा पनि खुब फोन गरेर पढाइका बारेयाँ सोधखोज गर्थें ।' आफ्नो बा बितेको खबर पाएपछि निर्मल हालै मात्र नेपाल फर्केका हुन् । त्यो पनि ६ वर्षमा पहिलोपटक । 'केही ऋण तिर्नुथ्यो, त्यसैले बीचमा आउन पाइनँ,' निर्मलले हल्का हाँस्दै भने, 'ऐले ऋण तिरियो, थोरै कमाइ पनि भो ।'
निरोजले ठूलो भाग्य लिएर आएको उनका आमाबाबा ठान्छन् । आमा सीता भन्छिन्, 'यसको राम्रो हुन थालेपछि सबैको केही भए पनि राम्रो भयो ।' अहिले जेठो छोरो निरन पनि कक्षा ९ पढ्ने भइसकेका छन् । मैतीदेवीको मार्भलस बोर्डिङ स्कुलमा । स्कुल र घरको दुवै वातावरण राम्ररी मिलायो भने छोराहरूले भोलि केही प्रगति गरेर देखाउँछन् भन्ने आस निर्मलले गरेका छन् । उनी भन्छन्, 'बुबाको किरिया सकेपछि स्कुलमा गएर सरमीससँग सरसल्लाह गर्ने सोच्या छु ।'
एउटा रंगीन तस्बिरले परिवारमा ल्याएको नयाँ रंग आफूहरूले कहिल्यै बिर्सन नसक्ने उनीहरू बताउँछन् । 'अझै पनि दुवै पत्रिका बाकासाँ राखिचुँ,' गत सोमबार साँझको भेटमा सीताले हाँस्दै कुरो टुंगाइन्, 'कैलेकाहीं हेर्छु अनि फोटा खिच्नेलाई मनमनै धन्यवाद भन्छु ।'
तस्बिरहरु : शालिग्राम तिवारी
Post a Comment