दुलाहा पार्टी र जन्ती पार्टी
- खगेन्द्र संग्रौला
यो चुनाव एउटा राष्ट्रिय यज्ञ हो । यो चुनावबाट जन्मिने संविधानसभा राष्ट्रि्रय महायज्ञ हो । र, संविधानसभा नाउँको यज्ञबाट जन्मिने सन्तानको नाम संविधान हो । त्यस्तो संविधान जसमा सबै नेपालीका न्याय, समानता, समृद्धि र सुखका सपना र आकाङ्क्षाहरु अटाउन् । यो विरलाकोटी यज्ञको महान् उद्देश्यलाई साकार रुप दिने कसले हो ? सजिलोसँग कुरा बुझ्न यहाँ म दुलाहा र जन्ती गरी दुईटा प्रतीकको प्रयोग गर्दैछु । यो यज्ञको लुम्बिनी भेगको दुलाहा एनेकपा माओवादी हो । र, नेकपा–एमाले यसको जन्ती हो । दुलाहा यज्ञको कर्ता हो । दुलाहा यज्ञको आकर्षणको केन्द्र हो । र, दुलाहा यज्ञको निर्णायक पात्र पनि हो । जन्ती नाथे त भतेर खान दुलाहाका पछिपछि लुखुरलुखुर हिँड्ने जीवात् न हो । जन्ती न यज्ञको कर्ता हो, न आकर्षण केन्द्र, न त निर्णायक पात्र नै । जन्ती त केवल भतेरको भोगी न हो ।
संसारलाई थाहा छ, संघर्षको आँधीबेरीबाट प्रगतिशील परिवर्तनका मुद्दा उठाएको यही दुलाहा पार्टीले हो । संविधानसभा यसैको सन्तान हो । गणतन्त्र यसैको सन्तान हो । र, संघीयता, सामेली र प्रतिनिधित्वको जगमाथि खडा हुने सामाजिक न्याय पनि यसैका सन्तान हुनेछन् । अनि जन्ती ? जन्ती त केवल इतिहासको किनारमा उभिने अकर्मण्य रमिते हो । जन्ती दुलाहाको पुच्छरजस्तै हो जो इतिहासको यात्रामा सधैँ पछिपछि हिँड्न रमाउँछ । दुलाहा हुन्छ र नै जन्ती हुन्छ । दुलाहा हुन्छ र नै जन्तीले भतेरमा भुँडी भरेर ड्याउडयाउ डकार्न पाउँछ ।
लुम्बिनीको यो बटौली भेगको चुनावमा राजनीतिका दुलाहा र जन्ती उम्मेदवार भएका रहेछन् । दुलाहा एमाओवादीका डा. बाबुराम भट्टराई, जन्ती एमालेका विष्णु पौडेल । राजनीतिका यी दुबै खेलाडी मेरा मित्र हुन् । बाबुराम भट्टराई राजनीतिका मेरा वर्तमान मित्र हुन् । र, विष्णु पौडेल राजनीतिका मेरा भूतपूर्व मित्र हुन् । जीवनमा रोजाइ कठिन र निर्मम कुरा हो । तर के लाग्छ, नरोजी धरै पाइन्न । मेरो इच्छाले हुने भए म दुबैलाई रोज्थेँ । तर मिलेन । मैले भारी मनले दुलाहालाई रोजेँ, र जन्तीलाई छाडिदिएँ ।
अँ, म अब जन्तीको अतीतका कुरा गर्छु । हालको जन्तीमार्गी एमाले उसको नौ महिने शासनसम्म दुलाहाको भूमिकामा थियो । नौ महिने शासनमा सत्ताको मीठो भान्सा चाखेपछि ऊ ख्याँस्स राजनीतिको जन्तीमा फेरियो । उल्टोतिर फेरिएको एमालेले सामन्ती राजाका बफादार ताबेदर लोकेन्द्रबहादुर चन्दलाई थपक्क शिरमा बोक्यो । अनि चमाले प्रधानमन्त्री चन्द यज्ञका दुलाहा भए, र एमाले निजको पिछलग्गु जन्ती भयो । बद्नाम महाकाली सन्धिका दुलाहा दिल्लीका दाज्यैज्यू थिए, र एमाले आज्ञाकारी मुद्रामा दाज्यैज्यूका पाइला पछ्याउने जन्ती थियो । गोलीले माओवादीलाई मास्न संकटकाल लागु गरियो र माओवादीमाथि शाही सेना खन्याइयो । यो कर्मका दुलाहा कांग्रेसी प्रधानमन्त्री शेरबहादुर देउवा थिए, र एमाले बुद्धि सिँगौरामा झुन्ड्याएर देउवाको पछिपछि हिँड््ने जन्ती थियो । जिउभरि लगत लत्पतिएका राजा ज्ञानेन्द्रकां पाउमा माधवकुमार नेपाले गुलेलीको भाँटोझैँ दोब्रिएर दाम चढाए । यो कर्ममा ज्ञानेन्द्र दुलाहा थिए, एमाले निरङ्कुशतन्त्रको जन्ती थियो । कांग्रेसका कृपाले माधवकुमार नेपाल प्रधानमन्त्री बने । बरा माधव चुपचाप कांग्रेसको अरनखटन मान्ने प्रधानमन्त्री थिए । यहाँ पनि दुलाहाको थान्कोमा कांग्रेस थियो, एमाले निजको अरौटे जन्ती भयो । माओवादीका कृपाले झलनाथ खनाल प्रधानमन्त्री भए । बबुरा झलनाथ कृपा प्रदान गर्ने माओवादीको इसारामा मुन्टो लतारेर चल्ने प्रधानमन्त्री थिए । यहाँ पनि उही बासी कुरा ठ्याक्कै दोहोरियो । अघिअघि माओवादी दुलाहा, पछिपछि एमाले जन्ती । दु:खी एमाले न सरकारमा छँदा सशक्त सरकारजस्तो भयो न प्रतिपक्षमा छँदा जिम्मेवार प्रतिपक्षजस्तो भयो । एमाले सधैँ जन्ती भयो, सधैँ कसै न कसैको पछुवा भयो । यसरी जन्ती एमाले सधैँ निष्प्राण र निस्तेज मुद्रामा अर्काको छायाँ भएर सत्ताको भतेरतिर हिँडिरह्यो ।
आयो कुरा अब भोटको । यो बटौली भेगमा भोट दुलाहा पार्टीलाई दिने कि जन्ती पार्टीलाई ? जो अरुकै छायाँ भएर ङिच्च हाँस्दै, निहुँरिँदै र हात मल्दै सधैँ सत्ताको भतेर खान हिँडिरहन्छ, भोटजस्तो मूल्यवान् चीज उसलाई दिएर के लछारिन्छ ? दिन मन लागे भोट कि दुलाहालाई दिनु कि आफैँसँग सुरक्षित राख्नु उत्तम हो । जन्ती नाथेलाई भोट दिएर बित्थामा भोटको अपमान किन गर्नु ? पुछारमा आयो कुरो अब दुलही र तिनका आमा–बाको । बटौली भेगमा आफ्ना घर–आँगनको जग्गेमा गोरखाबाट दुलाहा आइनै सकेपछि दुलहीले वरण गर्ने दुलाहालाई हो कि जन्तीलाई हो ? दुलहीका आमा–बाले आफ्नी छोरी दिने सशक्त र जिम्मेवार दुलाहालाई हो कि अशक्त र जिम्मेवारीविहीन जन्तीलाई हो ? जन्ती नाथे त भतेरमा भान्सा गर्यो कि कतै लुत्त हराउँछ । अनि दुलाहा ? दुलाहा बडो कृतज्ञ मुद्रामा सुख–दु:ख बाँडचूँड गर्न ससुराली आइरहन्छ ।
हाम्रो नेपाल लोभी र पापी शासकहरुले गर्ने हेलाँहोचो र भेदभाव, चुसाइ र डसाइबाट थिल्थिलो भएको थियो । यी सब कुराको उपचार गर्छु भनेर माओवादीले आन्दोलनको भयंकर आँधी उठायो । र, माओवादीले सहस्र निमुखा नेपालीलाई अधिकारका लागि लड्न ब्युँझायो । दुर्भाग्यवश, त्यो आँधीमा धेरै रगत बग्यो । त्यो आँधीमा जनधनको ठैलो नोक्सानी भयो । जान्नेहरु ज्ञानी गौतम बुद्ध यतै कतै जन्मेका हुन् भन्छन् । कतै शून्यबाट बुद्ध यो सभामा आइपुगे उनी के भन्दा हुन् । मैले नेपालीमा जे भनेँ शायद पाली भाषामा उनी त्यही भन्दा हुन् । सके उनी भन्दा हुन्— अब बन्ने संविधानमा सामाजिक न्याय, पहिचान र प्रतिष्ठाको सुन्दर चित्र बनाउन दुलाहालाई भोट दिऊँ । जन्तीका पछि लागेर एकबारको जुनीमा पाएको भोट त्यसै खेर नफालौँ । र, करुणाका खानी बुद्ध थप्दा हुन्— सबै नेपालीको भाग्य अटाउने संविधान नबने फेरि हिंसा र रक्तपातको खतरा छ । हेक्का रहोस्, मैले त्यस्तो दिन देख्नु नपरोस् †
Post a Comment