नेपालमा नवजात शिशु मृत्युदर उच्च
कात्तिक २०–
नेपालमा प्रतिहजार नवजात शिशुमा सरदर ३३ जनाको मृत्यु हुने गरेको तथ्याङ्क यहाँ सार्वजनिक गरिएको छ ।
नवजात शिशुको अहिलेको मृत्युदरलाई सरकारले सन् २०१५ सम्म प्रतिहजार १६ मा झार्ने लक्ष्यअनुरुप नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्व स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन विकट ग्रामीण बस्तीमा ‘बर्थिङ सेन्टर’ स्थापना कार्य सुरु गरिसकेको छ ।
रासस अगाडी लेख्छ, ‘सुत्केरी हुने वातावरण अत्यन्त दूषित हुँदा ४२ प्रतिशत सङ्क्रमणबाट र जन्मदा कम तौलका कारण २९ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ ।’
त्यसैगरी कमजोर स्वास्थ्य अवस्था भएका आमाको गर्भमा भएका शिशुको निसास्सिएर समेत मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ । बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार, यस जिल्लामा गत एक वर्षको अवधिमा २८ दिन उमेरभित्रका २२७ नवजात शिशुको मृत्युले पनि नवजात शिशु स्याहार र सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने आवश्यक देखिएको छ ।
यस जिल्लामा प्रत्येक एक लाख गर्भवती महिलामध्ये २३ जनाको मृत्यु हुने गरेको छ भने नेपालमा यो सङ्ख्या २०० को हाराहारीमा रहेको जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लले जानकारी दिए ।
सरकारले सञ्चालनमा ल्याएको नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बाँके जिल्लाको विकट राप्ती पारी बघौडा क्षेत्रको नौ गाविसमा अहिलेसम्म १३ बर्थिङ सेन्टर स्थापना गरिसकेको छ ।
सो केन्द्रमा अत्यावश्यक उपकरणसहित जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी पनि पठाइसकेको छ भने गाविस र स्थानीय समुदायको सहयोगमा थप सेवा, सुविधा केन्द्रमा थप गर्ने प्रयास भइरहेको जनस्वास्थ्य प्रशासक मल्लको भनाइ थियो ।
नेपालमा नवजात शिशुको कहाली लाग्दो मृत्युदरलाई लक्ष्यअनुरुप घटाउन सरकारले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन र अन्य गैरसरकारी संस्थासँगको सहकार्यमा नवजात शिशु स्याहार र सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ‘एभ्रिवन’ अभियानमुखी कार्यक्रम देशभरि सञ्चालनमा ल्याएको छ ।
Post a Comment