विवादास्पद पाँचतले घर एमाओवादीको कब्जामा
काठमाडौं निर्वाचन क्षेत्र नं नं २ अन्तरगत पर्ने पाँचतले यो घर दुई व्यक्तिको स्वामित्वमा रहेकाले विवादमा छ । एमाओवादी र माओवादीका कार्यकर्ताहरुले यही विवादमा खेल्दै आएका छन् । घरका माथिल्ला दुई तल्ला एक परिवारको र तल्लो ३ वटा तल्लाहरु अर्को व्यक्तिले खरिद गरेका कारण यो घर केही वर्षदेखि विवादमा छ । काठमाडौं २ का उम्मेद्वार लीलामणि पोख्रेलको फोटो सहितको बोर्ड र पर्चाहरु टाँसिएको माथ्लो तलाका घरधनी यतिबेला विदेशमा छन् ।
विवादित घरधनीमध्ये एउटा पक्षलाई तह लगाउन भन्दै यसअघि यो घरमा वैद्य माओवादीलाई भित्र्याएर नेकपा-माओवादीको बोर्ड र झण्डा राखिएको थियो । तर, केही दिन अघि रातारात वैद्य माओवादीको बोर्ड हटाएर एमाओवादीको बोर्ड राखिएको छ । यद्यपि छतमा भने ‘नेकपा-माओवादी’ लेखिएको वैद्य माओवादीको झण्डा यथावत छ । घरमा वैद्य माओवादीका ३/४ वटा झण्डा छन् भने बोर्ड चाँहि एमाओवादीको छ । एमाओवादीले घर कब्जामा लिने क्रममा वैद्यले फहराएका सबै झण्डा झिक्न भ्याएको छैन ।
‘त्यो हाम्रो पार्टी कार्यालय हो, हाम्रा साथीहरु यताउता भएको मौका पारेर एमाओवादीले घर कब्जामा लिई लीलामणि पोखरेलको पार्टी सम्पर्क कार्यालय बनाएको छ ।’ काठमाडौं-९ का एक स्थानीय वैद्य माओवादी कार्यकर्ताले भने- ‘हामी चाँडै त्यहाँबाट एमाओवादीलाई हटाउँछौं ।’
कब्जामा लिइएको यो घर बत्तीस पुतलीमा दीप बस्नेतको घरभन्दा दुईघर पश्चिमपट्टी रहेको छ ।
Post a Comment