0

‘मेरो चितामा जलेर श्रीमती र छोराछोरी मरुन्’

ईश्वर ढकाल । 

  • फोटोहरु : गोकर्ण लामिछाने
 धरतीको सबैभन्दा दुःखी मानिस काठमाडौंमा भेटिएका छन् । उनी भन्छन्, ‘यो संसारमा म जति दुःखी कोही छैन, संसारमा मलाई जति धेरै र चर्काे समस्या कसैलाई छैन ।’
जसले पनि आफूलाई दुःखी ठान्छ तर दिलबहादुर डंगोलको जिन्दगी देखेपछि सोध्नैपर्ने हुन्छ, यो धरतीमा उनीजति दुःखी मानिस कोही छ ?
काठमाडौंको स्वयम्भू नजिकको छाप्रोमा बस्छ चारजनाको परिवार । श्रीमती मानसिक रोगी, छोरा अपांग र सुस्त मनस्थितिका, छोरी पनि अपांग । अनि, ६१ वर्षीय दिलबहादुरले यो पहाड थेगेका छन् ।
अन्य दुई छोरी पनि छन्, माहिली बिहे गरेर कहाँ गइ थाहा छैन, कान्छीलाई कुनै होटलमा भाँडा माझ्न राखिदिएका छन्, जेठी अपांग राम्ररी हिँड्न सक्दिन ।
_MG_4938
श्रीमती र छोराको उपचारलाई महिनामा तीन हजार रुपैयाँ जति खर्च हुन्छ, यी वृद्धले कसरी जुटाउँछन् ? ठेला चलाउँछन्, मजदुरी गर्छन्, अर्काले आश्रय दिएको छाप्रोमा बस्छन् । भाडा तिर्न पर्दैन, घरवालाको घर सफा गर्ने काम चाहिँ गरिदिनुपर्छ ।
दिनभरि हाडतोड मेहेनतपछि साँझ फर्कंदा ढाड कम्मर नराम्रोसँग दुखेको हुन्छ, थकाइले ग्रस्त हुन्छन् । भन्छन्, ‘म विरामी हुन पनि पाउँदिन, विरामी भयो भने यिनीहरुको विचल्ली हुन्छ । विरामी हुनासाथ मर्नु पर्ने हुन्छ ।’
मेरै चितामा तिमीहरु मर्नु..
‘मलाई अब धेरै बाँच्छु जस्तो लाग्दैन,’ थोत्रो ज्याकेटको बाहुलाले आँशु पुछ्दै भन्छन्, ‘म ढलेपछि यिनीहरुको हालत के होला ? बिजोग हुन्छ, खान नपाई मर्छन् ।’
लड्खडाउँदै यताउति गरिरहेकी मातातिर्थलाई समातेर भन्छन्, ‘कसले बिहे गर्छ यसलाई ? म मरेपछि के खान्छन् ? शायद मेरो चितामा हाम्फालेर यिनीहरु सबैजना मर्छन् ।’ कुरा सुनेर मातातिर्थ पनि रुन थाली, छोरीको टाउकोमा हात राख्दै उनले भने, ‘म मरेपछि त्यही चितामा तिमीहरु पनि जल्नु, बाँच्न सक्दैनौ तिमीहरु यो निर्दयी संसारमा ।’dukhi dudaa swyambhu
यसरी सुरु हुन्छ व्यथा
युवा उमेरमा धादिङबाट काठमाडौं छिरेपछि सुरु हुन्छ दिलबहादुरको कथा । उनको जीवनलाई कथा होइन व्यथा भन्नु उपयुक्त होला ।
काठमाडौमा रमा गुरुङसँग बिहे गरे । बिहेपछि सुख होइन दुःखको पहाड पो आइलाग्यो, श्रीमती रहिछिन् गम्भीर मानसिक रोगी । जे भए पनि सन्तान राम्रा जन्मिएलान्, भविष्यमा सुख पाइएला भन्ने आश थियो । २६ वर्ष अघि जेठी मातातिर्थ जन्मिइन्, अपाङग ।
पछि जन्मियो छोरा इशाक । छोरा जन्मिँदा असाध्यै खुसी भए, भविष्यमा हेर्ने सन्तान आयो, सुखका दिन आउला भन्ने लाग्यो । तर, छोरा पनि अपांग, त्यति मात्र होइन सुस्त मनस्थितिका समेत ।
दुःखमाथि ऋण
श्रीमती र छोराछोरीको उपचारका लागि उनले कमाएको जति सबै खर्च गरे, नपुगेर ऋण लिए । पछिल्लो पटक लिएको ९३ हजार रुपैयाँ ऋणको साँवाब्याज बुझाइरहेछन् । अहिले ५३ हजार तिर्न बाँकी छ ।
आफ्नो दुःख सुनाउँदा दिलबहादुरको आँखाबाट बर्बरी आँशु झरे । यता दिलबहादुर रुँदै थिए, उता छोरा अनौठो हाउभाउ गरेर उनलाई झम्टँदै थियो, अर्कातिर श्रीमती रमा बेसुरमा कराइरहेकी थिइन्, छोरीचाहिँ सकिनसकी कोठामा यताउता गरिरहेकी थिइन् । दर्दनाक चलचित्रको दृष्यभन्दा चर्काे थिए यी दृष्य ।
उनले भने ‘ठेला चलाएर साहुको ऋण तिरिरहेको छु, नपुगे अर्को ठाउँमा ऋण खोजेर पनि व्याज तिर्ने गरेको छु ।’  छोराको नाममा अपांग भत्ता आउँछ, छोरीलाई सरकारले भत्ता दिन नमानेकोमा उनको ठूलो गुनासो छ ।
दुःखकै बीच उनले अपांग छोरीलाई पाँच कक्षासम्म पढाए । त्योभन्दा धेरै पढाउन सकेनन्, खर्च कहाँबाट ल्याउनु ?
छैनन् भगवान
भगवानले नहेरेको, भगवानले नै दुःख दिएको भन्दै उनले विद्रोह गरे, अर्थात् क्रिश्चियन बने । क्रिश्चियनको भगवानले पनि हेरेन, संसारमा भगवान नै छैन जस्तो लाग्दैछ भन्छन् ।
प्रभूसँग आश मारे पनि आस्था मारेका छैनन् ।
परिवारलाई त्यागेर दुःखबाट मुक्ति लिने सोंचाइ आएन भनी सोध्दा उनले आँखा चौडा पारे, निधार खुम्च्याए, अनि भने, ‘हे ईश्वर, म भन्दा दुःखी यिनीहरु छन्, यिनलाई छाडेर भाग्ने त मैले सपनामा पनि कहिल्यै सोचिन ।’
उनी थप्छन्, ‘यिनीहरुको असाध्यै माया लाग्छ ।’
उनले विलौना गर्दै सहयोगी मानिस खोजिदिन विन्ती गरेका छन् । छ कोही उनको विलौना सुनिदिने ?dukhi jindagi

Post a Comment

 
Top