राजनीतिमा अब हुने घटनाक्रम यस्ता छन्
दलहरुले चार बुँदे सहमति गरेर वर्तमान गतिरोध अन्त्य गरे पनि आउँदो केही साता सजिलो स्थिति हुने छैन । बीचमा राजनीतिक भाँडभैलो भएमा कुरा बेग्लै हो, सहमति अनुसार नै राजनीति अगाडि बढेमा आगामी दिनका प्रक्रिया यस्तो हुनेछ :
पुस २१ को हाराहारीमा अथवा त्यस अगावै आयोगले निर्वाचनको औपचारिक परिणाम घोषणा गर्नेछ । आयोगले घोषणा गर्नासाथ दिनगन्ती सुरु हुनेछ । घोषणा गरेको दिनबाट २१ दिनभित्र संविधानसभाको बैठक बस्नुपर्ने छ ।
वर्तमान संविधान अनुसार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभा बैठक आव्हान गर्नुपर्ने छ । खिलराजबाटै बैठक आव्हान गराउने कि राष्ट्रपति रामवरण यादवबाट ? यस विषयमा ठूलो बहस हुनेछ । राष्टपतिबाट बैठक आव्हान गराउने हो भने संविधान संशोधन गराउनुपर्ने छ ।
जसले आव्हान गरे पनि संविधानसभाको पहिलो बैठक सबैभन्दा ज्येठ सदस्यको अध्यक्षतामा बस्नेछ । बैठक अगाडिदेखि नै तथा बैठकपछि पनि नियमावली संशोधन विषयमा तत्कालै विवाद सुरु हुनेछ तर सुल्झाउने जिम्मा कुनै समिति बनाएर त्यसैलाई दिइनेछ ।
बिना कुनै एजेण्डा संविधानसभाको बैठक बस्न सक्दैन, त्यसैले मतदातालाई धन्यवाद अथवा अन्य कुनै एजेण्डा आविष्कार गरिन्छ । पहिलो वैठकको केही दिनपछिको मिति तोकेर मात्र दोस्रो बैठक राखिनेछ ।
जसरी संसद्को बैठक सुरु गरिए पनि त्यसलगत्तै राष्ट्रपति डा रामवरण यादवले सरकार निर्माणको प्रक्रिया थाल्न व्यवस्थापिका संसदको नाममा पत्र पठाउनेछन् । पत्रमा सरकार बनाउन निश्चित अवधी दिइएको हुन्छ । विगतमा सरकार बनाउने पत्र पठाउँदा सात दिन समय दिने गरिएको थियो । दिइएको अवधीमा सरकार नबनेमा समय थप गरिनेछ ।
Post a Comment