भावी आइजीमा अहिलेवाटै टक्कर
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको ३ वर्ष २ महिनाको कार्यकालपछि भावी प्रहरी प्रमुखका लागी २०४४ चैत २९ गते प्रहरी संगठनमा प्रवेश गरी अहिले डिआइजी भइसकेकाहरु प्रतिष्पर्धी हुन्। करिव ६ महिना अगाडि भएको बढुवामा सो व्याचवाट डिआइजी भएकामध्ये नवराज सिलवाल र प्रकाश अर्याल भावी प्रहरीको नेतृत्वको प्रतिष्पर्धीका रुपमा चर्चामा छन्।
यस अगाडिको सरुवामा प्रहरी प्रवक्ताको रुपमा प्रहरी महानिरिक्षकको सचिवालयमा आएका सिलवाल पूर्व क्षेत्रिय प्रहरी प्रमुखमा सरुवा भएपनि अर्याल भने केन्द्रिय अनुसन्धान व्युरोको प्रमुखमै कायम थिए।
अर्याल प्रहरी प्रमुखमा नियुक्त भए लगत्तै काजमा पूर्व पुगेका थिए। सुरक्षाको दुष्टिकोणले अतिसंवेदनशिलको सूचीमा रहेको पूर्वमा समेत संविधान सभा निर्वाचन हिंसारहित बनाउन सिलवाल सफल भए।
विहिवार भएको सरुवामा सिलवाललाई टक्कर दिन सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिने मध्यमाञ्चल प्रहरी प्रमुखका रुपमा अर्याल पुगेका छन्। पूर्वाञ्चलपछि मध्यमाञ्चललाई संगठनभित्र राम्रो र चुनौतीपूर्ण स्थानको रुपमा लिइन्छ। यसले भावी प्रहरी प्रमुखको चयनका लागी अहिलेवाटै कार्यक्षमता र कार्यदक्षताको प्रतिष्पर्धा शुरु गराइएको विष्लेशण समेत शुरु भएको छ। यी दुईमध्ये कार्यदक्षतामा जो अगाडि देखिन्छ भावी नेतृत्वमा उसैको पल्ला भारी हुने पक्का छ।
भावी नेतृत्वका लागी यी दुबैलाई पच्छ्याइरहेका बमबहादुर भन्डारी समेत क्षेत्रिय प्रहरी प्रमुख बन्दै मैदानमा कडा रुपमै उत्रिए। आतंकवाद सम्बन्धी अनुसन्धानमा दक्ष मानिएका उनी पश्चिमाञ्चल प्रहरी प्रमुखमा सरुवा भएका छन्। सोही व्याचका चतुर खेलाडी जयबहादुर चन्दले तालिम केन्द्रको सहयोगीको कार्यभारवाट मुक्ती पाउँदै सुदुरपश्चिम प्रमुख भएका छन्।
चार एआइजी पक्का !
एआइजीको अभावमा रिक्त रहेको विभागहरुमा मन्त्रिपरिषद्ले बढुवाको सूचीमा रहेका ४ डिआइजीको सरुवा पछि उनीहरुको बढुवा पक्का भएको चर्चा चुलिएको छ। मन्त्रिपरिषद्ले विहिवार १० डिआइजीको सरुवा गर्दा एआइजी हुने लाइनमा रहेका ४ डिआइजी एआजीको अभावमा एक महिनादेखी रिक्त रहेको विभागमा आएका हुन्।
वरिष्ठताकोक्रममा पहिलो नम्बरमा रहेका राजेन्द्रसिंह भण्डारी प्रशासन विभाग प्रमुखमा सरुवा भएर आएका छन् भने दोस्रो नम्बरका नारायण वस्ताकोटी प्रहरी प्रशिÔण प्रतिष्ठानमा आएका छन्। तेस्रो नम्बरका सुरेन्द्रबहादुर शाह अपराध अनुसन्धान विभागमा आए भने छैठौं नम्बरका विज्ञानराज शर्मा कार्य विभागमा सरुवा भए। यी सबै कार्यालयको प्रमुखमा एआइजीको दरबन्दी छ।
सरकारले बढुवा प्रकृया रोक्दै सरुवा मात्रै गरे पनि उनीहरुको बढुवा पक्का भएकाले एआइजी प्रमुख रहने कार्यालयमा सरुवा गरिएको अड्कलवाजी बढेको हो। स्रोतका अनुसार संविधान सभा निर्वाचन अगाडि उनीहरुलाई क्षेत्रिय प्रहरी कार्यालयको जिम्मेवारी सुम्पदानै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेले निर्वाचन शान्तिपूर्ण भए बढुवा गर्ने वचन दिएकाले यो अड्कलवाजीमा दम देखिएको छ।
बढुवाकै लाइनमा रहेका केदारप्रसाद साउद,रमेशशेखर बज्राचार्य, गणेश राई भने सरुवा भएनन्। क्रमसंख्यामा पछि परे पनि एआइजीको फुली लगाउन दौडधुपमै रहेका वीरेन्द्रबाबु श्रेष्ठ, यादव अधिकारी, पर्शुराम खत्री, शुसिलबरसिंह थापा लगायतका समेत सरुवामा परेनन्। केशबहादुर शाही भने मध्यपश्चिम प्रहरी प्रमुख भए।
Post a Comment