0

सद्दे मान्छे  बेहाल बनाउने अस्पताल

मिलन तिमिल्सिना
गोजीमा १७ हजार रुपैयाँ बोकेर छोरीको उपचारका लागि शिक्षण अस्पताल आइपुगेका बाराका एकजना मजदुर दिनभर अस्पतालमा भौंतारिए । अस्पतालमा विरामीको ठेलम्ठेल ।
टिकट लिंदादेखि डाक्टरलाई देखाउने बेलासम्म लामो लाइनमा घण्टौ पर्खनुपर्ने वाध्यता । त्यसमाथि रगत, दिशापिशाब, खकार जँचाउने तथा एक्सरे, भिडियो एक्सरे गराउने ठाउँ पहिल्याउनु उत्तिकै चुनौती । यसअघि अस्पताल नपुगेकाहरुलाई हरेक कोठा चिन्न निकै हम्मेहम्मे पर्ने ।
पहिलोपटक नै अस्पताल पुगेका उनी बिरामी छोरी डोहोर्‍याएर धेरैबेर यता र उता गरिरहे । बिरामीलाई आकस्मिक कक्षमा लैजाने मेसो पनि उनलाई रहेनछ । पछि एउटा सज्जनको सहयोगमा उनले बिरामी छोरीलाई आकस्मिक कक्षमा पुर्‍याउनसम्म सफल भइन् । त्यसपछिको हैरानी र अन्योल उनले कति खेप्नुपर्‍यो होला सहजै अनुमान गर्न सकिन्छ ।
देशका धेरै गाउँठाउँमा स्वास्थ्य सेवा पुगेपनि उपचारको लागि शहर धाउनुपर्ने नेपालीको वाध्यता अझै हटिसकेको छैन । स्वास्थ्य केन्द्र टाढा हुँदा र भएकामा पनि स्वास्थ्यकर्मी नहुँदा विकट ठाउँका कतिपय बासिन्दाले अकालमा ज्यान गुमाइरहेका छन् । कतिपय रोग पालेर बस्न बाध्य छन् ।
आधुनिक चिकित्सापद्दतिको प्रयोग शुरु भएपनि यसको विस्तार भएको छैन । स्वास्थ्यसेवा अझै पहुँचमा नहुँदा विकट ठाउँका बिरामीलाई त सकस छ । नजिकै अस्पताल र स्वास्थ्यकेन्द्र हुँदा पनि सेवा लिन निकै झण्झट व्यहोर्नुपर्ने वाध्यता छ । बिरामी लिएर अस्पताल पुग्ने र भर्ना भएका बिरामीलाई कुरेर बस्नेहरुको व्यथा झन् चर्को छ ।
पहिलो कुरा त पहिलोपटक सरकारी अस्पताल पुग्नेले उपचारको लागि पुग्नुपर्ने कोठा र ठाउँ चिन्नै धेरै सकस झेल्नुपर्छ । टिकट लिन, डाक्टर भेट्न, प्रयोगशाला र फिजियोथेरापी गर्ने ठाउँ चिन्नदेखि अस्पतालमा आइपर्ने अरु कामको लागि मेसो नहुँदा जान्ने बुझ्नेलाई समेत समस्या पर्ने गरेको छ ।
बल्लतल्ल ठाउँ पहिल्याएर लाइनमा घण्टौं पर्खी डाक्टर भेटिहालेमा पनि बिरामीको चापले डाक्टरले एउटै बिरामीलाई आवश्यक समय दिन सक्दैन । अझ शल्यक्रिया लगायत जटिल सेवा सरकारी अस्पतालमा सहज छैन ।
एउटा शल्यक्रियाको लागि महिनौं कुर्नुपर्ने वाध्यता छ । उतिखेरै हुने परीक्षणको रिपोर्ट लिन पनि धेरै दिन कुराइन्छ । पढेलेखेका र जान्नेसुन्ने आफन्तहरुको सहयोग र साथबिना अस्पताल पुग्नेले सजिलै स्वास्थ्य सेवा लिन नसक्ने अवस्था छ ।
भर्ना भएका बिरामीलाई डाक्टर तथा नर्सले जसोतसो सेवा त पुर्‍याउने गरेका छन् । तर कुरुवाको हालत दयनीय छ । बिरामीकै लागि बल्तल्ल शैया पाउने सरकारी अस्पतालमा कुरुवाको लागि सुत्ने बस्ने ठाउँ पाउनु टाढाको कुरा । नजिकै घर हुनेले त आवश्यक व्यवस्था गर्लान् । तर टाढादेखि अस्पताल आउनेलाई बढी समस्या छ । विरामीको उपचार गर्दागर्दै धेरै खर्च भैसकेको अवस्थामा खानेकुरा जुटाउनेदेखि यताउता चाहार्दैमा खर्च बढ्ने गर्छ । शहरमा बस्ने आफन्तर साथीभाइको शरण लिनुपर्ने धेरैको बाध्यता छ ।
तर काठमाडौको महंगीमा भाडा लिएर बसेका उनीहरुलाई कति दुःख दिने ? तैपनि बिरामी ल्याउने गाउँका मान्छेदेखि शहरमा बस्ने आफन्तसम्मले बिरामीको स्याहारसुसार र कुर्ने कामको सास्तीबाट मुक्ति पाएका छैनन् । बिरामी कुर्ने क्रममा अस्पतालको अव्यवस्थित बसाई र अनियमित खानपानले धेरैजना विरामी निको पारेर फर्कंदा आफैं बिरामी हुने अवस्थासम्म पुग्ने गर्छन् ।
सरकारी अस्पतालको तुलनामा निजी अस्पताल तथा क्लिनिकहरुको सेवा प्रभावकारी छ । सरकारी अस्पतालमा जस्तो झण्झट व्यहोर्नु नपरेपनि त्यहाँ सेवा भन्दा बढी व्यवसाय हुने गरेको छ । कतिपय डाक्टरहरु त अस्वस्थ प्रतिष्पर्धामै उत्रिने गरेको पाइन्छ । एउटा डाक्टरले गरेको जाँच र परीक्षण अर्कोले चित्त बुझाउँदैन ।
पहिले गरेको परीक्षणबाट काम हुने अवस्थामा पनि निजी अस्पताल तथा क्लिनिकहरुले फेरि त्यही परीक्षण दोहोर्‍याएर बिरामीलाई बढी भार थपिदिन्छन् । विरामी र आफन्तलाई आफू र आफ्नो निजी क्लिनिकमा आकर्षित गर्ने उद्देश्यले अर्कोले गरेको परीक्षणमा खोट देखाउने डाक्टर पनि हुँदा रहेछन् । सजिलोको लागि एउटा चिकित्सकबाट अर्को चिकित्सककोमा परीक्षण गर्न जानेले यस्तो अनुभव खेपेका छन् ।
डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीको मीठो बोली तथा मिजासिलो व्यवहारले बिरामीको रोक निको पार्न धेरै हदसम्म सहयोग पुर्याउँछ । तर सबै यस्ता छैनन् । बिरामी र बिरामी लिएर जानेलाई झर्कोफर्को गर्ने डाक्टर तथा नर्स अझै पनि अस्पतालहरुमा छन् ।
एक त संविधानले मौलिक हककै रुपमा समेटेको स्वास्थ्य सेवा सबैको पहुँचमा पुगेको छैन । पहुँच पुगेपनि सेवा महंगो र भद्रगोल छ । विरामी निको पार्न जाँदा आफैं बिरामी भएर फर्कनुपर्ने बाध्यताबाट निम्न र मध्यमवर्गीय नेपालीले मुक्ति कहिलेसम्म पाउलान् खै ?

Post a Comment

 
Top