0
 

गच्छदार अझै पनि सरकारमा जान ‘लविङ’ गर्दै 

  • श्रबण कुमार
bijaya-gachhadar2
फागुन १५– 
प्रधानमन्त्री चयनको विपक्षमा मतदान गरेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारमा सहभागी हुन ‘लविङ’ शुरु गरेका छन् । सत्ताभन्दा एकछिन पनि बाहिर रहन नचाहने भनी आलोचना खेप्दै आएका अध्यक्ष गच्छदारले उपप्रधानसहित रक्षा मन्त्रालयको माग गर्दै कांग्रेस नेतृत्वसँग कुरा चलाएका छन् ।
कांग्रेस पार्टीको उच्च स्रोतले भने, ‘फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले प्रधानमन्त्री सुशील कोइराला निकट नेताहरूसँग छलफल चलाइसक्नुभएको छ । तर, यो कुरा पार्टी सभापति एवं प्रधानमन्त्री कोइरालासमक्ष पुगेको छैन ।’ सरकारमा मधेशी दलको प्रतिनिधित्व नभएको भन्दै आलोचना भइरहेको वेला अध्यक्ष गच्छदारले मधेशी मोर्चालाई लिएर सरकारमा आउने पनि भनेका छन् र त्यसका लागि मोर्चा गठन गर्न उनी दिनरात लागिपरेका छन् ।
एभरेष्ट होटलदेखि लिएर पटक पटक मोर्चाबन्दीका लागि प्रयास गरेका अध्यक्ष गच्छदारले बुधबार पनि चार दलको बैठक बोलाएको स्रोतले बताएको छ । राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी, शरत्सिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीसहित गच्छदारले मोर्चा बनाउने तयारीका लागि बैठक बसेको फोरम लोकतान्त्रिक पार्टीका एक पदाधिकारीले बताए ।
एभरेष्ट होटलमा बसेको बैठकमा सरकारमा जानका लागि मोर्चाबन्दी गर्न लागेको आरोप लगाएर संघीय समाजवादी पार्टीका अशोक राई लगायतका दलहरू गच्छदारको मोर्चामा सहभागी नहुने भन्दै अलग भएको छ । पहाडी दलहरूले साथ नदिएपछि अध्यक्ष गच्छदारले अहिले मधेशवादी दललाई मिलाएर मोर्चाबन्दी गर्न लागेका हुन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच एकीकरण हुन लागेको छ भने संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले वर्तमान सरकारलाई समर्थन गरिसकेका छन् । बाँकी रहेका तीन दल राष्ट्रिय मधेश समाजवादी पार्टी जोसँग तीन सभासद्, तराई मधेश सद्भावना पार्टीसँग तीन सभासद् र फोरम गणतान्त्रिकसँग एक सभासद् रहेकासँग मोर्चा बनाएर सरकारमा सहभागी हुने दाउमा रहेका छन् ।
संसदीय दलको बैठकमा पनि सरकारमा जाने नजाने कुरामा मत बाझिएको थियो । सभासद् नरहेका पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवसहितको बैठकमा सोही पार्टीका नेता एवं सभासद् रामजनम चौधरीले जसरी पनि सरकारमा जानुपर्छ भन्ने धारणा राखेका थिए भने सभासद् एवं महासचिव जितेन्द्र देव र उपाध्यक्ष यादव लगायत सरकारमा जान नहुने पक्षमा थिए । बहुमतले सरकारमा जान नहुने भने पनि अध्यक्ष गच्छदारले यसबारे पछि निर्णय गर्ने भन्दै बैठक स्थगित गरेका थिए । पेरिसडाँडाको बैठकमा पनि गच्छदारले सरकारमा जाने नजाने बारे स्पष्ट पारेका थिएनन् । त्यहाँ पनि पछि छलफल गरौंला भनी संविधान भवनमा आएका थिए तर त्यहाँ कांग्रेसका सभापति सुशील कोइरालाले कुनै ‘भाउ’ नदिएपछि रिसाएर विपक्षमा मतदान गरेका थिए ।
विपक्षमा मतदान गरेपछि कांग्रेसका उनका पुराना मित्रहरूले विपक्षमा बसेर गल्ती गरेको भनेर उनलाई ‘पश्चात्ताप’ गर्न लगाएका थिए । र हाल उनै मित्र मार्फत पार्टीलाई सरकारमा लिन उनी दौडधूपमा लागेका छन् । स्रोतले त यतिसम्म भने कि सरकारमा जानका लागि गच्छदारले रकमसम्म पनि खर्च गर्न तयार छन् तर अध्यक्ष गच्छदारको क्रियाकलापबाट परिचित प्रधानमन्त्री कोइरालाले यो प्रस्ताव अस्वीकार गर्ने हो कि भनेर पनि शंका गरेका छन् । यता उनी सरकारमा जानुअघि जसरी पनि एउटा मधेशी मोर्चा निर्माण गर्ने दाउमा रहेका छन् त्यसका लागि उनी राजकिशोर यादव, महेन्द्रराय यादव, शरत्सिंह भण्डारीलाई प्रभावमा पारेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ जना सभासद्मा भण्डारीलाई पार्ने आश्वासन गच्छदारले दिएका छन् ।

Post a Comment

 
Top