अञ्चलमै छैन दमकल
१२ फागुन
धवलागिरि अञ्चलका चारै वटै जिल्ला सदरमुकामहरू मानिसको बढ्दो आवादीसँगै तीव्र सहरीकरणमा प्रवेश गरिरहेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको केन्द्रमा अवस्थित धवलागिरि अञ्चलमै हालसम्म दमकलको सुविधा भने छैन ।
सहर तथा बजार क्षेत्रमा आगलागी भइहालेमा तत्काल नियन्त्रण तथा उद्धार गर्ने कुनै माध्यम उपलब्ध नहुँदा नागरिकको जीउधनको सुरक्षा हुन सकेको छैन । बर्सेनि हुने त्यस्ता आगलागीका घटनाबाट लाखौँको धनसम्पत्ति नाश हुने गरेको छ भने कतिपय घटनामा मानवीय क्षति पनि व्यहोर्नुपर्ने बाध्यता छ । तर अञ्चलमै एउटा पनि वारुणयन्त्र नहुँदा यस क्षेत्रका बासिन्दामा गुनासो बढ्न थालेको छ ।
विभिन्न कारणले आगलागीका घटना भइहाले पनि त्यसबाट हुने क्षतिलाई कम गर्न सम्बन्धित निकायहरू पनि जिम्मेवार हुनुपर्नेमा नागरिकको जोड छ । “सहरी क्षेत्रमा हुने आगलागीका घटना नियन्त्रण गर्न र धनजनको क्षति हुन नदिन दमकलको आवश्यकता छ”–नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले भन्नुभयो । विकसित सहरहरूमा दमकल अनिवार्य हुनुपर्ने उहाँको भनाइ छ ।
चार जिल्लामध्ये बागलुङ सदरमुकाम रहेको बागलुङ नगरपालिकालाई उदीयमान सहरको रूपमा विकास गर्ने योजना अघि सारिएको छ । त्यस्तै पर्वतको कुस्मा र म्याग्दीको बेनीलाई पनि सरकारले प्रस्तावित नगरपालिकाको रूपमा किटान गरेको छ । उता हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय सहर जोमसोममा पनि आवादी बढिरहेको छ । चारै जिल्लाका सदरमुकामहरू तीव्र सहरीकरणतर्फ उन्मुख भइरहेका बेला दमकलको आवश्यकता महसुस गरिएको हो ।
प्राविधिक रूपमा यस क्षेत्रका सडकहरू साँघुरा भएकाले ठूलो दमकल गुडाउन समस्या हुन सक्ने बताइन्छ । अञ्चलमा नै दमकल नभएपछि बागलुङ नगरपालिका कार्यालयले दमकल भित्र्याउन प्रयास थालेको छ । यहाँको सडकको अवस्थाअनुसार सोही आकारको दमकल ल्याउन पहल गरिएको बागलुङ नगरपालिका कार्यालयले जनाएको छ । दमकल खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेलले बताउनुभयो ।
“सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दमकल खरिदका लागि प्रक्रिया अघि बढाएका छौँ, यसै वर्षभित्र हामी दमकल ल्याउँछौँ”–कँडेलले भन्नुभयो । कँडेलका अनुसार यहाँको सडकको आकार अनुसारको दमकल कम्पनीमा निर्माण गर्नुपर्ने भएकाले सोका लागि पनि पहल भइरहेको छ । अञ्चल सदरमुकामका रूपमा रहेको बागलुङबजारमा भित्र्याइने दमकलले छिमेकी जिल्ला पर्वत र म्याग्दीको सदरमुकाममा समेत छोटो समयमा नै पुगेर उद्धार गर्न सक्ने विश्वास लिइएको छ ।
दुवै सदरमुकाममा पुग्न बागलुङ बजारबाट करिब ३० मिनेट मोटरको यात्रा गर्नुपर्छ । नगरपालिका कार्यालयले मन्त्रालयमार्फत दमकल ल्याउन प्रयास गर्ने र उक्त प्रयास विफल भए आन्तरिक बजेटबाट भए पनि दमकल खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Post a Comment