0

UML-congress

माघ २८ –
 प्रधानमन्त्री निर्वाचीत हुनासाथ काँग्रेस सभापति शुसील कोइरालाले एमाले अध्यक्ष झलनाथ खनालसँग भेटेर भने, ‘खनालजी, म संकटमा परें । मैले पार्टीभित्रकै कसैलाई गृह मन्त्रालय दिने बचन दिइसकेको छु । तपाईहरुलाई गृह दिन नसक्ने भएँ ।’
अध्यक्ष झलनाथले भने, ‘तपाईंहरुको पक्षबाट सहमती तोडिन्छ भने हामी पनि सरकारमा जाँदैनौं । बामदेव गौतमको नाम हामीले गृहका लागि तय गरिसकेका छौं । अब यसमा हेरफेर हुँदैन ।’
खनालसँग कुरा गरेलगत्तै कोइरालाले एमाले संसदीय दलका नेता केपी ओलीलाई भेटेर भने, ‘गृह दिन नसकिने भइयो ।’ ओलीले सन्कीँदै भने, ‘उसो भए एमाले तपाईहरुलाई बोकेर हिँड्दैन । यो सत्ता साझेदारी हो, यसमा भए गरेका सम्झौताको दुबै पक्षबाट पालना हुनुपर्छ भनेर मैले तपाईजस्तो परिपक्व राजनीतिज्ञलाई भनीरहनु पर्छ र ? यदि गृह एमालेको भागमा नपर्ने हो भने हामी सरकारमा पनि जाँदैनौं ।’
खासमा गृहकै कारण एमालेले सभापति शुसील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । दुई दलका नेताहरु काँग्रेसका डा. रामशरण महत र दिपकुमार उपाध्याय तथा एमालेका बामदेव गौतम र विष्णु पौडेलवीच एमालेले सुसीललाई प्रधानमन्त्रीमा सघाउने र एमालेलाई उपप्रधान, गृह र संवीधानसभा अध्यक्ष दिने सहमती भएको थियो । प्रधानमन्त्री हुनासाथ सभापति कोइरालाले यो सहमती ठाडै तोडेपछि एमाले रनभुल्लमा परेको छ ।
स्खलीत भयो, ओलीको बोली
दुई तीन दिनकै राजनीतिक चलखेलपछि एमालेले अचानक काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि सबै चकित परेका थिए । अघिल्लो दिनसम्म पनि एमाले राष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडानमा थियो । संसदीय दलको नेतामा विजयी भएपछि पहिलो पटक बोल्दै केपी ओलीले गोलीजस्तै भाषण गरेका थिए । उनले भनेका थिए, ‘यो संविधानसभाले राष्ट्रपति, उपराष्ट्रपतिलाई चिन्दैन । राष्ट्रपतिको चुनाव हुनैपर्छ । अब त्रिसुलीको पानी गोसाइकुण्ड फर्कीदैन ।’ त्यसको भोलि पल्ट एकाविहानै डल्लूस्थित अध्यक्ष झलनाथ खनाल निवास पुगेर ओलीले जसरी पनि राष्ट्रपतिको चुनाव गर्ने मुद्दालाई प्रमुखताका साथ उठाउनुपर्ने माग गरेका थिए । त्यसक्रममा ओलीले खनालाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । उनीहरुवीच भित्रभित्र यो सहमती भएको थियो । त्यो आश्वासनपछि खनालले ‘राष्ट्रपतिको चुनाव गर्नुपर्छ नत्र एमाले सरकारमा कुनै हालतमा जाँदैन’सम्म भनेका थिए ।
ओलीको बोली पनि एकाएक बेलुन झैं फुट्यो । अघिल्लो दिनको ओलीको त्यो बाघ हुंकार भोलीपल्ट भिजेको मुसाको चिचिलो आवाजमा परिणत भयो । ओलीका ति उत्तेजना सारा स्खलीत भए । अघिल्लो दिन संविधानसभामा ओलीको बोली सुन्दा यीनले नै प्रधानमन्त्री पद पड्काउने हुन की झैं भान परेको थियो । अन्ततः ओली पनि अडान छाड्ने र सत्ताको लोभमा जे पनि गर्नसक्ने नेताका रुपमा दरिन पुगेका छन् । ओलीको बोलीको पनि अब कुनै मूल्य र ओज रहेन ।
गृहको पासोमा एमाले
गृह मन्त्रालय पाउने लोभमा एमाले कुनै सर्त विना नै सरकारमा जाने निर्णयमा पुग्यो । एमाले फेरि एक पटक सत्ताका लागि झुक्यो । आफ्नै बोली र अडानमा चुक्यो । कांग्रेसलाई समर्थन गरेको समाचार बाहिर आएलगत्तै एमालेका युवा नेताहरुले भन्न थालेका छन्, ‘एमालेले गम्भीर गल्ती गरेको छ । एमालेले गहुँतको झोंलमा जातै फाल्यो ।’ राजाको शासनकालमा प्रतिगमन सच्चीयो भन्दै एमाले सरकारमा सहभागी भएजस्तै अहिले पनि पार्टीको अडानलाई लत्याउँदै सम्झौता भएको युवा नेता बताइरहेका छन् ।
सत्ता मोलमोलाईका लागि मुख्य रुपमा तेस्र्याइएको राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्ने माग एमालेले छोडनुको एक मात्र कारण थियो, गृह मन्त्रालयको लोभ । गृहको लोभमा एमालेले काँग्रेसलाई सहयोग त ग¥यो, तर अब गृह पाउन एमालेलाई हम्मे हम्मे परेको छ । प्रधानमन्त्री निर्वाचीत कोइरालाले पूर्व सहमतीलाई उपेक्षा गर्दै एमालेलाई गृह नदिने बताएपछि काँग्रेस र एमालेको सत्ता गठबन्धनमा किचलो सुरु भएको हो । उप्रधान र गृह बामदेवलाई नदिए आफनो दल सरकारमा नजाने एमालेको अडानकै कारण प्रधानमन्त्रीको सपथ सोमबार हुन सकेन । सपथ मंगलवार अपरान्हसम्मका लागि तय गरिएको छ ।
महत भर्सेस् सिटौला
काग्रेस सभापति कोइराला खासमा एमालेलाई गृह दिनसक्ने हैसियतमै छैनन् । विश्वस्त सुत्रका अनुसार एमालेभित्र बामदेवलाई गृहमन्त्री हुन नदिने र काँग्रेसमा डा. रामशरण महतलाई अर्थमन्त्री हनु नदिने शक्तिहरुको चलखेल सुरु भएको हो । काँग्रेसमा कृष्ण सिटौलाले उपप्रधान तथा गृह मन्त्रालयको दावी गर्दै आएका छन् । भारतसँग सम्बध नजिक बनाउन आफैले महामन्त्री बनाएका कृष्ण सिटौलाले भारतले खासै नपत्याएका शुसीललाई प्रधानमन्त्री बनाउन र भारतलाई मनाउन आफूले विशेष भूमिका निर्वाह गरेको बताउँदै आएका छन् । कृष्ण सिटौलालाई गृहमन्त्री नबनाए भारतले ६ महिनामै आफ्नो सरकार ढालीदिने भय सुसीलमा छ ।
उता, शेरबहादुर देउवा वार्ता समितिमा नबसेपछि कोइरालालाई सघाएका डा. रामशरण महतले पनि आफुलाई उपप्रधान तथा अर्थ मन्त्री बनाउनुपर्ने माग राखीसकेका छन् । डा. महत अमेरीकी लवीसँग नजिक छन् भने कृष्ण सिटौला भारतीय लवीसँग । उपप्रधानमन्त्री बन्न सिटौला र महतको रस्साकस्सीलाई दुई शक्तिकेन्द्रहरुको टकरावका रुपमा पनि हेरिएको छ । सिटौलालाई गृह मन्त्री बनाएमा महत अर्थ मन्त्री बन्न पाउनेछैनन । खास लडाई यही हो यसमा भारतको पनि विशेष रुची देखिन्छ । यही कारण सुसीलले गृह एमालेलाई दिन नसकिने बताएका हुन ।
पौडेल र महतको भनाभन
रामचन्द्र पौडेलले त गृह एमालेलाई दिने भनेर सहमती गरेका महतलाई संविधानसभामै झपारेर भने, ‘यो पार्टी तपाईं एक्लैको हो । एमालेलाइ गृह दिने अधिकार तपाईलाई कसले दियो ? आफु अनुकल समीकरण बनाउँदै जाने ? आफुलाई हेरेर सम्झौता गर्दै जाने ? पार्टीको कुनै महत्व छैन ?’ महतले भने, ‘तपाइहरु मिलाउनुस न त एमालेलाई । म पनि हेर्छु एमालेलाई गृह नदिएर तपाईहरु कसरी सुसील दाईलाई सपथ खुवाउनुहुन्छ ? त्यही गृहका कारण एमालेले राष्ट्रपतिको अडान छाड्यो, सहमती भयो । तपाईं खाली भाँड्ने कुरा मात्र गर्नुहुन्छ ।’ केहीबेर महत र पौडेलवीच भनाभन नै भएको प्रत्यक्षदर्शी एक सभासदले बताए ।

Post a Comment

 
Top