नेपालमा रेडियो : के भयो के भएन ?
सुनिल न्यौपाने –
एफएम रेडियोको इतिबृत्तिका बारेमा यसमा चाख राख्ने धेरैलाई थाहा छ । यसले नेपालमा सूचना सम्प्रेशणमा खेलेको उल्लेखनीय भूमिकाका बारेमा जति चर्चा गरेपनि कम हुन्छ ।
हिमाल, पहाड र तराईमा सूचनाका अन्य माध्यम पुग्न कठिन अवस्थामा र पढ्न लेख्न नसक्नेहरुको संख्या धेरै भएको हाम्रो मुलुकमा सूचना र ज्ञानका लागि रेडियो नै सवैभन्दा भरपर्दो माध्यम बन्यो ।
देशका हरेक ठाउँमा राजनीतिक र सामाजिक रुपमा सचेत वर्ग तयार हुनु तथा बहस र छलफलमा दख्खल राख्ने पुस्ता तयार हुनुमा रेडियोको भूमिका सबैभन्दा महत्वपूर्ण छ ।
राजनीतिक चेतना बढाउन मात्रै होइन सामाजिक परिवर्तनका लागि पनि नेपालमा रेडियोले उल्लेखनिय भूमिका खेलेका छन् ।
देशका विभिन्न भागमा महिला, दलित तथा अरु पछाडि पारिएका समुदायको हक, अधिकार स्थापित गराउन, ति समुदायबाट भएका अभियानलाई उकेरा लगाउने काममा ति क्षेत्रका एफएम स्टेशनहरुको उत्तिकै भूमिका छ ।
त्यसैले स्थानीय समुदायले आफ्नो क्षेत्रको एफएम स्टेशनलाई आफ्नो बोलि बोलिदिने माध्यम मात्रै ठानेनन्, आफ्नो नजिकको साथि पनि बनाए ।
त्यहि लोकप्रियताकै कारण हुनुपर्छ नेपालमा तीनसय ५० भन्दा बढी एफएम स्टेशनहरु प्रसारणमा छन्, अरु सयवटा जति अनुमतिपत्र लिएर बसेका छन् । त्यसो भए के नेपालमा एफएमको विकास र विस्तार सही ढंगमा भएको छ ? त्यो पनि होइन ।
कुनै उद्धेश्य र आवश्यक निश्चित पूर्वाधार विना नै एफएम स्टेशनहरु भटाभट खोल्ने प्रतिस्पर्धा यति गलत ढंगले चल्यो कि यसले सवैलाई एउटै खाल्डोमा हाल्ने परिस्थीति निर्माण गरिदिएको छ ।
समयमा तलव नपाएको वा कसैसँग झगडा परेकै कारण कनै एफएम स्टेशनमा काम गर्ने पत्रकार, प्राविधिक वा कर्मचारीले अर्को समुह तयार पारेर एफएम खोल्ने काम गरे । यसले रेडियो जस्तो प्रभावशाली माध्यम व्यक्तिगत रिसईवी साँध्ने वा कसैलाई देखाइदिने माध्यम बन्दै गयो ।
यसले एउटै जिल्लामा प्रतिस्पर्धि एफएम स्टेशनको साटो शत्रु पैदा गर्यो । तिनिहरुले गुणस्तरमा नभइ विज्ञापनको दररेटमा प्रतिस्पर्धा गरे । फलस्वरुप धेरैजसो एफएम स्टेशनहरु अहिले ब्रम्हनालमा सुतेको विरामी जस्ता भएका छन् ।
हिन्दिमा एउटा उखान छ ‘दुरके ढोल सुहावने होते है’ अर्थात टाढा बजेको ढोलको आवाज मुधुर सुनिन्छ । नेपालका धेरैजसो एफएम स्टेशनहरुले लगभग यहि हिन्दि उखानकै प्रतिनिधित्व गरेका छन् ।
केहि औंलामा गन्न सकिने बाहेक धेरैजसो रेडियोका ‘न्यूज रुम’ र प्रविधि सिकारुको हातमा परेको छ । अर्थात कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा हुँदैछ । धेरै एफएम स्टेशनका ‘न्यूज रुम’ मा टेलिफोन समेत हुन्न ।
कुनै थोत्रो र धुलोको लेप लागेको कम्प्युटरमा हरेर कुनै अनलाइनको समाचार हुबहु सार्नु र टेलिभिजनहरुले बेला बेला दिने ब्रेकिङ न्यूज(कतिपय हावादारी नै किन नहुन्) नै तिनिका एकमात्र श्रोत भएका छन् ।
त्यसरी समाचार भट्याइरहने वा प्रविधि कक्षमा काम गर्नेको व्यथा कम चर्को छैन । अघिल्लो महिनाको तलव पाइने आशमा अर्को महिना त्यसै बिताउने समस्या धेरै एफएम स्टेशनहरुमा छ ।
कतिपयमा चाहिं अघिल्लो महिनाको आम्दानी खर्चको हिसाव मिलाउन नसकेर उधारो जिन्दगी बाँचिरहेका संचारकर्मी पछिल्लो महिना पनि प्रयत्नका बाबजुद हिसाब दुरुस्त पार्न सक्दैनन् ।
अर्थात उनीहरु घाटाको जिन्दगी बाँचिरहेका छन् । त्यसैले कतिपय सञ्चारकर्मी बैकल्पिक काममा लागेका छन् भनें कतिपय त्यसको खोजिमा छन् । समग्रमा यो सञ्चार क्षेत्रका लागि गतिलो कुरा हुँदै होइन ।
सामाजिक सुरक्षाको प्रबन्ध सञ्चार क्षेत्रमा भन्दा राम्रो कारखानाहरुमा देखिएको छ । हुन त यो रेडियोको मात्र नभइ समग्र सञ्चार माध्यमको समस्या हो ।
धेरैजसो ठाउँमा आफ्ना कर्मचारीलाई तलब र राज्यले तोकेका अरु सुबिधा नदिए पनि सञ्चार उद्यमीहरु गतिलो जीवन बाँचेका छन् ।
आफ्नो सञ्चार माध्यमले नियुक्ति पत्र र आवश्यक कागजात नदिएकै कारण कतिपय पत्रकारहरुले सूचना विभागले उपलव्ध गराउने परिचय पत्र समेत बनाउन पाएका छैनन् । अर्थात सञ्चार माध्यमहरु र अझ एफएम स्टेशनहरु जसरी चल्नु पर्थ्यो, त्यसरी चलेनन् ।
नतिजा दक्ष जनशक्तिको अभाव हुँदै गएको छ । रेडियोमा नै आफ्नो ‘करिअर’ बनाउने उद्धेश्यका साथ आउने युवा जनशक्तिको खडेरी पर्न थालेको छ । त्यसैले नेपालका एफएम रेडियोहरुले जुन गतिमा लोकप्रियता कमाएका थिए, त्यसको क्षयिकरण त्यहि गतिमा हुने खतरा टड्कारो रुपमा देखिएको छ ।
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा ठूलो योगदान गरेका र केन्द्र तथा स्थानिय तहलाई जोड्ने सेतुको काम गर्न सफल भएका एफएम रेडियोका सञ्चालकहरु र तिनमा कार्यरतहरुले आफनो दायित्व र भूमिकाका बारेमा गम्भीर आत्म समिक्षा गर्ने समय आएको छ ।
समयले कि त सुधारको माग गर्छ कि शुद्धिकरणको ।
एफएम रेडियोका सामु पनि यहि दुई विकल्प तेर्सिएका छन् । रहरले सुरु गरेका कतिपय रेडियो बन्द हुन थाल्नु यसैको संकेत हो ।
समयक्रमसँगै अझ बलियो हुँदै जानु पर्ने एफएम रेडियो स्टेशनहरु कमजोर हुनु कसैका लागि पनि सकारात्मक होइन । त्यसैले यसमा गम्भीर रुपमा बहस हुनु आवश्यक छ ।
Post a Comment