एकसय पैँसट्ठी उम्मेदवारलाई स्पष्टीकरण पत्र
१६ फागुन
निर्वाचन खर्च विवरण नबुझाउने सप्तरीको १६५ जना संंविधानसभाका उम्मेद्वारलाई सफाइ पेस गर्न १५ दिने स्पष्टीकरणपत्र बुझाउन सुरु गरिएको छ ।
निर्वाचन आयोगले पठाएको परिपत्रअनुसार जिल्ला निर्वाचन कार्यालयले खर्च विवरण नबुझाउने १६५ उम्मेद्वारलाई सफाइ पेस गर्न १५ दिने स्पष्टीकरणपत्र पठाउन आजबाट सुरु गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी प्रदीप साहले आयोगको परिपत्रअनुसार खर्च विवरण पेस नगर्ने संंविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ उम्मेद्वारलाई पत्र पठाउन लागिएको जानकारी दिनुभयो । संंविधानसभाका उम्मेद्वारहरुले निर्वाचन परिणाम आएको ३५ दिनभित्र निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधान निर्वाचन आचारसंहितामा छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्कमा स्वतन्त्र ३८ सहित ६० राजनीतिक दलका गरी २५० उम्मेदवारमध्ये अहिलेसम्म ८५ उम्मेद्वारले मात्र खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन अधिकारी साहका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये ७६ जनाले तोकिएको म्यादभित्र र नौजना उम्मेद्वारले पछिबाट खर्च विवरण पेस गरेका छन् । खर्च बुझाएका उम्मेद्वारले रु १० लाखभन्दा बढी खर्च गर्न नपाउने प्रावधानअनुरुप खर्चको विवरण बुझाएका छन् ।
खर्च विवरण पेस नगर्नेमा पूर्व मन्त्रीहरु रेणु यादव, हेमराज तातेड, विजयी सभासद् तेजुलाल चौधरी, पूर्व सभासद्हरु महेशप्रसाद यादव, डा. लक्ष्मीनारायण चौधरी, सरस्वती चौधरी, नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकासकुमार तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीका अध्यक्ष उम्देश्वरप्रसाद साहलगायत साना दलका उम्मेदवारहरु छन् ।
निर्वाचन अधिकारी साहले उम्मेदवारहरुसँग सम्पर्क गर्दा कतिपय उम्मेद्वारले यसबारेमा जानकारी नभएर नबुझाएको बताएको र केहीले पराजीत भएपछि बुझाउनु पर्दैन भन्दै बेवास्ता गरेको पाइएको जानकारी दिनुभयो ।
निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजविराजमा हालै आयोजित एक कार्यक्रममा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि मुलुकभरिका करिब ५३ प्रतिशत उम्मेद्वारले अझै खर्च विवरण नबुझाएको जानकारी दिनुभएको थियो ।
खर्च विवरण नबुझाउने उम्मेद्वारलाई आगामी स्थानीय निकायको निर्वाचनमा उम्मेद्वार हुनबाट रोक लगाउन सकिने आयोगले चेतावनी दिँदै आएको छ ।
Post a Comment