0
युवाशक्ति विदेसिने क्रम बढेपछि श्रमिकको अभाव
 २७ माघ


गरिबी र विपन्नतालाई छल्न राम्रो आयआर्जनका लागि विपन्न तथा निम्नमध्यम समुदायबाट विदेसिने क्रम बढेपछि महोत्तरी जिल्लामा श्रमिकको अभाव हुन थालेको छ ।
 
जिल्ला एवम् स्वदेशमा गरेको परिश्रमले केही गर्न नसकिने तथा यहाँ हुने कमाइको तुलनामा विदेशमा राम्रो आम्दानी गर्न सकिने भन्दै हजारौँको सङ्ख्यामा महोत्तरीबाट श्रमिकहरु विदेश जान थालेपछि जिल्लामा विभिन्न निर्माण तथा कृषि उत्पादन कार्यमा श्रमिक वर्गको अभाव हुन थालेको हो ।
 
अहिले जिल्लाको ७६ वटा गाविस र एक नगरपालिकाबाट ४५ हजारभन्दा बढी युवा विदेश गइसकेको र दैनिक सयौँ युवा अझै विदेश पलायन भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीको भनाइ छ ।
 
युवा शक्तिको बढ्दो विदेश पलायनका कारण अहिले महोत्तरीका विभिन्न गाविसमा महिला, अधबैँसे तथा बालबालिकाले दैनिक कामकाजका साथै मजदुरीसमेत गरिरहेको हेर्न पाइन्छ । 
 
महोत्तरीकोे बथनाहा गाविस–६ का राधाकृष्ण झा किशोर अवस्था हुनेबित्तिकै परिवारका अभिभावकहरुले आफ्ना बच्चाहरुलाई विदेश पठाउने प्रचलन यहाँ बढ्दै गएको भन्नुहुँदै गाउँघरको निर्माण तथा उत्पादन कार्यमा महिला तथा अधबैँसेलाई श्रमिकका रुपमा खटाउन थालिएको  बताउनुभयो ।
 
वैदेशिक रोजगारीमा पठाउन उमेरले १४÷१५ वर्ष पुग्नेबित्तिकै आफ्ना किशोर अवस्थाका छोराहरुलाई लिएर १६ वर्ष पुग्यो भनेर तिनका अभिभावकहरु उनीहरुको नागरिकता बनाउन सिफारिस लिन आउने गरेका महोत्तरीका अधिकांश गाविस सचिवको भनाइ छ । 
 
वैदेशिक रोजगारतर्फ युवाको आकर्षण बढ्दै गएका कारण जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अहिले पासपोर्ट बनाउन दिनहुँ सयाँै युवाको भीड लाग्ने गरेको छ  । 
 
जिल्लाका बुद्धिजीवी एवम् नागरिक समाजका आगुवाले यसले एकातिर वैदेशिक सम्पत्ति  रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको छ भने अर्काेतिर स्थानीय स्रोत र श्रम परिचालनमा युवाशक्तिको अभाव पनि खट्किएको बताउँछन् ।
 
जिल्लामा रहेका गैरसरकारी संस्था शान्तिका लागि युवा सञ्जाल महोत्तरीका अध्यक्ष सुरेश ठाकुर जिल्लाबाट युवाशक्ति पलायन हुन नदिन राज्यले रोजगारको अवसरका साथै ठोस नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुहुन्छ । 
 
त्यस्तै उद्योग वाणिज्य सङ्घ जलेश्वरका अध्यक्ष कृपाशङ्कर साहले अहिले विप्रेषणका लागि वैदेशिक रोजगारीमा जाने युवाको क्रम बढेको हेर्दा भोलिको दिनमा महोत्तरीमा कुनै पनि कामका लागि मजदुर भेट्न नसकिने अवस्था आउन सक्ने बताउनुभयो । सरकारले देशभित्रै ठूल्ठूला कम्पनी, उद्योग कलकारखाना निर्माण गरेर रोजगारीको अवसर र राम्रो आम्दानीको बाटो खोल्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

Post a Comment

 
Top