0
सबस्टेसन प्रभावितलाई करिब तीन करोड मुआब्जा वितरण गरिने
१२ फागुन
म्याग्दीको दानामा निर्माण हुन लागेको विद्युत् सबस्टेसन प्रभावित जग्गा धनीहरूलाई करिब तीन करोड रुपैयाँ मुआब्जा वितरण गरिने भएको छ । 
 
जिल्ला मुआब्जा निर्धारण समितिको आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबस्टेसन निर्माणका लागि जग्गा अधिकरण गर्न दुई करोड ७२ लाख रुपैयाँ बराबरको मुआब्जा र क्षतिपूर्ति वितरण गर्ने निर्णय गरेको हो ।  
 
समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले ४७ रोपनी निजी जग्गाधनीलाई करिब दुई करोड ५३ लाख रुपैयाँ मुआब्जा वितरण गर्ने निर्णय गरेको छ । 
 
त्यसैगरी पुस्तौँअघि देखि भोगचलन गर्दै आए पनि दर्ता नभएको ५१ रोपनी जग्गाको धनीहरूलाई १९ लाख रुपैयाँ क्षतिपूर्ति दिन नेपाल विद्युत् प्राधिकरणलाई सिफारिस गरेको समितिले जनाएको छ । २०७० साल जेठमा जग्गा अधिकरणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया सुरु गरेको थियो । दर्ता नभएका जग्गाधनीहरूले पुस्ताँैदेखि उपभोग गर्दै आएको आधारमा मुआब्जा पाउनुपर्ने दाबी गरेपछि रोकिएको मुआब्जा वितरण प्रक्रिया यो निर्णयसँगै अघि बढ्ने भएको छ ।  सबैभन्दा बढी प्रतिरोपनी आठ लाख ५० हजारदेखि न्यूनतम एक लाख ५० हजार रुपैयाँका दरले जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण गरिने प्रजिअ कार्कीले बताउनुभयो । 
 
उहाँका अनुसार दर्ता नगरी जग्गा उपभोग गर्दै आएकाहरूलाई क्षतिपूर्तिबापत प्रतिरोपनी ३७ हजार ५०० रुपैयाँका दरले रकम उपलब्ध गराउन सिफारिस भएको छ । १३ कित्ता निजी र १७ कित्ता सार्वजनिक जग्गा सबस्टेसनले अधिकरण गर्ने भएको हो । मालपोत, नापी, जिविस, प्रशासन र विद्युत् प्राधिकरणको संयुक्त टोलीले स्थलगत अनुगमन गरेपछि चलनचल्तीको दर तथा स्थानीयवासीको मागलाई सम्बोधन हुने गरी मुआब्जा दररेट निर्धारण गरिएको दाना सबस्टेसन आयोजनाका प्रमुख राष्ट्रभक्त प्रधानले बताउनुभयो । 
 
दाना गाविस–७ मा कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनको विद्युत् सबस्टेसन निर्माण गर्न लागिएको हो । म्याग्दीको उत्तरी क्षेत्रका साथै छिमेकी मुस्ताङ जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय लाइनमा जोड्नका लागि आगामी २०७४ सालसम्ममा सबस्टेसन निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । 

Post a Comment

 
Top