हटेन किशोरी आमा बन्ने संस्कार
कर्णाली अञ्चलमा अहिले पनि किशोरी आमा बन्ने संस्कार हट्न सकेको छैन ।
सदरमुकाम खलङ्गामा कम उमेरमा विवाह गर्नेभन्दा सदरमुकाम बाहिरका चौधबीस, सिंजा र ५०० भेकमा यो सङ्ख्यात्मक रूपमा बढी भएको पाइएको छ ।
विभिन्न प्रतिवेदनले देखाएको तथ्याङ्कअनुसार शिक्षितभन्दा अशिक्षित परिवार, त्यसमा पनि खस क्षेत्रीमा भन्दा कन्यादान गर्ने संस्कारका रूपमा ब्राह्मण जातिमा र गरिबी एवम् चेतना अभावका दृष्टिले दलित जातिका परिवारमा किशोरी अवस्थामा विवाह हुने गरेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका अनुसार यहाँ किशोरी आमा बन्ने प्रवृत्तिमा त्यति कमी आएको छैन । शैक्षिक अनुगमनमा जाँदा जिल्लाका अधिकांश विद्यालयमा कक्षा ६ मा पढ्ने १२ वर्षदेखिका किशोरीले विवाह गरेको र १५÷१६ वर्षको उमेरमा बच्चा जन्माइसकेका पाइने गरेको प्रधानाध्यापकहरू बताउँछन् ।
कालिका माध्यमिक विद्यालय ताम्ती–८ टोप्ला जुम्लाका प्रधानाध्यापक मानबहादुर शाहीले अधिकांश विद्यार्थी घरायसी कामका कारण अनियमित हुने गरेको र त्यसमा पनि छात्राहरू बढी अनुपस्थित हँुदै आएको बताउनुभयो ।
प्रधानाध्यापक शाहीका अनुसार किशोरीले विवाह गरिसकेपछि पढ्न आउने र स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रगति पनि राम्रो गर्न नसकेर फेरि बीचैमा छाड्ने गर्दछन् ।
कुडारी–४ जुम्लामा जन्मेकी कल्पना सुनारले १३ वर्षको उमेरमा हाँकु गाविस जुम्लामा विवाह गरेर १६ वर्षमै बच्चा जन्माएकी छन् । सानो उमेरमा विवाह गर्दा आमा बन्न पुगेकी उनको स्वास्थ्य स्थिति पनि त्यति राम्रो छैन र पढाइ पनि सदाका लागि छुटिसकेको छ ।
कल्पना एउटा उदाहरण पात्र मात्र हुन् । विद्यालयमा पढ्ने वा नपढ्ने अधिकांश किशोरीहरू आमा बनिसकेका छन् । यसले एकातिर जनसङ्ख्या वृद्धिमा तीव्रता ल्याउने देखिन्छ भने अर्कोतिर भोक, रोग, गरिबी र अनियन्त्रित जनसङ्ख्या वृद्धिले प्रश्रय पाउँछ ।
यसको नियन्त्रण तथा यथोचित व्यवस्थापनका लागि सरोकारवाला निकाय तथा नेपाल सरकारले समयमै ध्यान पु¥याउन आवश्यक छ ।
Post a Comment