एसियामै बढी प्रजातिका चरा पाइने कोसीटप्पु वन्यजन्तु आरक्षका चराचुरुङ्गी सङ्कटमा
एसियाकै सबैभन्दा बढी प्रजातिको चराचुरुङ्गी रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा बढ्दो चोरी शिकारी, आहारको कमी र आवश्यक वासस्थानको आभावमा चराचुरुङ्गी सङ्कटमा परेका छन् ।
चराको मुख्य बासस्थानको रुपमा रहेका रुखहरु सुक्दै जानु, आरक्षभित्र आहारको कमी हुनु र चरिचरणका लागि आरक्षबाट बाहिर निस्केका बेला चोरी सिकारी हुने गरेका कारण चराचुरुङ्गी सङ्कटमा परेको हो । जाडोयामसँगै साइबेरियन, राजस्थानी र हिमालीयन चराहरु बढी सङ्ख्यामा यस आरक्षमा आउने गर्दछन् ।
विसं २०३२ मा स्थापना भएको कोसीटप्पु वनजन्तु आरक्षमा करिब एक वर्षअघि गरेको गणनाअनुसार ४९५ प्रजातिका चरा रहेका छन् । जसमा एसियामै अतिदुर्लभ मानिएको ३३ प्रजातिका चराहरु यस आरक्षमा रहेको आरक्षका संरक्षण अधिकृत गंगाराम सिंह बताउनुहुन्छ ।
मुलुकै ठूलो आरक्ष रहेको कोसीटप्पु वनजन्तु आरक्षमा यसवर्ष चराका प्रजातिहरु बढी हुने अनुमान गरिएको छ । यसवर्ष पनि चराको गणना कार्य सकिएको र त्यसको प्रतिवेदन आउन बाँकी रहेको आरक्षका संरक्षण अधिकृत सिंहको कथन छ ।
आरक्षमा बर्सेनि चराका प्रजातिहरु भेट्ने क्रम बढेपनि चराहरुको प्रमुख वासस्थानको रुपमा रहेका रुखहरु सुक्न थाल्नु र चराहरु चोरी शिकारी गर्ने प्रवृति बढ्नुजस्ता कारणले चराहरुको सङ्ख्या घट्दै गएको सिंह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘एकातिर सिमल, सिसाँै, खयरजस्ता जातिका रुखहरु सुक्न थालेका कारण चराहरुलाई वासस्थानको आभाव हुनु र अर्काेतिर धान, गहुँु खेतीमा चरिचरणमा गएकाले चराहरु मार्ने कारणले आरक्षका चराहरु सखाप हुँदै गएका छन् ।”
कुनै बेला आरक्षमा बढी पाइने गिद्ध, बकुल्लालगायतका चराहरु सिमलका रुखहरु सुक्न थालेकाले अचेल थोरै सङ्ख्यामा मात्र ती चराहरु पाउन थालेको आरक्षका सहायक संरक्षण अधिकृत झौलाई चौधरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘मानव सभ्यता र कृषि अस्तित्वका लागि सिमसार र चराचुरुङ्गीको महत्वबारे थाहा नहुँदा चरणमा गएका बेला चराहरु मार्ने क्रम बढेका कारण चराहरुको अस्तित्व सङ्कटमा परेको छ ।”
चराचुरुङ्गीको संरक्षणका लागि आरक्षले समय–समयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि त्यसको खासै प्रभाव मानव समाजसम्म पुग्न नसक्नु र आहारको खोजीमा आरक्षबाट बाहिर निष्केको बेला आफ्नो स्वार्थपूर्तिका लागि चराचुरुङ्गीलाई मार्ने गरेकाले चराको सङ्ख्या घट्दै गएको चौधरीको कथन छ ।
सन् १९८६ मा विश्व सिमसारको सूचीमा सूचीकृत भएको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराचुरुङ्गीको प्रजाति बढी भएकाले जीव विज्ञानबारे अध्ययन अनुसन्धानका लागि वर्षेनी पर्यटकहरु आरक्षमा आउने गरेको संरक्षण अधिकृत सिंहको कथन छ ।
चराचुरुङ्गीको अध्ययनका लागि आरक्ष एउटा विश्वविद्यालय हो, संरक्षण अधिकृत सिंह भन्नुहुन्छ–‘‘संस्कृति समृद्ध बनाउन र मानव तथा कृषि अस्तित्वका दृष्टिकोणले सिमसारको संरक्षण आवश्यक छ ।”
चराचुरुङ्गीको उचित संरक्षण सम्बद्र्धनले मात्र सिमसारको संरक्षण हुनसक्ने भएकाले चराचुङ्गीको विनासभन्दा संरक्षणमा सबैले ध्यान दिनु जरुरी रहेको सिंहको बुझाई छ ।
सीमित स्रोत साधन र अवैधरुपमा गाईभैँसीको आरक्षभित्र भएको प्रवेशले थप समस्या सिर्जना गरेको कोसीटप्पु वनजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव बताउनुहुन्छ ।
आरक्षभित्र स्वदेशी तथा भारतीय गाईभैँसी लामो समयदेखि आरक्षभित्र रहेका कारण पनि चराचुरुङ्गीलाई समस्या भएको छ, अध्यक्ष यादव भन्नुहुन्छ–‘‘बाहिरबाट आरक्षभित्र छिरेका गाईवस्तुहरु आरक्षमा रहेको आहारहरु खाइदिने र कलिला रुखहरुसमेत नष्ट पार्ने गरेका कारण चराचुरुङ्गी मात्र समस्यामा परेको छैन्, आरक्षका हात्ती, अर्ना, बँदेललगायतका जीवहरु आहारको खोजीमा आरक्षबाट बाहिरिने गरेका छन् ।”
समयमै सरकार र सम्बन्धित निकायले आरक्षको समस्याबारे ध्यान पु¥याएर आरक्षका चराचुङ्गीको संरक्षणका लागि विशेष पहल गर्नु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

Post a Comment