दाइजोकै कारण बढ्दैछ महिला हिंसा
१ फागुन
सिरहाको बस्तीपुर गाविस–८ की १८ वर्षीया यशोदा यादवको दुई वर्षअघि माइतीले अढाइ लाख रुपैयाँ दहेज दिएर विवाह गरिदिएका थिए । विवाह भएको ६ महिनासम्म राम्रै गरे पनि त्यसपछि थप दाइजो माग गर्दै एक÷एक हप्तासम्म भोकभोकै राखेर शारीरिक तथा मानसिक यातना दिन थालेपछि यादव अहिले माइतीमै बसिरहनुभएको छ ।
गाउँमा पटकपटक भएका छलफलहरुमा मिलापत्र भए पनि घरमा पुगेपछि फेरि यातना र दुव्र्यवहारको क्रम नरोकिएपछि माइतीमा बसिरहेको यादवले बताउनुभयो । घरमा सगोलमा रहेको करिब सात बिघा जग्गामा आफ्नो पनि हिस्सा लाग्ने भएकाले विवाह दर्ताको आधारमा हिस्सा माग गर्दा यातना दिँदै घर निकाला गरेको यादवको भनाइ छ ।
त्यसैगरी अनेक दुःखकष्ट झेलेर छोरालाई वैदेशिक रोजगारीमा पठाउनुभएकी विष्णुपुरकट्टी–९ की सुनिता महतोले भन्नुभयो– “पतिले अर्की पनि ल्याएका छैनन्, दुई छोराछोरीको समेत बेवास्ता गरेपछि बाध्य भएर लहानमा रहेको माइतीमा आश्रय लिएर बसिरहेकी छु ।” करिब १२ वर्षअघि पतिले नै घर निकाला गरेपछि लहान बजारमा खुद्रा व्यापार गरेर बचत गरेको रकममा छोराले कमाएर पठाएको रकममा थप्दै तीन धुर घडेरी जोडेको महतोले बताउनुभयो ।
पतिका रुपमा आफूले पाउनुपर्ने जग्गा दिनुपर्छ भनेर पतिले अर्कैको नाउँमा जग्गा सारिदिएको महतोको गुनासो छ । यादव र महतो मात्र होइनन्, सिरहाकै भदैया–५ की अम्बिका महतोले छोरालाई जन्माएपछि पनि ‘माइतीबाट मोटरसाइकल ले’ भन्दै लहान–२ का घरमा सासू, ससुरा र स्वयम् पतिले पनि कुटपिटसहित मार्न नै खोजेपछि माइतीमा नै गएर बसिरहेको सुनाउनुभयो ।
अदालतमा अंशबन्डाको मुद्दाको छिनोफानो भएपछि छोरा र आफूले पाएको आठ कट्ठा जग्गाको उब्जनीले जीविका चलाइरहेको महतोले बताउनुभयो । “मेरो छोरो नदिए अपहरण गर्छु भन्दै सम्बन्ध विच्छेद गरिसकेका पति प्रमोद महतोले सधैँ धम्क्याउँछन्”–महतोले भन्नुभयो ।
त्यस्तै पीडा पोख्नुभयो अयोध्यानगर–१ कसहाकी १६ वर्षीया सविता महतोले पनि । उहाँले विवाह भएको सात महिनासम्म पति र घरका अन्य सदस्यले राम्रै गरे पनि दाजु वैदेशिक रोजगारीमा गएलगत्तै पति आफ्नी भाउजूसँग नजिकिएपछि आफूमाथि उत्पीडन सुरु भएकोे बताउनुभयो । “दहेज नल्याए राख्दिनँ भन्दै कैयौँ दिनसम्म भोकभोकै राखेर कुटपिट गरे, सहेरै बसेको थिएँ”–महतोले भन्नुभयो– “विवाह दर्ता र नागरिकताको कुरा गर्न थालेपछि घर निकाला नै गरे, त्यसपछि माइतीमै बस्दै आएकी छु ।”
लहान–९ माइती भएकी १९ वर्षीया शर्मिला मुखियाले आफूमाथिको उत्पीडन अन्य महिलाको तुलनामा केही भिन्न रहेको उल्लेख गर्नुभयो । गाउँमै प्रेमविवाह गर्नुभएकी मुखियाले पति किशोरी चौधरीविरुद्ध १४ वटा मुद्दा हालेकी छन् । प्रेमविवाह गरे पनि पतिले फेरि अर्कै विवाह गरेपछि बहुविवाहसहित अंश, नाता प्रमाणित, मानाचामल भराउनेलगायत १४ वटा मुद्दा हालेको मुखियाले बताउनुभयो ।
चार वर्षकै उमेरमा मुटुमा प्वाल परेको छोराको उपचारका लागि माइती पक्षले जसरी सहयोग गरे, आफ्नै पतिले सोधखोजसमेत नगरेको धनगढी गाविस–२ जिरोमाइलकी राधा लामाको गुनासो छ । लामाका अनुसार २०६० साल वैशाखमा सुमित लामासँग मागीविवाह गरेकी राधाले दुई वर्षपछि नै घरपरिवार, पतिको दुव्र्यवहार र यातना सहनुप¥यो । दुव्र्यवहार र यातनासँगै कान्छी पत्नी भित्र्याएपछि दुई छोराछोरीसहित माइतीकै आश्रय लिएर अंश दाबीको मागसहित जिल्ला अदालतमा मुद्दा लडिरहेको लामाले सुनाउनुभयो ।
सिरहाका विभिन्न ठाउँमा स्वयम् पति र घरपरिवारका सदस्यहरुको शारीरिक तथा मानसिक यातना सहन नसकेपछि धेरै महिला आफन्तकहाँ आश्रय लिएर जीविका चलाइरहेका छन् ।
महिला अधिकारको क्षेत्रका कार्यरत ओरेक नेपालको तथ्याङ्कअनुसार जिल्लामा सन् २०१३ मा भएका महिला हिंसामध्ये दाइजोका कारणले ८५ प्रतिशत घटना भएका छन् । ओरेकका अनुसार दाइजोका कारण घरेलु हिंसा ४५, हत्या तीन, हत्या प्रयास तीन, कुटपिट २४, मानसिक यातना सात, शारीरिक यातना एक र गालीगलौजका घटना दुई प्रतिशत भएका छन् ।
मुक्ति नेपालकी अध्यक्ष श्याम साहका अनुसार घरेलु हिंसाविरुद्ध ऐन बनेपनि पछिल्लो पाँच वर्षको अवधिमा जिल्ला अदालतमा २१ वटा मुद्दा मात्र दर्ता भएका छन् । ती मुद्दामध्ये चार वादीले जितेको, नौ हारेको र आठवटा मुद्दा विचाराधीन रहेका छन् । स्थानीय राजनीतिक दबाब, पीडितलाई आर्थिक प्रलोभन र सामाजिक सांस्कृतिक दबाबका कारणले न्यायमा महिलाको पहुंँच हुन नसकेको साहको कथन छ ।
घरेलु हिंसा ऐन बनेर लागू भएको भनिए पनि ऐनको विषयमा पर्याप्त जानकारी नहुनु र जानकारी भएकाहरुले कानुनअनुरुप उजुरी लिएर जाँदा स्थानीय प्रहरीले असहयोगी व्यवहार गर्दा हिंसामा परेका महिला झन् अन्यायमा परेको महिला अगुवाहरु बताउँछन् ।
सामाजिक सम्बन्धको रुपमा लिइने विवाहलाई व्यवस्थित गर्न लागू भएको सामाजिक सुधार ऐन २०३३ को विषयमा त ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुलाई जानकारी नै नभएको महिला अभियानकर्मी आशा विश्वकर्माले बताउनुभयो ।
विसं. २०३३ कात्तिक ४ गते लालमोहर लागेको दिनदेखि नै लागू भएको ऐनमा विवाहमा दिइने दाइजो तथा तिलक, विवाहमा लैजाने जन्ती सङख्या, विवाह भोजमा गरिने खर्चमा नियन्त्रण गर्नका लागि दण्डसजाय, उजुरी दिने निकाय र उजुरी सुन्ने निकायको स्पष्ट व्यवस्था गरिएको छ तर विवाहमा पर्याप्त दाइजो नल्याएको भन्दै महिलाहरु घर निकाला भएका मात्र छैनन्, शारीरिक तथा मानसिक यातनाको सिकारसमेत भएका छन् र कतिपय ठाउँमा त हत्या पनि गरिएका छन् ।
तराई मधेसमा त्यसको सङ्ख्या बढिरहेको छ । हिम्मत गर्नेहरुले त अदालतसम्म पुगेरै भए पनि कानुनी लडाइँ लडेका छन् तर नसक्नेहरु आफूमाथि भएको अन्यायको विषयमा साथीसँगीलाई सुनाउनेबाहेक केही गर्न सकेका छैनन् ।
Post a Comment