0

बलरामलाई दशा लागेपछि...


 महानगरीय प्रहरी परिसर काठमाडौंमा भएको एक घटनाले 'स्याललाई काल आए शहर पस्छ' भन्ने उखानलाई रिमेक गर्दै 'बलेलाई दशा लागे प्रहरी कार्यालय पुग्छ' भन्ने बनाइदिएको छ।

काठमाडौंका क्यसिनोका सबैभन्दा ठुलो विचौलियाका रुपमा चिनिएका बलराम सापकोटा उर्फ बलेले गरेको व्यवहारले उखाननै रिमेक भएको हो। आखिर के गरे बलेले त्यस्तो?
क्यासिनोमा जुवा खेल्न जाने जुवाडेहरुलाई ऋण दिएर १ लाखको दैनिक २० हजार व्याज असुलेर घरवारै लिलाम गराएर कहलिएका बलराम उर्फ बले सरासर महानगरीय प्रहरी परिसर काठमाडौं गए।
काठमाडौंको प्रहरी काठमाडौंका चलेका गुन्डा र क्यासिनोका विचौलियाको सूची बनाएर पक्राउ गर्ने रणनीति बनाइरहेको थियो। त्यो सूचीमा बलराम छुट्ने प्रश्नै भएन। उनी हिट लिष्टमै थिए। तर, पछिल्लो समय नेपालमा भन्दा पनि गोवातिर बराल्लीन थालेका उनी फेला पर्ने हुन् या हैनन भन्ने चिन्तामा थियो प्रहरी।
काठमाडौंका प्रहरी प्रमुख रमेश खरेल आफ्नै कार्यकक्षमा थिए। एक ब्यक्ति दाई नमस्ते भन्दै उनको कार्यकक्षमा छिरेपछि खरेल चकित परे। उनी थिए उही बलराम सापकोटा उर्फ बले।
खरेललाई भेटेर काम कुरा मिलाउँला भन्ने योजना सहित गएका उनी उल्टो खरेलको फन्दामा पो परे। खरेलले …ए यसलाई समातेर थुन' भनेपछि उनी झसंग भए। खरेलको आदेश सुनेर उनको कार्यकक्ष बाहिर बसेका प्रहरीले बलेलाई नियन्त्रणमा लिइहाले। अनी पूर्‍याए हनुमानढोकाको भुई तलामा रहेको चिसो खोरमा।
बलेको बबाल
काभ्रेको सामान्य परिवारका सदस्य बलेको अहिलेको परिचय हो नवधनाढ्य बलराम। सामान्य आर्थिक पृष्ठभुमीका उनलाई नयाँ परिचय क्यासिनोले दिलाएको हो। क्यासिनोमा नेपालीलाई फकाएर जुवा खेल्न लैजाने अनी साथमा भएको पैसा हारेपछि उसको साथमा रहेको सुनका गहना, सवारीसाधन बन्धकी राखेर ऋण दिने। तत्काल हात पर्ने केही सामान नभए घरको लालपूर्जा राखेर ऋण दिने। व्याजको रेट १ लाख आइसीको प्रतिदिन २० हजार।
जानकारका अनुसार वकिल उनको नियमित सम्पर्कमै हुन्छन्। जतिबेला फोन गरे पनि कागज बनाउन हाजिर भइहाल्छन्। पैसा उठाउन समस्या परे केटाहरु छँदैछन्। पहिला–पहिला लेनदेनको कागज बन्थ्यो। लेनदेनको कागज गराउँदा उठाउन समस्या पर्ने भएकाले सकेसम्म बैदेशिक रोजगारीका लैजाने भनेर पैसा लिएको बनाउँने। एक महिनाको भाका राख्ने।
क्यासिनोमा पैसा हारेर टाट पल्टेकाहरुले पैसा फर्काउने सम्भावना के हुन्थ्यो र। त्यसपछि करोडौंको सम्पत्ति लाखको भरमा कब्जा गर्ने। सहयोगका लागी आसेपासे टन्नेहुने भएकाले ज्यान जोखिममा पर्ने भयले ऋणीहरु कंकालहुँदै आएका थिए।
क्यासिनो केन्द्रित यो लुटको खेलमा बलेझै दर्जनौं सक्रिय छन्। उनीहरु आ–आफ्नो प्रभाव भएको क्यासिनो कब्जा गरेर मुर्गाको खोजीमा बस्छन्। बलरामको उन्नतीको प्रारम्भ गर्ने क्यासिनो अन्ना थियो। त्यसलाई मलजल गर्‍यो क्यासिनो रोयलले।
काभ्रेकै अर्का डन गणेश लामाको संगतपछि त उनले प्रगतीको रफ्तार कसैले रोक्ने कुरे भएन। कुनै समयका ड्राइभर आफ्नो विहेको जन्ती हेलिकोप्टरमा लिएर जाने हैसियतमा पुगे। अबौं सम्पत्तिको मालिक भए।
उनको आर्थिक उन्नतीसँगै संगत पनि बढ्यो। हिजो उनले नमस्ते गर्ने प्रहरी अधिकारीहरु अब बलेलाई देखेपछि आफैं जुम्ला हात गर्ने भए। वरिष्ठ प्रहरीलाई समेत पछि लगाउनसक्ने हैसियत बनाएका उनी शुक्रवार भने चुके। खरेललाई पनि प्रभावमा पारिहाल्छु भनेर भेट्न पुगेका विचरा आखिर चिसो छिँडिमा पुगे। 

Post a Comment

 
Top