0
 


  • श्रवण कुमार
ramtapeshworमन्दिरको मुर्ति बेच्नेदेखि लिएर गुठीको जमिन बेच्नेसम्मको काममा संलग्न जानकी मन्दिरका महन्त रामतपेश्वर दास (वैष्णव) गुठी संस्थानले हटाएर जगदीश दासलाई राखेपछि जनकपुरमा द्वन्द्व उत्पन्न भएको छ । र, सो द्वन्द्वले बिस्तारै राजनीतिक रुप लिँदै गएको छ । जगदिशलाई नियुक्ति गरेदेखि पटक पटक गुठी सस्थानमा झडप हुँदै आएका छन् भने विहिवार त्यहाँका गुठी संस्थान प्रमुख दीपक पाण्डेलाई कालोमोसो दलेको छ ।
मन्दिरका महन्तमा पाँचवर्षका लागि नियुक्त गरेपनि रामतपेश्वर १२ वर्षदेखि त्यहाँ डेरा जमाएर बसेका छन् । २०५३ साउन २७ गते पूर्व महन्त रामशरण दासको उत्तराधिकारी बनेका रामतपेश्वरको एकपटक पनि म्याद थप भएको छैन । न त उनले आफ्नो नियुक्तिपत्रको म्याद थप्न लगाएका छन् न अर्को नियुक्त लिन गुठी संस्थान गएका छन् ।
गुठी संस्थानले कुनै पनि मठ–मन्दिरको महन्तलाई एक पटकमा पाँच वर्षको लागि मात्र नियुक्त गर्ने र पाँच वर्षपछि म्याद थप नगरेको भए उसको पद स्वतः अवैध हुने गुठी संस्थान ऐन २०३३ को दफा १६ ले व्यवस्था गरेको छ । तर, सरकारले गुठीको ऐन कानुनअनुसार उनलाई हटाएपछि अहिले उनीबाट फाइदा लिएका नेता, कार्यकर्ता तथा बुद्धिजिविहरु आन्दोलन शुरु गरेका छन् । उनीहरुले भनिरहेका छन्, यो परम्पराको मान्यता विरोधी नियुक्ति भयो । चेला परम्पराअनुसार विगतमा नियुक्ति हुँदै आएको थियो तर अहिले त्यस मान्यतालाई छाडेर बाहिरको साधुलाई ल्याएर महन्त बनाएको भन्दै विरोध शुरु गरेका छन् ।
माघव नेपाल नेतृत्वको सरकारले नै रामतपेश्वरलाई हटाएर जगदिशलाई नियुक्ति गर्नुपर्ने निर्णय गरेको थियो । रामतपेश्वर महन्त भएर करौडोको सम्पत्ति हिनामिना गरेको आरोप सरकारले लगाएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वरले गरेको अनियमितताबारे छानविन गर्नका लागि सरकारले भोजराज घिमिरेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो समितिले पनि रामतपेश्वर करौडोको सम्पत्ति हिनामिना गरेको ठहर गरेको छ ।
जानकी मन्दिरमा रहेर रामतपेश्वर दासले गरेको भ्रष्टाचारको बारेमा अख्तियारले समेत छानविन गरिरहेका छन् भने वरिष्ठ पत्रकार मनोज साहलाई गुण्डा लगाई आक्रमण गरेको आरोप तथा मन्दिरमा अनियमितता गरेको भन्दै सर्वोच्चमा समेत मुद्दा चलिरहेको व्यक्तिलाई सरकारले हटाएर अर्को व्यक्तिलाई नियुक्त गर्दा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, शरत्सिंह भण्डारीलगायत केही एमालेका नेताहरुले आफ्ना कार्यकर्ता उचालेर रामतपश्वेरलाई बचाउ गरिरहेका छन् भने सद्भावना पार्टीका उपाध्यक्ष संजय साहलगायत अन्य नेताहरुले रामतपेश्वर कुनैपनि हालतमा रहनु हुँदैन भनि विपक्षमा उभिएका छन् ।
रामतपेश्वरका धन्दा
श्री मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र शिक्षण अस्पताल खोलेर रामतपेश्वर ५० करोडका मालिक बनेका छन् । हालसम्म सरकारबाट सम्बन्धन समेत नपाएका सो कलेजमार्फत जनकपुरमा कालोबजारी हुने गरेको स्रोतले बताए । सो अस्पतालका मुख्य मालिक महन्त रामतपेश्वर नै हुन् भने देखाउनका लागि मात्र आफ्ना नजिकका पर्ने निर्मला ठाकुरलाई ४० प्रतिशत शेयर दिएका छन् ।
महन्तका आफ्नै भतिजा राकेश झा कार्यकारी निर्देशक रहेको सो अस्पतालमा आयुर्वेदसम्बन्धि पढाई पनि हुन्छ । आयुर्वेद अस्पताल भएपनि विद्यार्थीबाट महँगो डोनेशन लिएर भर्ना गरेको स्थानीयहरु बताउँछन् । भारतीय विद्यार्थीसँग १६ लाखदेखि २० लाखसम्म डोनेशन लिन्छन् भने नेपालीसँग १० लाखदेखि १५ लाखसम्म डानेशन लिने गरेको जनकपुरवासीहरु बताउँछन् । जानकी मन्दिरमा मात्र वर्षेनी १५ करोडभन्दा बढी भेटी चढ्ने गरेको छ तर त्यसको कुनै हिसाब रामतपेश्वरसँग छैन । सोही भेटीबाट उठेको रकमले जनकपुरका नेतादेखि गुण्डा पाल्ने गरेको जनकपुरका एक पत्रकारले बताए ।
जग्गा बेचबिखन
शिवपुर गढीका एक स्थानीयले सीता मातालाई आफ्नो ५६ विघा जग्गा दान गरेका थिए तर आज त्यसमध्ये ५६ धुर जग्गा पनि बाँकी छैन । कहिले के बाहनामा त कहिले के बाहानामा सबै जमिन बेचेर खाएका छन् । यहाँसम्म कि मन्दिरकै नाममा रहेका २० विघाभन्दा बढी जमिन गुठीसँग मिलेर कौरीको भाउमा बेचिसकेका छन् ।
जानकी मन्दिरअन्तर्गत रहेको मणिमण्डपको १८ बिघामध्ये दुई बिघा पनि महन्तले बिक्री गरिसकेको र स्थानीयको विरोधपछि बाँकी जमीनको बिक्री रोकिएको पनि पछिल्लोसमय त्यसलाई पनि बेच्ने तयारीमा थिए । यतिसम्म कि गुठी संस्थानले मन्दिरको नाममा रहेका जग्गामा रहेका घर र टहराको लागत राख्न थालेपछि उनले जमिनमा घरै नभएको जग्गामा घर भएको जालजासी कागज बनाउँदै जमिन बेचेको कतिपय उदाहरणहरु अहिले जनकपुरमा सुन्न पाइन्छ । त्यसरी ती जमिन सस्तोमा वा सित्तैमा लिनेहरु त्यहाँका विभिन्न दलका नेता–कार्यकर्ता, सरकारी कर्मचारी, पत्रकार र सशस्त्र समूहहरु रहेका छन् । र, अहिले तिनै नेता, पत्रकार, कर्मचारी र साधु सन्तले रामतपेश्वर रहनुपर्छ भनि जनकपुरमा जुलुस निकालिरहेका छन् ।
उनले जानकी मन्दिरको नाममा गरेको भ्रष्टाचारको रकमले भारतका विभिन्न ठाउँमा घर जमिन खरिद गर्नुको साथै आफन्तको नाममा विभिन्न उद्योगहरुमा लगानी समेत गरेको स्रोतको दावी छ ।
मुर्ति चोरीमा पनि संलग्न
जानकी मन्दिरमा भएको मुर्ति चोरी काण्डमा रामतपेश्वर दास पनि मुछिएका छन् उनकै मिलोमतोमा मुर्ति चोरी भएको प्रहरीमा अभियुक्तहरुले दिएको बयानबाट खुलेको छ । ०५२ सालमा भएको शतवार्षिकीमा टिकमगढका महरानीले सीतालाई दिएको मुकुटलगायत अन्य गहना पनि गायब भयो त्यसको आरोप पनि उनलाई नै लागेको छ । यति मात्र होइन कि दैनिक रुपमा जानकी मन्दिर अवलोकन गर्नेबाट टिकटले उठेको रकम पनि उनैले पचाएका छन् । त्यसको पनि कुनै हरहिसाब छैन रामतपेश्वरसँग ।
उनीमाथि अगराजसर, तेलहन मरहा, धोवीयाइन पोखरी, बल्देसर, पाप मोचनीलगायतका पोखरी पुरेर जनकपुरको साँस्कृतिक संरचना विगारेको पनि आरोप लागेको छ । जनकपुर–१० स्थित ११५ अरगजा पोखरीको चारैतर्फको डिलमा र दूरसंचार कार्यालयको दक्षिण पर्खालसँग जोडिएको जग्गामा पक्की घर, सटर–कबल र फुसको घर बनाई भाडामा लगाएर त्यसबाट उठेको रकम पनि झ्वा पारेका छन् । जानकी मन्दिरको वरिपरी रहेका खाली जग्गामा पनि घर टहरा बनाएर व्यपारीकरण गरेर मन्दिरको सँस्कृति, रुप रंग नै विगारेको कारण जानकी मन्दिरु विश्व सम्पाद सुचीमा परेका छैनन् ।
को हुन् रामतपेश्वर ?
धनुषाको परवाहा–१ का वसन्त झाका छोरा रामतपेश्वर दासलाई दैनिक गुजारा गर्न पनि समस्या थियो । कचरी मुरहीका व्यपार गर्दै आएका उनका बुवा आमा आफ्ना छोराका कारण निकै समस्यामा थिए । त्यसैबेला काका खर्तन झा र दाइ पर्ने फेकन झाले जानकी मन्दिरका महन्तहरुलाई सेवा गर्ने काममा जागिर लगाई दिए । महन्तहरुको सेवा गर्दा गर्दै उनी सबैको मन जित्न सफल भए । र, अन्त्यमा गएर त्यस मन्दिरको महन्त हुन सफल भए ।

Post a Comment

 
Top