सप्तरीमा अपहरणका घटना बढे
–अपहरणमा परेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि सप्तरीको फकिरा गाविसका घनानन्द यादव अझै सम्पर्कमा नआउँदा परिवारका सदस्यहरु बिचल्लीमा परेका छन् ।
परिवारको अभिभावक नै अपहरणमा परेको दुई महिनासम्म मुक्त नहुँदा परिवारका सदस्यहरु बिचल्लीमा परेको अपहृत यादवकी श्रीमतीले दुःखेसो पोखिन् । अपहृत यादवकी श्रीमती लुखीदेवी यादवले बुधबार राजविराजमा पत्रकार सम्मेलन गरी श्रीमान्को अपहरणपश्चात् खानबस्न समस्या भइरहेका बेला अपहरणकारी समूहले फिरौती माग गरेपछि थप पीडा भएको बताए ।
आफ्नो आफन्त नै पर्ने सप्तरीको झुटकी गाविस–५ निवासी सोभित यादव र उनका छोरा हेमेन्द्र यादवले आफ्ना श्रीमान्को अपहरण गरेको आरोप लगाउँदै लुखीदेवीले विगत तीन÷चार वर्षदेखि जग्गाको विवाद रहेको र सोही विवादका कारण आफ्ना श्रीमान्को अपहरण गरेर लगेको आरोप लगाइन् ।
उनले भनिन,‘‘२०७० साल मङ्सिर १८ गते दिउँसो ३ बजेको समयमा ४२ वर्षीय आफ्ना श्रीमान् घरआँगनमा बसिरहेका बेला फोनमार्फत आफ्ना श्रीमान्लाई आँगनबाट बाहिर बोलाएर आफन्त नै पर्ने सोभितलाल, उनका छोरा हेमेन्द्रसहित अन्य नचिनेका तीन÷चार जनाको समूहले मोटरसाइकलमा जबर्जस्ती बसाएर दक्षिणतर्फ लग्यो ।”
सुरुमा अपहरण भएको थाहा भएन, सोभितलालहरुले केही कामका लागि बोलायो होला भन्ने लाग्यो, तर साँझसम्म पनि श्रीमान् घर नफर्केपछि खोजतलास गर्दा फेला नपरेपछि मात्र अपहरण भएको थाहा पाएको लुखीदेवीको कथन थियो ।
अपरहण गरी सोभितलालको पुख्र्याैली घर भारतको सुपौल जिल्ला ग्राम पञ्चायत महादेवा करियौत गाउँमा बन्धक बनाएर राखेको आफूहरुले थाहा पाएको बताउँदै अपहृतका नातेदार पर्ने हुलसित यादवले भन‘‘अपहरणको केही दिनपश्चात् अपहरणकारीहरुले मोबाइलमा फोन गरी फिरौती माग गर्दै आएका छन्, सुरुमा १० लाख माग्यो, गरिब छु कहाँबाट त्यत्रो पैसा ल्याउनु भनेर भनेपछि अहिले आठ लाख माग्दैछ ।”
मागेजति रकम फिरौती नदिए उनलाई मारेर फ्यालिदिन्छु भनेर दिँदै आएको धम्कीका कारण परिवारजन चिन्तामा डुबेको यादवको भनाइ छ ।
अपरहणमा परेको केही दिन अर्थात् गत मङ्सिर ३० गते नै प्रहरीमा निवेदन दिए पनि प्रहरीले खोजतलासका लागि कुनै पहल नगरेको लुखीदेवीको गुनासो थियो । भारतीय प्रहरीसँग समन्वय गरी सोभितलालको पुख्र्याैली घर भारतको करियौतमा छापा मारिए पनि उनको (श्रीमान्)लाई मुक्त गराउन सकिने लुखीदेवीको भनाइ छ ।
Post a Comment