दिसा पिसाब मिसिएको पानी खुवाउँदैछ
तीन वर्षअघि सर्वोच्च अदालतले केयुकेएलले वितरण गरेका धुम्बाराहीस्थित शंखपार्क केन्द्रको धारा, सोही केन्द्रको ट्याङ्कीको पानी, लगनखेल, कुमारीघाट, बोडे, त्रिपुरेश्वर, सिप्रदी, ताहाखेल र ज्वागल केन्द्र, बल्खु, लोकन्थलीको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परिक्षण गरेको थियो । परिक्षणपछि सो खानेपानी खानेयोग्य नरहेको भन्दै विभागले २०६८ साल चैत्र २० गते सर्वोच्च अदालतलाई प्रतिवेदन बुझाएका थिए तर सो प्रतिवेदनप्रति कुनै सुनुवाई नभएपछि उपभोक्ताले त्यही पानी खान बाध्य भएका छन् । केयुकेएलको पानी खानयोग्य छैन र स्वास्थ्यका लागि हानिकारक छ भन्दै सरकारलगायत विभिन्न संघसंस्थाले पानी वितरणका विभिन्न केन्द्रहरुको अनुगमन गरेका थिए ।
अनुगमनपछि ती केन्द्रहरुका पानी अशुद्ध र खानयोग्य नरहेको प्रतिवेदन केयुकेएललाई बुझाएका थिए । तर केयुकेएलले सो प्रतिवेदनलाई वेवास्ता गरे पानी वितरण प्रणालीमा कुनै सुधार ल्याएन । त्यसपछि सोही अनुगमनकर्ता मध्येका एक संस्थाले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । त्यसपछि सर्वोच्च अदालतले ती केन्द्रहरुको पानी परिक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार विभागले परिक्षण गरेको प्रतिवेदन अदालतलाई बुझाएको थियो । अदालतले पानी वितरणमा शुद्धता अपनाउन केयुकेएललाई निर्देशन दिएपनि हालसम्म वेवास्ता गर्दै उपभोक्तालाई रोगी बनाइरहेका छन् । विभागको परिक्षमा सो पानीमा अत्याधिक मात्रामा कोलिफर्म र एमोनिया भेट्याएको थियो ।
पानी उपभोक्ताले दुषित पानी खाएको कुरा केयुकेएल र त्यसका विभागीय मन्त्रालयले पनि स्विकार गरेका छन् । केयुकेएलका केन्द्रीय प्रयोगशालाका प्रमुख ज्ञानेन्द्रवहादुर कार्कीले पनि उपत्यकामा वितरण भएको पानीमा करिब ८० प्रतिशतभन्दा बढी हानिकारक रसायन र जिवाणु फेला परेको स्वीकारे छन् । उनले रत्नपार्क, भक्तपुर, ललितपुर, वागवजार, असन, इन्द्रचोक, कीर्तिपिुर, बसुन्धारालगायतका क्षेत्रका पानी निक्कै दुषित पानी भेटिएको स्विकार गरेका छन् । श्रोत केन्द्र फोहोरयुक्त हुने, पुराना पाइपलाइन फुट्ने, जमिनमूनीको ढलको पाइपलाइनसंगै पानीको पाइपलाइन मिसिएका कारण दिसापिसाब मिसिने गरेको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको खानेपानी महाशाखाका प्रमुख अवधकिशोर मिश्रले पनि उपत्यकावासीले अस्वस्थ्य पानी खान बाध्य भएको स्विकारेका छन् । उनले गुणस्तरयुक्त पानीको विकल्प नभएको कारणले खानै नहुने पानी खान बाध्य भएको भनेका छन् । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले उपत्यकाको खानेपानीमा भर पर्न नहुने बताएका छन् । अनुमति लिएर सबै मापदण्ड पुरा गरी पानी उद्योग सञ्चालन गरेका पानीको अवस्था दयनीय छ भने अरुको त भन्नै सकिँदैन, उनले भने ।
केयुकेएलले उपत्यकामा दैनिक ११ करोड लिटर पानी वितरण गर्दै आएको छ भने यहाँ ३५ देखि ४० करोड लिटर पानीको माग रहेको छ । जसमध्ये नौ करोड लिटर धारामार्फत घरघर पुग्छन् । राज्यको वेवास्ताका कारण उपभोक्ताले महसुल तिरेर पनि केयुकेएलबाट शुद्ध पानी खान पाएका छैन, भोटाहिटीका उपभोक्ता भक्त महर्जनले गुनासो गरे । मासिक रूपमा महसुल बुझाउदै आएका उपभोक्तालाई केयुकेएलले मुख्य श्रोत केन् र वितरण केन्द्रको पानी गुणस्तरयुक्त छ भनेर धारामार्फत कोलिफर्म, आर्सेनिक, एमोनिया, विभिन्न प्रकारका सुक्षम जिवाणु र आइरनसहितको पानी खुवाउँदै आएको छ ।
उपभोक्ताले स्वास्थ्यलाई हानी गर्ने कस्तो पानी खाइरहेका छन् त्यो हेर्न धेरै टाढा जानु पर्दैन रत्नपार्क, बालाजु बाइसाधारा, कुपण्डोलको युएन पार्क, किर्तिपुरलगायतको प्रशोधन केन्द्रलाई अवलोकन गरे पुग्छ । आम उपभोक्तले दिशा पिसाब र जीवजन्तु मरेर मिसिएको पानीको खान कसरी बाध्य भएका छन् त्यहाँ गएर प्रमाण पाउन सकिन्छ । बलाजुको वाइसधारा प्रशोधन केन्द्रमा रहेको पानीको रिजर्भ वायरभित्र स–साना साँङलादेखि ठूला चरा मरेको आफ्नै आँखाले हेर्न सकिन्छ । सडेका पात र लेदोको अबस्था हेर्दा वर्षौदेखि सफा नभएको पाइन्छ । केयुकेएलले त्यहाँबाट काठमाडौंको वडा नम्बर १३, १४ र १६ का बीसहजारभन्दा बढी घरपरिवारलाई १४ लाख लिटर पानी वितरण गर्दै आएको छ ।
रत्नपार्कस्थित बोरिङस्थलमा जताततै सर्वसाधारणले दिशा पिसाब गरेको, कुखुराका सुली र नजिकैको शौचालयबाट निस्किएका ढल त्यही रहेको बोरिगंको पाइपमा मिसिएको देख्न सकिन्छ । र, बोरिङ पाइपबाट निकालिएको पानी सिधै ट्यांङकीमा रिजर्भ गरेर प्रशोधन नै नगरी बागबजार, भोटाहिटी हुँदै महावौद्ध, असन, महाराजगञ्ज, न्युरोड, रानीपोखरीलगायतका स्थानमा वितरण हुँदै आएको छ । विज्ञहरूका अनुसार बोरिङ गरिएका स्थानमा सौचालय र फोहोरजन्य पदार्थको भण्डारण गर्नु हुँदैन । त्यस्तै युएनपार्कस्थित रहेको प्रशोधन केन्द्र नजिक यो पानी खानेयोग्य छैन भनिएको बोर्ड नै लगाएको छ तैपनि केयुकेएलले लापरवाही गर्दै पानी वितरण गर्दै आएका छन् ।
Post a Comment