0
सिँचाइको आभावमा चैतेधानमा डढेलो लागेपछि किसान चिन्तित
सप्तरी, 
७ जेठ ।
लामो समयदेखि वर्षा नभएको र नहरमा समेत पानी नछाड्दा सप्तरीमा चैते धानबालीमा डढेलो लागेको छ ।
सिँचाइ हुने आशामा चैतेधान रोपाइँ गरेका सप्तरीका किसान समयमा वर्षा नभएको र नहरहरुमा समेत पानी नछाडिएका कारण चैते धानबालीमा डढेलो लागेका कारण चिन्ता बढेको सप्तरीको इटहरी विष्णुपुर–५ का किसान भूपेन्द्र मण्डल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘धानबाली डढेलो लागेर मर्न थालेका छन् जसका कारण लगानी र मिहिनेत दुवै डुब्ने हो कि भन्ने चिन्ता बढेको छ ।” 
महँगो मूल्य खर्चेर धानको बीउ लगाएको र अहिले आएर सिँचाइको अभावमा धानबाली डढेलो लागेर बाली नै मर्न थालेका कारण किसान चिन्तामा डुबेको मण्डलको कथन छ । 
पश्चिमी कोसी नहरमा पानी नछोड्दा कतिपय किसानले चर्काे मूल्य खर्चेर अहिले पानी तान्ने मोटरको प्रयोग गरी सिँचाइ गरिरहेका छन् भने कतिपय किसान वर्षा हुने पर्खाइमा बसिरहेका छन् । 
 
“वर्षा हुन्छ वा वर्षा नभए पनि कोसी नहरमा पानी छोड्दिहाल्छ कि भन्ने आशामा चैतेधान लगाए”–सप्तरीको नर्घाेका किसान हरि मण्डल भन्नुहुन्छ–‘‘धानबाली लगाइसके पनि अहिले न त वर्षा भएको छ न त नहरमा पानी नै छाडेको छ ।” यस्तो अवस्थामा के गर्ने भन्ने अन्योलमा परेको मण्डलको भनाइ छ ।
 
कोसी नहर र चन्द्र नहर छेउछाउका सप्तरीको इटहरी विष्णुपुर, बरही बिरपुर, नर्घाे, कमलपुर औरही लगायतका १२ वटाभन्दा बढी गाविसमा चैतेधान किसानले लगाउँदै आएका छन् ।
 
यसैबीच चैतेधान लगाउने बेलामा वर्षा नभएको र सिँचाइकै अभावमा धानबाली सुक्न थालेका कारण यो वर्ष सप्तरीमा चैतेधान उत्पादनमा ह्रास आउने जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
 
यो वर्ष वर्षाको आशामा किसानले गत वर्षको भन्दा बढी क्षेत्रफलमा चैतेधान लगाए पनि उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो ।
 
यस वर्ष जिल्लामा ७६० हेक्टर क्षेत्रफलमा चैतेधान लगाए पनि दुई हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । गत वर्ष ७५० हेक्टर क्षेत्रफलमा चैतेधान लगाएकामा दुई हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो । 

Post a Comment

 
Top