0

प्रधानमन्त्रीका स्वकीय सचिवबीच भिडन्त

singadarbar (1) असार ५–
प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल हालैको एक विहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुग्दा तिन छक परे । उनले देखे, प्रधानमन्त्रीको कार्यालयमा ‘प्रमुख स्वकिय सचिव लक्ष्मण ढकाल’ भनेर लेखेको बोर्ड कसैले हटाइदिएछ । सोधखोज गर्दै जाँदा उनले के थाहा पाए भने आफु पदमा बहाल हुँदा हुँदै आफ्नै कार्यालयबाट आफ्नो नेम प्लेट हटाउने धृष्टता अरु कसैले हैन प्रधानमन्त्रीकै अर्का स्वकीय सचिव रमेश भण्डारी शर्माले गरेका रहेछन् । जव रमेशले आफ्नो नेमप्लेट हटाएको लक्ष्मणले थाहा पाए, उनले पनि रमेशको नेमप्लेट हटाउन लगाए । त्यसक्रममा उनीहरुवीच भनाभन मात्र हैन, तँ तँ र मम नै भएको सिंहदरबारका एक अधिकारीले रातोपाटीलाई बताए । आफुसँग सम्पत्तीका नाममा ३ वटा मोवाइल सेट मात्र भएको बताउने प्रधानमन्त्री सुशील कोइरालाका यी दुई स्वकीय सचिव आर्थिक चलखेलको होडमा कुन हदसम्म लागेका छन् भने उनीहरुवीच पटक पटक झण्डै हात हालाहालकै अवस्था उत्पन्न भइसकेको छ । यसले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दिनहुँ रमिता भइरहेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवका रुपमा सुरुमा लक्ष्मण ढकालले नै कार्यालय (सिंहदरबार) र निवास (बालुवाटार)मा प्रधानमन्त्रीलाई सघाउँदै आएका थिए । पछि प्रधानमन्त्रीले सिंहदरबार हेर्ने गरि रमेश भण्डारी शर्मालाई नियुक्त गरे भने लक्ष्मणलाई बालुवाटारमा खटाए । त्यसयता यी दुई स्वकीय सचिववीच प्रधानमन्त्रीको शक्तिमा कसले एकछत्र रजाईं गर्ने भन्ने प्रतिश्पर्धा सुरु भएको छ । सर्पको खुट्टा सर्पले देख््छ भने झैं कार्यपालिकाको केन्द्रमा परम्परागत रुपमै प्राप्त हुने असिमित शुभ लाभका संभावनालाई लिएर यी दुई स्वकीय सचिववीच हानाथाप सुरु भएको सुत्र बताउँछ । काँग्रेस सुुत्रका अनुसार रमेश भण्डारी शर्मा लामो समयदेखि सुशील को नजिक रहेर सेवा गर्दै आएका हुन । रमेशले नै लक्ष्मणलाई सुशील शुसीलको कोटरीमा भित्रयाए । सियो बनेर पसेका लक्ष्मण अहिले हात्ती बनेर निस्किएपछि रमेश भन्न थालेका छन्, ‘जसलाई मैले सुशील दाईको नजिक ल्याएँ, उसैले आज मेरै अस्तित्वमा धावा बोल्दैछ ।’ अचेल यी दुई स्वकीय सचिववीच भनाभन हुँदा एकले अर्कालाई ‘तँ को होस् ?’ भन्नेजस्ता शब्द प्रयोग गर्ने गरेको सिंहदरबारका एक कर्मचारीले बताए । हालैको एक विहान रमेशले लक्ष्मणलाई भनेछन्, ‘तँ को होस् मेरो नेमप्लेट हटाउने ? हिजो तँलाई मैले नै ल्याएको हैन ? तेरो के हैसियत छ ?’ अनी लक्ष्मणले आक्रोशित हुँदै भने, ‘तँ भनेर नबोल, हिँजोका दिन गए अब । सुशील दाईको कसले बढी सेवा गरेको छ र सुशील दाइलाई कसले बढी बिबादमा पारेको छ त्यो हामीलाई पनि थाहा छ । तैंले मलाई सिकाइरहनु पर्दैन ।’ यी दुई स्वकीय सचिवको झगडा सुनेर सिंहदरबार र बालुवाटारका कर्मचारी भने छक्क परेका छन् । एक कर्मचारीले भने, ‘सुशील दाई त्यस्तो असल र भलादमी । सम्पत्ती पनि केही छैन । तर उहाँका सहयोगी राक्षसजस्ता । एकले अर्कालाई झम्टुँला झैं गर्छन् ।’ रमेश भने लक्ष्मणलाई लिफ्ट दिएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै हिंडन थालेका छन् । ‘२०६२ सालतिर विदेश पठाइदिन्छु भन्दै ठगी गरेको र हनुमान ढोकामा ठगीमा थुनिएको मानिसलाई स्वकीय सचिव बनाएर प्रधानमन्त्रीबाट ठुलो गल्ती भो’, रमेशको गुनासो रहने गरेको छ । नेपाल बिद्यार्थी सँघको अध्यक्ष पदमा प्रदीप पौडेलका विरुद्ध खडा भएका लक्ष्मणले जम्मा एक भोट पाएका थिए । उता लक्ष्मणको भनाई बेग्लै छ । उनी आफन्तमाझ भन्न थालेका छन्, ‘रमेश र उनकी पत्नी प्रभा भण्डारी मिलेर मलाई प्रधानमन्त्रीको कोटरीबाट साइड लाउने षडयन्त्र गरिरहेका छन् । बोर्ड हटाउनु त्यसकै प्रमाण हो । मलाई साइड लगाएर सरुवा, बढुवालगायतमा आर्थिक चलखेल गर्ने उनीहरुको दाउ हो ।’

Post a Comment

 
Top