0
सडकमा दुई हजार लिटर दूध पोखाएर विरोध 
 १२ असार
 
सरकारले आफूहरुले उत्पादन गरेको दूध नकिनेको भन्दै कञ्चनपुरका कृषकले चक्काजाम गरेर सडकमा दूध पोखाएर विरोध जनाएका छन् । 
 
आज बिहान सुडामा रहेको शुक्लाफाँटा उन्नत गाई भैँसी दुग्ध उत्पादक समितिले आधाघण्टा सडक जाम गरेर दूध पोखाएर विरोध जनाएका हुन् । 
 
समितिले पूर्व पश्चिम राजमार्ग बन्दै गरेर दुई हजार लिटर दूध सडकमै पोखाएको दुग्ध उत्पादक समितिका अध्यक्ष रघुबर लेखकले बताउनुभयो । उहाँका अनुसार नेपाल दुग्ध विकास संस्थानले सम्झौताअनुसार दूध खरिद नगर्दा जगेडा रहेको दूध सडकमा पोखाएको हो । 
 
समिति र दुग्ध विकास संस्थानबीच मासिक १२ हजार लिटर दूध खरिद गर्ने सम्झौता भएपनि संस्थानले जेठदेखि सम्झौताअनुसार दूध नकिनेको अध्यक्ष लेखकले बताउनुभयो । उहाँका अनुसार संस्थानले जेठमा दुई हजार ९०० लिटर असार १२ गतेसम्म ५०० लिटर मात्रै दूध किनेको छ । 
 
सम्झौताअनुसार दूध खरिद नहुँदा कृषक मर्कामा परेको भन्दै विरोधस्वरुप चक्काजामै गरेर भएपनि दूध पोखाएको अध्यक्ष लेखकको भनाइ छ । 
 
नेपाल दुग्ध विकास संस्थानले कञ्चनपुरको सुडा, बेलौरी र पूर्नवास क्षेत्रबाट दूध सङ्कलन गर्दै आएको छ । दुई हजार लिटर दूध पोखेपछि बाँकी रहेको दूध स्थानीयवासीले निःशुल्क लगेका छन् । 
 
भूकम्पका कारण देखाउँदै तिनै क्षेत्रबाट सङ्कलन गर्ने दूधको मात्रा घटाएपछि यहाँका दुग्ध उत्पादक कृषक समस्यामा परेका छन् । 
 
नेपाल दुग्ध विकास संस्थान अत्तरियाका प्रमुख हेमचन्द्र पौडेलले 
भूकम्पपछि राजधानीमा दूधको माग घटेका कारण सम्झौताअनुसार दूध सङ्कलन गर्न नसकिएको बताउनुभयो । ‘केन्द्रबाट दूध कम सङ्कलन गर्न हामीलाई आदेश आएको छ, त्यसैले हामीले सम्झौताअनुसार दूध खरिद गर्न सकेनौँ– उहाँले भन्नुभयो  

Post a Comment

 
Top