0
राहतको दुरुपयोग कसैबाट नहोस् 
१२ असार 
 
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपाली नागरिकको नाममा नेपाली तथा विदेशी नागरिकहरुले पठाएको राहत रकम तथा सामग्रीको कसैबाट पनि दुरुपयोग नहोस् भन्नुभएको छ । 
 
प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न भारतको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार आएको प्रतिनिधिमण्डलसँग सो कुरा बताउनुभएको हो । 
 
उहाँले विदेशबाट राहत रकम र सामग्री पठाउने संस्थाहरुले आफूले पठाएको रकम र सामग्री पुगे नपुगेको पनि निगरानी गर्नुपर्ने बताउँदै सिधै आफू गएर राहत वितरण गर्नुभन्दा सरकारको एकद्वार नीतिअनुरुप जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर वितरणमा जान आग्रह गर्नुभएको थियो । 
 
सम्पर्क समितिले नेपाली राजदूतावास नयाँदिल्लीमार्फत प्रधानमन्त्री दैवी राहत कोषमा रु ५ लाख ११ हजार १३१ र रु एक लाख ६० हजार प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरी सहयोग गरेको छ । 
 
नेपाली जनसम्पर्क समिति भारतले भूकम्पपीडितका लागि नगद र जिन्सी गरी करिब रु ९१ लाख ३० हजारको सहयोग गरेको जनाएको छ । 

Post a Comment

 
Top