फर्केर हेर्दा सती–प्रथा
अर्चना न्यौपाने
नेपाली बृहत् शब्दकोशमा ‘सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । यो प्रथा नेपालमा वि.सं. १९७७ साल असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ ।
नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको पन्चानब्बे वर्ष भइसक्यो । सती–प्रथा नेपालमा कहिलेदेखि चल्दै आएको हो, यकिन छैन । त्यो क्रूर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । वैदिककालदेखि चल्दै आएको सती–प्रथा हिन्दु समाजमा नैतिक कानुन जस्तै हुँदै आयो ।
हिन्दु समाजमा विधवा नारीलाई एकातिर हेलाको भावले हेरिन्थ्यो भने अर्कोतिर लोग्नेको पार्थिव शरीरसँगै देहत्याग गरेमा परलोकमा पनि पतिसँगै रहन पाइन्छ भने अन्धविश्वासी धारणाले जरा गाडेको थियो । पतिको पार्थिव शरीरसँग जान नसकेमा पतिको अपमान भएको विश्वासको घेराभित्र बाँधिएका विधवाहरु सती जान आनकन गर्दैनथे । त्यसैले समाजमा सती–प्रथाले स्थान पाइरहन सकेको हो ।
अझै मल्लकालमा बालविवाह र बहूविवाहको् बाहुल्यता थियो । जसले गर्दा सती–प्रथाले अझ फराकिलो स्थान ओगट्दै आएको पाइन्छ । उपत्यकाका मल्ल राजाहरुका कैयांै रानीहरु सती गएको उल्लेख पाइन्छ । राजा रुद्रमल्लका ४ रानी, शिवसिंह मल्लकी एउटी रानी सती गएकी थिइन् । योगनरेन्द्र मल्लका ३३, पाथिर्वेन्द्र मल्लका २४ र प्र्रताप मल्लका ९ वटी रानीहरु, नृपेन्द्र मल्लका ९ रानीहरु सती गएका इतिहास हामीले पढेका छौं ।
राणा शासनलाई हामीले नकारात्मक दृष्टिले हेर्दछौं, तर राणाकालमा नेपालमा केही यस्ता उल्लेख्य कामहरु पनि भएका छन् जसलाई भविष्यले पनि सम्झने छ । सती–प्रथा जस्तो भयानक नरवलि रोक्नका लागि कानुनी हिसाबले अगाडि बढ्ने राणाहरु नै हुन् । वि.स १९१० मा जङ्गबहादुर राणाले सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए ।
जसमा १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, छोराको मृत्यृमा सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । त्यसकारण महिलाहरु अझै चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन ।
सती–प्रथाको अन्त्य गर्ने श्रेय प्रधानमन्त्री चन्द्रशमशेरलाई छ । नेपाल प्रज्ञा प्रतिष्ठान्को बृहत् शब्दकोशअनुसार १९७७ सालको असार २५ मा सामाजिक कलङ्कको रुपमा हजारौं वर्षदेखि जरा गाडेर रहेको सती–प्रथा हटाउने नियम कानून बनाएर सती–प्रथाको अन्त्य भएको घोषणा चन्द्रशमशेरले गरे । प्रारम्भमा केही अन्धविश्वासीहरुले चन्द्रशमशेरको यस कार्यको विरोध गरे पनि उनले सती–प्रथा सदाका निम्ति अन्त्य गरेरै छाडे ।
विश्वमा महिला मुक्तिको अवसरमा र उनीहरुको सम्झनामा विभिन्न दिवसहरु मनाउने चलन चल्दै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मार्च ८ मा मनाइन्छ । नेपालमा पनि महिलाहरुले आफ्नो अधिकारको सुरक्षा र मुक्तिको कुरालाई लिएर यो दिवस मनाउँदै आएको छ । तर नेपालमा नै हजारौं वर्ष पहिलेदेखि प्रचलनमा आएको सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको दिन भने हामीले बिर्सिएका छौं । यसको सम्झनामा कुनै कार्यक्रम गरेका छैनौ ।
सती–प्रथाको कारण कैयौं महिलाहरुको वलिदान भयो । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन प्रथाको अन्त्य भएको दिनलाई नेपाली महिला मुक्तिको रुपमा मनाउनु पर्दछ । के यो दिन नेपाली नारीजगत्का लागि महत्वपूर्ण दिन बन्न सक्दैन र ? उक्त मुक्तिको अवसरमा हामीले कुनै सम्झना गरेका छैनौ ।
उक्त कुरीतिबाट पीडित भएका सम्पूर्ण महिलाहरुको प्रतिनिधित्वको रुपमा असार २५ मुक्तिको दिन बन्न सक्दैन ? ऊबेलाका काल्पनिक महिलाको शालिक बनाएर यस दिनलाई हामीले सम्मान र स्मरण गर्नुपर्दछ । समाजमा घोर आततायी रुपमा जरा गाडेर बसेको सती–प्रथाको अन्त भएको आज पन्चानब्बे वर्ष भइसकेको छ । त्यसभन्दापूर्व अन्जानमा या बाध्यतावश सती गएका तमाम नारीहरुको आत्माको चीरशान्तिको कामनासहित ! सती–प्रथाको उन्मूलन गर्ने प्रधानमन्त्री चन्द्रशम्शेरको साहसी कार्यलाई धन्यवाद ।
- Shiva Gautam ·यो प्रथा देव शम्सेरले नै हटाउने थिए तर उनलाई नै पटुकाले बाँधेर राजिनामा गर्न लगाएर हटाइयो त्यस पछि श्री ३ माहाराज भएका चन्द्र शमशेरले सतीप्रथा र दास प्रथा हटाए तर देव शम्सेरले दश वर्ष देश हाँक्न पाएको भए आज नेपालले स्वीटजरल्याण्डको सपना देख्नु पर्ने थिएन ।
- Aahuti Aahutiपहिलो कुरा महिलाहरू सती जान आनकान गर्दैनथे भन्ने हैन, पहुँचवाला स्त्रीले हाक्काहाक्की इन्कार गरेको र पहुँच नभएकाले नजान खोज्दा जबरजस्ती मारेर पोलिएका सयौं लिखित प्रमाण छन्। दोस्रो कुरा चन्द्र शमसेरको महान काम भन्दा पनि यो अङ्ग्रेजलाई रिजाउन उनले गरेका धेरै काममध्ये एक थियो । उनले नेपालमा कपास खेती र खानीहरू पनि अङ्ग्रेजलाई खुसी पार्न बन्द गराएका र कालीगढका हात काट्न लगाएका थिए। अर्को कुरा त्यो बेला लोकतांत्रिक आन्दोलन सुरू भैसकेको थियो। सासकहरूले आफूमाथि कुनै चाप नपरी राम्रो काम गरे सम्झिने हो, सासन टिकाउन गरिएको सुधार त जनता वा विश्वको दवावमा हुने हो, त्यस्तोमा सासकलाई धन्यवाद दिनु कुरा नबुझ्नु हो।


Post a Comment