0

पत्रपत्रिकाबाट

धराप घर आफैं भत्काउँदा दुर्घटना

२४ असार
 सुप्पाक्षमावती–८ का रामबहादुर बुढाथोकीको भीमेश्वर नगरपालिका–१० मानेडाँडास्थित पाँचतले पक्की घर वैशाख १२ को भूकम्पले थिल्थिलो बनाइदियो।
उत्तरतिर ढल्किएर धराप बनेको घर भत्काउन उनले लामै समय सरकारको मुख ताके, तर कसैले चासो दिएनन्। त्यसपछि उनले गाउँबाटै सात जना मजदुर बोलाएर घर भत्काउन सुरु गरे।
बुधबार उनीहरु कोही माथिबाट भत्काइरहेका थिए, कोही इँटा केलाइरहेका थिए। कोही तल थिए। अचानक पिलर पड्केको ठूलो आवाज आयो। मजदुरहरु ‘भाग–भाग’ भन्दै चिच्याए। घर गर्ल्याम्मै ढल्यो। तल रहेका पाँच जना भाग्न भ्याए। माथि रहेका दुई जनालाई घरले थिच्यो।
सुप्पाक्षमावती– ९ का श्रीकृष्ण थामीको घटनास्थलमै मृत्यु भयो। घरले चेपिएर ८ नम्बर वडाका मानवीर थामी गम्भीर घाइते भएको नागरिकमा खबर छ ।
घरधनीले प्राविधिक सल्लाहबिनै आफूखुसी मजदुर लगाएर घर भत्काउने क्रममा पिलर भाँच्चिएर घर ढल्दा दुर्घटना भएको देखिएको छ।
भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत सञ्जयबहादुर राजलवटका अनुसार चरिकोट सदरमुकाममा मात्रै पिलरमा क्षति पुगेर ढल्किएका, धराप बनेका २८ घर छन्। जोखिममा कति घर छन्, त्यसको कुनै तथ्यांक छैन। सरकारी निकायले अहिलेसम्म भग्नावशेष निरीक्षणसम्म गरेका छैनन्।
प्राविधिक सल्लाह, उपकरण र सुरक्षित सामग्रीबिनै सस्ता कामदार प्रयोग गरी घर भत्काउँदा थप मानवीय क्षतिको जोखिम रहेको प्राविधिक बताउँछन्।
स्थानीयका अनुसार घर भत्काउनुअघि इँटा र चौकोस (झ्याल) निकाल्ने काममा खटिएका आफ्नै गाउँका मजदुर दुर्घटनामा परे। ‘श्रीकृष्ण र मानसिंह माथिल्लो तलाको इँटा निकालेर केलाउँदै थिए, हामी तल थियौँ,’ भत्काउन खटिएका कामदार दिलबहादुर थामीले भने, ‘अचानक एउटा पिलर पड्केको आवाज सुन्यौं, चिच्याएर माथि भएकालाई पल्लो घरतिर हाम फाल भन्दै हामी निस्क्यौं, उनीहरु भर्यािङबाटै झर्न खोजेछन्, घर लडेर च्याप्यो।’

रोपाइँ छाडेर राहत लिन लाम

२४ असार, 
 जिल्लाको चाँगुनारायण नगरपालिका ७ झौखेलका भूकम्पपीडित बुधबार रोपाइँ छाडेर राहत लिन लाम लागे। एन्फो नामको गैरसरकारी संस्थाले वितरण गर्ने सरसफाइसम्बन्धी सामग्री (हाइजिन किट) लिन भूकम्पपीडितले रोपाइँ नै छाडेका हुन्।

प्रतिपरिवार करिब तीन हजार रुपैयाँको उक्त राहत सामग्री लिन भूकम्पपीडितहरू बिहानैदेखि लाम बसेका थिए । एन्फोले दिउँसो १ बजेदेखि मात्रै राहत सामग्री वितरण गर्ने सूचना दिए पनि पीडितहरू बिहान दसै बजेदेखि नै लाममा बसेको अन्नपूर्ण पोस्टमा खबर छ ।
अधिकांश पीडितले खेतमा रोपाइँ छाडेरै लाममा बसेको जानकारी दिए। चाँगुनारायण नपा ७ की कान्छी श्रेष्ठले खेतमा काम गर्न मजदुर पठाएर आफू बिहान दस बजे लाममा बसेको बताइन्।
‘खेतमा रोपाहार पठाएर मचाहिँ बिहान दसै बजेदेखि लाम बसेको, बल्ल तीन बजे राहत पाइयो’, कान्छीले भनिन्, ‘खेतमा रोपाइँ नसिद्धिए पनि राहत पाइयो, ढुक्क भएँ।’
उनले रोपाइँका लागि भनेका केही लाठे र रोपाहार पनि राहत लिन सँगै लाम बसेको सुनाइन्। अर्का स्थानीय रमेश थापाले रोपाइँ गर्न बोलाइकाजति राहत लिन आएपछि बुधबार गर्ने भनिएको रोपाइँ रोक्नुपरेको बताए।
‘रोपाइँलाई भनेका सबै राहत लिनेतिर लागे’, उनले गुनासो गरे, ‘राहतले आफ्नो खेतबारी पनि बाँझै राख्नुपर्ने स्थिति आउलाजस्तो छ।’
उनले वर्षभर खानका लागि गर्नुपर्ने रोपाइँ छाडेर राहतमा लोभिने अवस्थाले भोलि परनिर्भरता बढ्नसक्नेतर्फ सचेत गरे।

भूकम्पपछि पूर्वमा जग्गा कारोबार बढ्यो

२४ असार, 
 राजधानी र आसपासका क्षेत्रमा भूकम्पले ठूलो क्षति पुर्याएपछि पूर्वका अधिकांश सहरमा जग्गा कारोबार बढेको छ । मूल्य पनि डेढ गुणासम्म आकाशिएको छ ।
Housing
ब्यवसायीका अनुसार विराटनगर, इटहरी, धरान, विराटचोक, बेलबारी, पथरी, बिर्तामोड, दमक, काकडभिट्टा, लहान, गाइघाट लगायतका सहरमा जग्गा किनबेच बाक्लिएको छ ।
कट्ठाका हिसाबले बिक्री हुने जग्गा अहिले धुरका हिसाबले विक्री भइरहेको कारोबार दैनिकमा खबर छ ।
पहाड र राजधानीबाट विस्थापित हुनेहरुले विराटनगरलाई पहिलो रोजाइ बनाउन थालेका छन् । त्यसपछि इटहरी र अन्य सहर रोज्छन् ।
संघीय राजधानी विराटनगर बन्ने हल्लाले केही वर्षयता यहाँ जग्गा कारोबार बढेको थियो । मधेस आन्दोलनपछि केही वर्ष कारोबार शून्य भए पनि पछिल्ला तीन चार वर्षयता निकै बढेको छ । अझ भूकम्पपछि जग्गाको भाउ निकै आकाशिएको जग्गा ब्यवसायी बच्चु यादवले बताए ।
फागुन-चैतको भन्दा जेठ १५ पछि कारोबार २० प्रतिशतले बढेको जग्गा कारोबारमा लामो समयदेखि संलग्न पुष्कर कोइरालाले बताए ।

बिहीबारका दैनिक पत्रिकामा कार्टुन

१ अन्नपूर्ण पोस्टमा छापिएको कार्टुन
२ अभियान दैनिकमा छापिएको कार्टुन
३ कारोबार दैनिकमा छापिएको कार्टुन
४ नागरिक दैनिकमा छापिएको कार्टुन
annapurna
aviyan
karobar
nagarik

भूकम्पमा तीन हजार बालबालिकाको मृत्यु

२४ असार
 गत वैशाखको भूकम्पमा परी करिब तीन हजार बालबालिकाले ज्यान गुमाएका छन् । भूकम्प प्रभावित १८ जिल्लाको तथ्यांकअनुसार भूकम्पमा परी दुई हजार सात सय ४२ बालबालिकाले ज्यान गुमाएका छन् ।
१८ जिल्लाबाट संकलित तथ्यांकअनुसार एक हजार चार सय ९८ बालक र एक हजार दुई सय ४४ बालिकाले भूकम्पमा परी ज्यान गुमाएको नयाँ पत्रिकामा खबर छ । भूकम्पमा ज्यान गुमाउने मुलुकभरका आठ हजार आठ सय ८९ मध्ये झन्डै ३१ प्रतिशत बालबालिका छन् ।
भूकम्पका कारण ८९ बालबालिकाले आमा बाबु दुवै गुमाएका छन् भने चार सय २७ जना बालबालिकाले आमा वा बाबु गुमाउनुपरेको छ ।
केन्द्रीय बालकल्याण समितिका अनुसार भूकम्पसम्बन्धी गलत शिक्षाका कारण भूकम्पमा मृत्यु हुने बालबालिकाको संख्या बढेको हो ।

मापदण्ड अनुसार घर नबनाए धारा र बिजुली नपाइने


२४ असार,
जग्गा प्लटिङ गर्दा तोकिएको मापदण्ड पूरा नगरे सरकारले बिजुली, धारा, टेलिफोन लगायतका सुविधा नदिने भएको छ ।
electricसहरी विकास मन्त्रालयले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड ०७२’ लागू गरेर यस्तो ब्यवस्था गर्न लागेको हो ।
मापदण्ड पारितका लागि मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारी भइरहेको छ । अब बस्ने मन्त्रिपरिषदमा लैजान अन्तिम तयारी भइरहेको कारोबार दैनिकमा खबर छ ।
अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीले जानकारी दिए । उनकाअनुसार अब प्लटिङ गर्दा कुल जमिनको (बाटोबाहेक) कम्तीमा ५ प्रतिशत सार्वजनिक स्वामित्वका लागि छाड्नुपर्नेछ ।
मूल बाटोको चौडाइ कम्तीमा ८ मिटर हुनुपर्ने ब्यवस्था गरिएको छ । टेलिफोन, बिजुलीका खम्बा, ढल ब्यवस्थापन र सडक कालोपत्रे गर्ने जिम्मेवारी प्लटिङ गर्ने ब्यक्तिको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
कानूनअनुसार दर्ता भएका संघ संस्था वा कम्पनीबाट स्वीकृति लिएर मात्रै जग्गा विकासको काम गर्नुपर्ने ब्यवस्था गरिँदैछ ।
सामुहिक आवास, अस्पताल, स्कुल, सुपरमार्केट, बैंक लगायतका ब्यवसायिक प्रयोजनका लागि जग्गा प्लटिङ गरी बिक्री वितरण गर्न चाहने संस्थाले उपत्यका विकास प्राधिकरण तथा नगर विकास समितिले तोकेको स्थानमा मात्र गर्नुपर्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।

Post a Comment

 
Top