0

बाबुरामको नयाँ शक्ति र नेपालको आवश्यकताramjibalami

(रामजी बलामी ) आज ३० गते नेपालमा एउटा नयाँ पार्टीको उद्घोष हुँदै छ। ‘अबको निकास, आर्थिक विकास’ को नारा बोकेर उदय हुन लागेको ‘नयाँ शक्ति’ र त्यसका संयोजक नेता बाबुराम भट्टराईबारे यतिबेला विभिन्न कोणबाट टिकाटिप्पणी र बहसहरू भइरहेका छन्। जनयुद्ध लडेर सत्ता सम्हालेका नेता भट्टराईले जुन उद्देश्यका साथ माओवादी त्यागेका छन् त्यो पूरा हुन सके आम नेपालीका लागि एउटा स्वर्णयुगको उदय हुनेछ। तर, विचारणीय कुरा के हो भने, उनका आश्वासन मात्रै हुन् कि मनमुटुदेखिकै प्रण हुन्, त्यो समयले बताउला।
नयाँ शक्तिले विशेषतः पाँच ‘स’ लाई अंगाल्ने बताइएको छ। समतामूलक समृद्धि, समानुपातिक⁄समावेशी लोकतन्त्र, सुशासन, समुन्नत समाजवाद र स्वाधीनता⁄सार्वभौम सत्ता नयाँ शक्तिको लक्ष्य रहेको छ। आकर्षक नारा र चिल्ला गफमा भुलिने जनता अब सचेत भइसकेका छन्। अब बोलेर होइन गरेर देखाउन जरुरी छ। नेतृत्व शक्तिशाली हुँदा निर्धारित लक्ष्य हासिल गर्न गाह्रो नहोला र नेतृत्वको हानाथापले त्यसलाई प्रभाव पार्ने गर्छ। नयाँ शक्ति जे–जस्तो अनुहार देखिएका छन् तिनको विगतका आधारमा उज्यालो नेपाल औंल्याउन गाह्रो छ। त्यसैले पहिले आफू र आफ्नो आचरण फेरेर मात्रै मुलुक र पार्टी अनुहार फेर्नतिर लाग्न जरुरी छ।
बाबुरामको बोलीः
नेता भट्टराईले हालै दुई वटा विवादास्पद अभिव्यक्ति दिए जसले उनलाई थप विवादमा तान्यो। ‘दश कक्षा पास गरेका प्रधानमन्त्रीले ज्ञान विज्ञानका कुरा गर्न नसुहाउने उनको पहिलो अभिव्यक्ति थियो। यो उनको सबैभन्दा कमजोरी र लज्जास्पद अभिव्यक्ति हो। सामान्य नागरिकले समेत बोल्न नहुने यस्तो गहन विषय विद्वान् नेता भट्टराईले कसरी बोले ? यो अनौठो लागिरहेको छ। कुनै कामका लागि महत्त्वपूर्ण र अति आवश्यक आधार हो योग्यता, तर स्मरणीय कुरा के हो भने कागजी अंक मात्रै योग्यता होइन र योग्यता नै सर्वेसर्वा पनि होइन। अनुभव पनि योग्यता नै हो र योग्यतालाई मूर्तरूप दिन इच्छाशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ।
भट्टराई कार्यकालकै उदाहरणबाट यसलाई पुष्टि गर्न सकिन्छ। राजधानीको सडक विस्तार कुनै ‘माइकालाल’ ले आँटेका थिएनन् न त बाबुरामको कागजी योग्यताले नक्सांकन गरेर यो काम भएका हुन्। यो त उनको इच्छाशक्तिले सम्भव भएका हुन् जुन उनको जीवनकै तारिफयोग्य काम बन्न पुगेको छ। अर्काे कुरा विश्वका कयौं हस्तीहरू छन् जो शैक्षिक योग्यतामा निल खाएर पनि विश्वलाई जितेका छन्। त्यस्तै नेता भट्टराईले २५ वर्षभित्र विश्वकै धनी मुलुक बनाउने उद्घोष गरेका छन्। यो एकदमै सराहनीय कुरा हो। किनकि सपना नदेख्दासम्म कुनै कुरा प्राप्त हुँदैन। तर, सपना पनि स्वाभाविक हुन जरुरी छ। प्रधानमन्त्रीले आधा दर्जन ट्विन विस्थापित गरे, नेपालको सीमानासम्म रेल ल्याए। यी पनि सपना नै थिए, उद्घोषका कुनै बेला। कतिपयले यसलाई हावादारी भनेर उडाएकै हुन्। तर २५ वर्षभित्र विश्वकै धनी देश बनाउने कुरा चुलो–चुलोमा ग्यास पुर्याउनेभन्दा पनि टाढाको कुरा हो। यसको मतलब असम्भव चाहिँ होइन, यतिबेला आएका टिकाटिप्पणी पचाउन सक्नुपर्छ।
एकातिर बाबुराम भट्टराईले मुलुकको कायापलट गर्ने बताइरहेका छन् भने अर्काेतिर उनको कडा आलोचना भइरहेको छ। विशेषतः नाकाबन्दीका बेला भट्टराईले दिएको भारत पक्षीय अभिव्यक्ति अहिले उनका लागि महँगो सावित बनिरहेको छ। उनीमाथि विगतदेखि लाग्दै आएको ‘रअको एजेन्ट’ आरोप उनको पछिल्लो अभिव्यक्तिले पुष्टि भएको आम सर्वसाधारणको बुझाइ छ। यसबीचमा उनले भारतप्रति आगो बनिरहेका नेपालीहरूमा मल्हमभन्दा पनि पेट्रोल छर्किने काम गरे। उनको भारतपक्षीय र चीनविरोधी अभिव्यक्तिले नयाँ शक्तिमाथि नै प्रश्नचि≈न खडा भएको छ भने स्वाट्टै गिरेको माओवादी बाबुरामकै कारण ≈वात्तै माथि उक्लिएको छ। तसर्थ बाबुरामले त्यो भ्रम चिर्न सक्नुपर्छ। जबसम्म बाबुरामले आफूमाथि लागेको ‘भारतीय दलाल’ को उपमा मेट्न सक्दैनन् तबसम्म जनताले पत्याउने छैनन्। त्यसका लागि केही गरेर देखाउन जरुरी छ।
भट्टराईको चाहना र आसेपासेको बहानाः
क्रान्तिमार्फत् मुलुकको व्यवस्था फेर्न माओवादी पार्टीबाट संघर्षमा लामो समय बिताएका बाबुराम भट्टराईले माओवादी त्याग्नुका पछाडि थुप्रै कारण र परिघटनाहरू छन्। आफूलाई मुलुकको प्रधानमन्त्री बनाएको पार्टी नै त्यागेर नयाँ पार्टी घोषणा गर्न लाग्नुका पछाडि केही रहस्य र मनोक्रान्ति देखिन्छ। पटक–पटक माओवादीको अध्यक्ष बन्न खोज्दा पनि असफल भएपछि पार्टी त्यागेको कुरा नकार्ने कुनै आधार देखिँदैन। नेता भट्टराईले अहिले जुन कोणबाट नयाँ शक्ति घोषणा गर्दै छन् त्यो विल्कुल सही छ। त्यसलाई पनि कुनै हालतमा नकार्न सकिन्न। तर, यसका पछाडि केही अवपादहरू छन् जसलाई चिर्न उनीसँग ‘शक्ति’ छन् कि छैनन ? यो मुख्य कुरा हो।
नयाँ शक्तिको विधान र अवधारणाले मुलुकको काँचुली फेर्ने उद्देश्य लिएको छ। तर विडम्वना के हो भने नयाँ शक्तिको अवधारणा र अन्य दलहरूको अवधारणामा खासै भिन्नता देखिँदैन। विगतमा अन्य दलहरूको अवधारणा र प्रतिबद्धता जसरी कागजी पानामा सीमित बने, नयाँ शक्तिको प्रतिबद्धता पनि त्यस्तै बन्ने कुरामा शंका गर्नु जनताको अधिकार हो। जनताको यो अधिकार चिरेर व्यवहारमा कार्यान्वन गर्न सके मात्र जनताले नयाँ शक्तिको तागत देख्नेछन्। अन्यथा अहिले नै नयाँ शक्तिप्रति जनताको झुकाव बढ्ने लक्षण र आधार देखिँदैन।
तर, मुख्य कुरा के हो भने नयाँ शक्तिमा जति पनि अनुहार छन््, अधिकांश पुरानै धरातल र पृष्ठभूमिबाट समायोजित छन्। पुरानो रक्सीलाई नयाँ बोतलमा हाल्नुको कुनै अर्थ रहँदैन। तर, सत्य के पनि हो भने अजीव रक्सीलाई जीव मानवसँग तुलना गर्न पनि मिल्दैन। नेता भट्टराईकै शब्दमा भन्ने हो भने नयाँ शक्तिमा लाग्नेहरू जोतिन लागेका गोरु हुन्, जोत्न नसक्नेहरू थचक्क बस्छन्। यो सत्य कुरा हो तर यसलाई व्यवहारमा कतिको लागू गर्न सक्लान् वा सक्दैनन्, हली अर्थात् बाबुरामकै हातमा भर पर्छ।
नेपालको आवश्यकताः
नेपालमा एउटा यस्तो व्यक्ति⁄शक्तिको खाँचो छ जसले अहिलेका सबै नराम्रा अभ्यास र प्रवृत्तिविरुद्ध बौद्धिक क्रान्ति गरेर नयाँ मार्गचित्र गरोस्। पार्टी त्यागेर नयाँ पार्टी खोल्दैमा र नयाँ क्रान्तिको उद्घोष गर्दैमा जनताले पत्याइहाल्ने अवस्था छैन। जनताले नारा र भाषण होइन काम गरेर देखाएको हेर्न चाहन्छन्। त्यसैलै अरूको खण्डन र आलोचनाबाट होइन, आफ्नो मार्ग सफा गर्दै गन्तव्यमा पुग्न जरुरी छ। जनताका यावत चाहना भट्टराईको नयाँ शक्तिले पूर्ति गर्लान् वा नगर्लान्, त्यो भविष्यले देखाउने नै छ। तर भट्टराईले नयाँ शक्तिलाई आफ्नो प्रतिज्ञाअनुसार अघि लैजान सकेनन् भने उनको राजनीतिक यात्रा नै बडेमानको ढुंगामा ठेस लाग्ने प्रबल सम्भावना छ।

Post a Comment

 
Top