नेताप्रति विश्वास

देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले कांग्रेस र एमाले नेतृत्वप्रति सर्वसाधारणको विश्वास बढेको तथा एमाओवादी नेताप्रति घटेको देखाएको छ।
‘अहिले राष्ट्रिय राजनीतिमा सक्रिय दलका प्रमुख नेतामध्ये तपाईं सबैभन्दा बढी कसलाई विश्वास गर्नुहुन्छ?’ भन्ने प्रश्नमा १९.९ प्रतिशतले कांग्रेस सभापति सुशील कोइराला र १३.३ प्रतिशतले एमाले नेता माधवकुमार नेपाललाई विश्वास गरेको बताए।
भदौ अन्तिम साता गरिएको यस्तै सर्वेक्षणमा कोइरालालाई १५.२ र नेपाललाई ९.६ प्रतिशतले विश्वास गरेको बताएका थिए।
भदौ अन्तिमको सर्वेक्षणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई १०.१ प्रतिशत र उपाध्यक्ष बाबुराम भट्टराईलाई ११.८ प्रतिशत उत्तरदाताले विश्वास गरेकोमा अहिले विश्वास गर्ने क्रमशः ८.८ र ५.९ प्रतिशत मात्र भेटिए।
‘तपाईंको विचारमा संघीयतामा जान हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नमा ५१.६ प्रतिशतले ‘जान हुन्छ’ भन्ने उत्तर दिएका छन्।
३०.३ प्रतिशतले ‘जान हुँदैन’ भनेका छन् भने ‘थाहा छैन’ भन्ने १७.८ प्रतिशत भेटिए। संघीयतामा जान हुन्छ भन्नेमा मध्यपश्चिमाञ्चलका ६४ र पश्चिमाञ्चलका ६२ प्रतिशत छन्। संघीयतामा जान हुँदैन भन्नेमा सबैभन्दा धेरै सुदूरपश्चिमाञ्चलका ४० प्रतिशत भेटिए।
भदौमा ४९.४, असारमा ५६.२ र वैशाखमा ४८.४ प्रतिशतले संघीयतामा जान हुने बताएका थिए।
संघीयतामा जान हुन्छ भन्नेहरूलाई सोधिएको ‘तपाईंको विचारमा संघीय राज्य निर्माणका लागि कुन चाहिं आधार ठीक हुन्छ?’ भन्ने प्रश्नमा ५६.२ प्रतिशतले भूगोल (हिमाल, पहाड र तराई मिलाएर) का आधारमा संघीयता हुनुपर्ने उत्तर दिए।
भदौको सर्वेक्षणमा ४८.९ प्रतिशतले भूगोल (हिमाल, पहाड र तराई मिलाएर) का आधारमा र ८ प्रतिशतले जातीय आधारमा संघीयता हुनुपर्ने बताएका थिए।
सरकारी र सार्वजनिक निकायको सेवाप्रति शहरिया असन्तुष्ट भेटिए। उत्तरदाताले १० अंकमध्ये औसतमा स्थानीय निकायलाई ३.७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३.८२, सरकारलाई ३.९२, अदालतलाई ४.२३, प्रहरीलाई ४.३६, निर्वाचन आयोगलाई ५.७७ अंक दिए।
बहुसंख्यक शहरिया उत्तरदाताले वर्तमान अर्थतन्त्रलाई नराम्रो भएको बताए। ‘अहिलेको आर्थिक अवस्था कस्तो छ?’ भनेर सोधिएको प्रश्नमा ५१.३ प्रतिशतले नराम्रो, ३७.२ प्रतिशतले ठीकै तथा २.७ प्रतिशतले राम्रो भएको जवाफ दिए। ८.८ प्रतिशतले थाहा छैन भन्ने जवाफ दिए।
२२.३ प्रतिशतले अबको ६ महीनामा पनि अर्थतन्त्र राम्रो नहुने बताए भने ४३.६ प्रतिशतले ठीकै हुने उत्तर दिए। २५.३ प्रतिशतले थाहा छैन र ८.८ प्रतिशतले राम्रो हुने आशा राखे।
‘अहिले रोजगारीको अवस्था कस्तो छ?’ भनेर सोधिएको प्रश्नमा ७४.७ प्रतिशतले नराम्रो भएको बताए। १८.१ प्रतिशतले ठीकै र ५.३ प्रतिशतले थाहा नभएको उत्तर दिए।
४१.२ प्रतिशतले ६ महीनापछि पनि रोजगारीको अवस्था नराम्रै हुने अनुमान गरे। ३२.२ प्रतिशतले ठीकै हुने, २०.२ प्रतिशतले थाहा नभएको तथा ६.४ प्रतिशतले ६ महीनापछि रोजगारीको अवस्था राम्रो हुने आशा व्यक्त गरे।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.